लुम्बिनी प्रदेशमा जनस्वास्थ्य सरोकारका विषयमा छलफल, स्वास्थ्य संघले दियो सुझाव

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०८२, आईतवार

नेपालगन्जः नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेशको आयोजनामा जनस्वास्थ्य प्रशासक, स्वास्थ्य प्रशासक, फार्मेसी अधिकृत र तथ्यांक अधिकृतमा नियुक्ति तथा बढुवा भएकाहरुलाई नेपालगन्जमा बधाई ज्ञापन गर्दै प्रदेशभित्रका जनस्वास्थ्यसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरिएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशभित्रका स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरूको संगठन संरचना तथा हाल भइरहेको संगठन संरचना सर्वेक्षणमा रहनुपर्ने पद र कार्यालयका विषयमा विस्तृत छलफल गरिएको प्रदेश सचिव नरेश श्रेष्ठले जानकारी दिए ।

सहभागीहरूले लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुझावसहित प्रतिवेदन पेस गर्ने तयारी गरेको पनि श्रेष्ठले बताए ।

छलफलका क्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा रहेका जनशक्तिहरूको कार्य जिम्मेवारी स्पष्ट नहुँदा देखा परेका समस्याबारे स्वास्थ्य मन्त्री खेम सारु मगर र स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठको ध्यानाकर्षण गराइने श्रेष्ठको भनाइ छ ।

त्यस्तै, रुपन्देही, बाँके र दाङजस्ता मेडिकल कलेज र निजी अस्पतालहरू रहेका ठूला जिल्लाहरूमा ११औँ तहको दरबन्दी कायम गर्नुपर्ने र ती जिल्लाहरूका स्वास्थ्य कार्यालयमा कार्यरत जनस्वास्थ्य प्रशासक वा जनस्वास्थ्य अधिकृतलाई निजी मेडिकल कलेज तथा अस्पतालहरूको नियमन र अनुगमनका लागि फोकल पर्सन तोक्नुपर्ने सुझाव पनि संघले दिएको छ।

यस्तै, स्थानीय तहमा जनस्वास्थ्य अधिकृतहरूको पदपूर्तिका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालय र लुम्बिनी प्रदेशका ३२ नगरपालिका तथा ४ उपमहानगरपालिकासँग समन्वय र ऐक्यबद्धता गर्दै एडभोकेसी अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

कार्यक्रममा सहभागीहरूले लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रणालीलाई अझ व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउनका लागि जनस्वास्थ्य संघले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

संघका अध्यक्ष सरोज रिमाल अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.राजेन्द्र गिरी, मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरी र जनस्वास्थ्य प्रयोगशालाका निर्देशक राजेश गुप्ता लगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा लुम्विनी प्रदेशका अधिकांश स्वास्थ्य कार्यालयका प्रमुख तथा जनस्वास्थ्य विज्ञहरु सहभागी थिए ।

सम्मानित हुनेहरुमा नवौं तहमा बढुवा भएका स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण चौधरी, स्वास्थ्य कार्यालय गुल्मी प्रमुख पुष्पा थापा, स्वास्थ्य कार्यालय कपिलवस्तु प्रमुख गौरव ढकाल,स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबि गुरुङ, स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा अच्युत न्यौपाने, स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्याल, तथ्यांक अधिकृत मनबहादुर ओली र सातौं तहमा बढुवा भएका फार्मेसी अधिकृत पुस्प क्षेत्र रहेका छन् ।

  • २३ कार्तिक २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech