कार्यस्थलमा उचित सम्मान र सुरक्षाको अभावले नर्सहरू विदेश पलयान : वरिष्ठ नर्सिङ प्रशासक केसी

नर्सहरुले आफ्नो सीप र दक्षता अनुसार क्लिनिकल स्पेसलिटी, नर्स व्यवस्थापन वा शैक्षिक करियर जस्ता फरक–फरक ट्रयाक रोज्न सक्ने वातावरण निर्माण गर्नुपर्छ, जसले उनीहरूलाई दीर्घकालीन पेशागत स्थायित्व र आत्मसन्तुष्टि दिलाउँछ ।


    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०८२, शनिबार

नेपालमा नर्सिङ सेवा स्वास्थ्य प्रणालीको मेरुदण्ड हो, तर अहिले चुनौतीपूर्ण अवस्थामा छ । सहरी क्षेत्रमा सेवा तुलनात्मक रूपमा व्यवस्थित भए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा नर्सको अभाव, न्यून तलब, असुरक्षित कार्य वातावरण र तालिम अवसरको कमीले सेवा गुणस्तर कमजोर बनाएको छ । यसले दक्ष नर्सहरूको वैदेशिक पलायन बढाएको छ । वैदेशिक पलायन रोक्न तलब सुधार, पेशागत सम्मान, स्पष्ट पदोन्नति मार्ग, सुरक्षित कार्य वातावरण र प्रोत्साहन कार्यक्रम आवश्यक छन् । नर्सिङ पेशाको अवस्था, सम्भावना र चुनौतीबारे लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक इश्वरी केसीसँग प्रियास्मृति ढकालले गरेको कुराकानीको सम्पादित अंश:

हाल नर्सिङ सेवाको अवस्था कस्तो छ ?
हाल नर्सिङ सेवाको अवस्था मिश्रित तर चुनौतीपूर्ण देखिन्छ । नर्सिङ सेवा स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा मानिन्छ, किनकि बिरामीलाई प्रत्यक्ष सेवा, स्याहार–सुसार र उपचार प्रक्रियामा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । नेपालमा स्वास्थ्य बीमा कार्यक्रम, आधारभूत स्वास्थ्य सेवा, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पताल सेवाको पहुँच विस्तार हुँदै गएको भए पनि नर्सिङ क्षेत्रमा पर्याप्त जनशक्ति, तलब–सुविधा, तालिम तथा पेशागत विकासको अवसर अझै पनि पर्याप्त छैनन् । सहरी क्षेत्रमा तुलनात्मक रूपमा नर्सिङ सेवा सहज र व्यवस्थित देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा नर्सहरूको अभावले गर्दा सेवा गुणस्तर कमजोर हुने गरेको छ । विशेषगरी स्थानीय स्वास्थ्य संस्था तथा सामुदायिक स्तरमा नर्सको संख्यात्मक कमी र आवश्यक उपकरणको अभावका कारण सेवा प्रभावकारी हुन सकिरहेको छैन । नर्सहरुले कठिन परिस्थितिमा दिनरात बिरामीको उपचार, स्याहार र मनोबल बढाउने कार्य गरिरहे पनि उनीहरूको पेशागत योगदानको उचित मूल्याङ्कन, सम्मान र प्रोत्साहन प्रणाली भने अझै पनि सन्तोषजनक छैन । यिनै चुनौतीहरूको समाधान भएमा मात्र नर्सिङ सेवाले स्वास्थ्य क्षेत्रमा अझ उच्च गुणस्तर र स्थायित्व कायम गर्न गरेको छ ।

नर्सहरुले आफ्नो सीप र दक्षता अनुसार क्लिनिकल स्पेसलिटी, नर्स व्यवस्थापन वा शैक्षिक करियर जस्ता फरक–फरक ट्रयाक रोज्न सक्ने वातावरण निर्माण गर्नुपर्छ, जसले उनीहरूलाई दीर्घकालीन पेशागत स्थायित्व र आत्मसन्तुष्टि दिलाउँछ ।

नर्सहरूको वैदेशिक पलायन बढ्दो छ, यसको मुख्य कारण के हो ?
नर्सहरुको वैदेशिक पलायन पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको विषय हो, जुन स्वास्थ्य प्रणालीका लागि चिन्ताको विषय बन्दै गएको छ । यसको प्रमुख कारणहरु push factor र pull fact दुवै हुन् । Push fact अर्थात् नर्सहरुलाई आफ्नै देश छोड्न बाध्य पार्ने कारणहरूमा कम तलब, असुरक्षित कार्य वातावरण, पदोन्नति र पेशागत विकासका अवसरको कमी, कार्यस्थलमा उचित सम्मान र सुरक्षाको अभाव, साथै दीर्घकालीन तनाव र बर्नआउट जस्ता समस्याहरु प्रमुख छन् । धेरै नर्सहरुले कठिन परिस्थितिमा सेवा गरे पनि उनीहरुको श्रमको उचित मूल्याङ्कन नभएको महसुस गर्छन् । यस्तै, विशेषज्ञता हासिल गर्ने अवसरको कमीले उनीहरूको भविष्यको पेशागत मार्गमा सीमितता ल्याउँछ ।

अर्कोतर्फ, pull fact अर्थात् विदेशले आकर्षित गर्ने कारणहरू पनि उतिकै प्रभावकारी छन् । विदेशमा तुलनात्मक रूपमा उच्च तलब, स्थिर रोजगारी, प्राविधिक सुविधा, बीमा, सामाजिक सुरक्षा र अन्य सेवासुविधा उपलब्ध हुन्छन् । साथै, त्यहाँ नर्सिङ पेशालाई उच्च सम्मान र कदर गरिन्छ, जसले पेशागत गर्व बढाउँछ । स्वतन्त्र रूपमा काम गर्ने अवसर र सीपलाई अझै निखार्ने वातावरण पनि विदेशमा सहजै पाइन्छ । यी सबै कारणले गर्दा नेपालका दक्ष नर्सहरु राम्रो भविष्य, सुरक्षित करियर र सम्मानजनक जीवनशैलीको खोजीमा विदेशिने प्रवृत्ति बढिरहेको छ । यदि नेपालमै तलब–सुविधा सुधार, पेशागत सम्मान, पदोन्नतिको सुनिश्चितता र सुरक्षित कार्य वातावरण निर्माण गर्न सकिएमा वैदेशिक पलायनको दर कम गर्न सकिनेछ र गुणस्तरीय स्वास्थ्य सेवामा टेवा पुर्‍याउन सकिनेछ ।

विदेश पलायन रोक्न के–कस्ता नीति वा प्रोत्साहन आवश्यक देख्नुहुन्छ ?
नर्सिङ सेवाको गुणस्तरीय सुधारका लागि तलब, पदोन्नति, कार्य वातावरण, प्रेरणादायी कार्यक्रम र कानूनी व्यवस्थामा ठोस परिवर्तन आवश्यक छ । सबैभन्दा पहिले, तलब र भत्तामा सुधार हुनु अपरिहार्य छ । निजी क्षेत्रसहित सबै स्वास्थ्य संस्थामा न्यूनतम तलब सुनिश्चित हुनुपर्छ, साथै ओभरटाइमको उचित मूल्याङ्कन र जोखिम भत्ता व्यवस्थित ढंगले उपलब्ध गराइनुपर्छ । यससँगै, पदोन्नति र व्यावसायिक करियर मार्ग पनि स्पष्ट र आकर्षक हुनुपर्ने आवश्यकता छ । नर्सहरुले आफ्नो सीप र दक्षता अनुसार क्लिनिकल स्पेसलिटी, नर्स व्यवस्थापन वा शैक्षिक करियर जस्ता फरक–फरक ट्रयाक रोज्न सक्ने वातावरण निर्माण गर्नुपर्छ, जसले उनीहरूलाई दीर्घकालीन पेशागत स्थायित्व र आत्मसन्तुष्टि दिलाउँछ । त्यस्तै, कार्य वातावरणमा सुधारका लागि पर्याप्त संख्यामा स्टाफ नियुक्ति गरी सिफ्ट अनुसार स्टाफ अनुपात मिलाउनुपर्नेछ, जसले कामको चाप कम गर्नेछ । साथै, कार्यस्थलमा सुरक्षा र व्यक्तिगत जीवनसँग सन्तुलन कायम हुने व्यवस्था गर्नुपर्छ । नर्सहरुको हौसला बढाउन प्रेरणादायी कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुन्छन् । यस अन्तर्गत छात्रवृत्ति, घर कर्जा, आवास सहयोग, साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा काम गर्ने नर्सहरूलाई विशेष प्रोत्साहन दिनुपर्नेछ ।

अस्पताल र स्वास्थ्य चौकीमा पर्याप्त औजार, औषधि र नर्सको अभाव हुँदा त्यहाँका नागरिक अझै प्राथमिक उपचारका लागि समेत सहर धाउन बाध्य छन् ।

विदेश गएका नर्सहरुको सीपलाई पुनः स्वदेशमै उपयोग गर्ने सम्भावना कस्तो देखिन्छ ?
विदेश गएका नर्सहरुको सीप र अनुभवलाई पुनः स्वदेशमै उपयोग गर्ने सम्भावना निकै ठूलो छ, तर त्यसका लागि व्यवस्थित तयारी र नीतिगत व्यवस्था अनिवार्य छ । विदेशमा काम गर्ने क्रममा नर्सहरुले आधुनिक प्रविधि, व्यवस्थापन शैली, बहुसांस्कृतिक कार्यशैली र उच्चस्तरीय उपचार पद्धतिहरू सिक्ने अवसर पाउँछन्, जसलाई नेपालमा ल्याएर उपयोग गर्न सक्ने हो भने स्वास्थ्य सेवाको गुणस्तर उल्लेखनीय रूपमा सुधार गर्न सकिन्छ । तर, त्यसका लागि केही महत्वपूर्ण चरणहरू पूरा गर्न आवश्यक छ । पहिलो, उनीहरूको योग्यता र अनुभवलाई प्रमाणिकरण गर्नुपर्ने हुन्छ, जसले उनीहरूको सीपलाई राष्ट्रिय स्तरमा मान्यता दिन्छ । दोस्रो, नेपाल फर्किएका नर्सहरुलाई देशको स्वास्थ्य प्रणालीसँग पुनः जोड्नका लागि रिटर्न ब्रिज कोर्सहरू आवश्यक छन्, जसले अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय आवश्यकता र कानूनी ढाँचासँग मिलाउने काम गर्छ । तेस्रो, रिइन्टेग्रेशन कार्यक्रमको व्यवस्था गरी उनीहरुलाई सरकारी तथा निजी अस्पताल, शैक्षिक संस्था वा सामुदायिक स्वास्थ्य केन्द्रमा सहज रूपमा समावेश गर्नुपर्छ । चौथो, स्थानीय आवश्यकतासँग मेल खाने गरी अपस्किलिङ तालिम प्रदान गरिनुपर्छ, जसले विदेशी अनुभवलाई नेपालको स्वास्थ्य चुनौतीहरूसँग जोड्ने पुलको काम गर्नेछ । यी पहलहरु प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा विदेशबाट फर्किएका नर्सहरूले आफ्नो सीप र अनुभव स्वदेशमै उपयोग गरी नेपालमा नर्सिङ सेवाको गुणस्तर, दक्षता र पहुँचलाई नयाँ स्तरमा पुर्‍याउन सक्ने सम्भावना अत्यन्त प्रबल छ ।

नर्सिङ क्षेत्रले अहिले सबैभन्दा ठूलो चुनौती के–के सामना गरिरहेको छ ?
नर्सिङ क्षेत्र अहिले अनेकौं चुनौतीहरुको सामना गरिरहेको छ । सबैभन्दा ठूलो चुनौती भनेको मानव श्रोतको अभाव र असमान वितरण हो । सहर तथा ठूला अस्पतालमा केही नर्सहरुको केन्द्रीकरण भए पनि ग्रामीण र दुर्गम क्षेत्रमा नर्सहरुको ठूलो कमी छ, जसका कारण त्यहाँका नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनै सक्दैनन् । दोस्रो, तलबको समस्या विशेषगरी निजी संस्थाहरुमा अझ गम्भीर छ, जहाँ नर्सहरुले न्यूनतम पारिश्रमिक पाएर उच्च कार्यभार बेहोर्नुपर्छ । यसले उनीहरूको जीवनस्तरमा मात्र नभई पेशागत सन्तुष्टि र दीर्घकालीन टिकाउपनामा पनि नकारात्मक असर पारेको छ । तेस्रो, नर्सहरूको व्यवसायिक विकास र तालिममा पर्याप्त अवसर नहुँदा उनीहरुले आफ्नो सीपलाई विशेषज्ञतामा रूपान्तरण गर्ने मौका गुमाइरहेका छन् । तालिम र उत्पादनको अनुपातमा स्पेसलिटी अवसरको कमीले योग्य नर्सहरुमा निराशा र पलायन प्रवृत्ति बढाएको छ । चौथो, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै न्यून छ, जसको मुख्य कारण आधारभूत पूर्वाधार र स्रोतको कमी हो । अस्पताल र स्वास्थ्य चौकीमा पर्याप्त औजार, औषधि र नर्सको अभाव हुँदा त्यहाँका नागरिक अझै प्राथमिक उपचारका लागि समेत सहर धाउन बाध्य छन् । पाँचौं, नर्सहरुको वैदेशिक पलायन र ब्रेन ड्रेन तीव्र रुपमा बढिरहेको छ, जसले नेपालको स्वास्थ्य प्रणालीलाई अझ कमजोर बनाइरहेको छ ।

ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा नर्सिङ सेवामा के–कस्तो अन्तर देखिन्छ ?
ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा नर्सिङ सेवामा स्पष्ट अन्तर देखिन्छ, जुन स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा प्रत्यक्ष प्रभाव पार्ने मुख्य कारक हो । स्रोत र कर्मचारी संख्याको दृष्टिले सहरी क्षेत्रमा तुलनात्मक रूपमा नर्सिङ कर्मचारी, विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र सहयोगी जनशक्ति पर्याप्त मात्रामा उपलब्ध हुन्छन् । यसले गर्दा नर्सहरुले आफ्नो निर्धारित कार्यक्षेत्रभित्र ध्यान केन्द्रित गर्न पाउँछन् र उपचार सेवाको गुणस्तर पनि राम्रो देखिन्छ । तर, ग्रामीण तथा दुर्गम क्षेत्रमा भने नर्सहरूको संख्या अत्यन्त न्यून हुन्छ । भौतिक संरचना र उपकरणको सन्दर्भमा पनि फरक स्पष्ट छ । सहरी अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक औजार, आपूर्ति र आधुनिक प्रविधि तुलनात्मक रुपमा राम्रो उपलब्ध भए पनि ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सामग्री, औषधि तथा उपकरणको पनि अभाव रहन्छ । यसले गर्दा त्यहाँका नर्सहरुले आफ्नो दक्षता प्रयोग गर्ने वातावरण नपाई कठिन परिस्थितिमा सेवा दिनुपर्ने हुन्छ । यसरी स्रोत, संरचना र जनशक्ति वितरणमा देखिएको असमानताका कारण ग्रामीण क्षेत्रमा नर्सिङ सेवाको गुणस्तर अझै पनि कमजोर छ भने सहरी क्षेत्रमा तुलनात्मक रूपमा व्यवस्थित र सुदृढ देखिन्छ ।

सबैभन्दा पहिले, नियमित CPD (Continuing Professional Development) कार्यक्रम र प्रमाणित सर्टिफिकेट कोर्सको आवश्यकता छ, जसले नर्सहरूलाई नयाँ प्रविधि, औषधि विज्ञान र उपचार पद्धतिहरूसँग निरन्तर अपडेट रहन मद्दत गर्छ ।

नर्सहरुको कार्य वातावरण र तलब–सुविधा कत्तिको सन्तोषजनक छ ?
नेपालमा कार्यरत धेरै नर्सहरु आफ्नो कार्य वातावरण र तलब–सुविधाप्रति सन्तुष्ट छैनन् । विशेष गरी निजी स्वास्थ्य संस्थाहरुमा तलब न्यून हुनु, अतिरिक्त समय काम गर्दा ओभरटाइम सुविधा नपाइनु, जोखिम भत्ता उपलब्ध नहुनु, साथै पर्याप्त जनशक्ति नहुँदा एउटै नर्सलाई धेरै जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्थाले उनीहरुलाई असन्तुष्ट बनाएको छ । यसले नर्सहरुको पेशागत सन्तुष्टि मात्र होइन, उनीहरुको मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको छ । अर्कोतर्फ, सरकारी क्षेत्रमा कति–कति सुविधा भएता पनि वितरण र कार्यान्वयनमा समस्या देखिन्छ । संस्थागत सुधार र पारदर्शितालाई जोड्न आवश्यक छ ।

नर्सिङ शिक्षा र तालिमलाई आधुनिक बनाउन के योजना बनाइएका छन् ?
General Nursing Program (Grade १२ पछि) सरकारले शिक्षा आयोगमार्फत लागू गर्न थालेको छ । जसले नेपालमा नर्सिङ शिक्षालाई नयाँ दिशामा अघि बढाउने लक्ष्य राखेको छ । यस कार्यक्रमले नर्सिङ शिक्षालाई राष्ट्रिय आवश्यकतासँग मात्र होइन, अन्तर्राष्ट्रिय मापदण्डसँग पनि अनुरूप बनाउन खोजेको छ । अन्तर्राष्ट्रिय साझेदारी र तालिम कार्यक्रमहरू पनि यस प्रक्रियामा जोडिएको छ । केही शैक्षिक संस्था तथा अस्पतालहरूले विदेशी संस्थासँग मिलेर विशेष तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यी साझेदारीहरुले आधुनिक प्रविधि, क्लिनिकल सीप, अनुसन्धान प्रवद्र्धन तथा व्यवस्थापन क्षमतामा सुधार ल्याउने लक्ष्य राख्छन् ।

नर्सहरुको पेशागत विकासका लागि कस्तो सहयोग आवश्यक छ ?
नर्सहरुको पेशागत विकासका लागि व्यवस्थित र दीर्घकालीन सहयोग आवश्यक छ, जसले उनीहरूको सीप, दक्षता र पेशागत सन्तुष्टि दुवैलाई सुदृढ बनाउँछ । सबैभन्दा पहिले, नियमित CPD (Continuing Professional Development) कार्यक्रम र प्रमाणित सर्टिफिकेट कोर्सको आवश्यकता छ, जसले नर्सहरूलाई नयाँ प्रविधि, औषधि विज्ञान र उपचार पद्धतिहरूसँग निरन्तर अपडेट रहन मद्दत गर्छ । त्यसपछि, स्पेसलाइजेसन पनि अत्यावश्यक छ, जस अन्तर्गत आइसीयू, आपतकालीन सेवा, क्यान्सर, प्रसूति, जस्ता क्षेत्रमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन र रोजगारीका अवसर उपलब्ध गराउनुपर्ने हुन्छ । यसरी विशेषज्ञता हासिल गर्न पाउने नर्सहरुले स्वास्थ्य प्रणालीमा गुणस्तरीय सेवा पुर्‍याउँछ । साथै, छात्रवृत्ति र अन्तर्राष्ट्रिय एक्सचेन्ज अवसरहरुले नर्सहरुलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव लिन, सीप आदानप्रदान गर्न र विश्वस्तरीय उपचार अभ्याससँग परिचित हुन ठूलो भूमिका खेल्छ । नर्सहरुको नेतृत्व क्षमता, तालिम र अनुसन्धान सीपको विकासमा जोड दिनुपर्छ ।

अस्पताल सञ्चालनको गुणस्तर र बिरामीको सुरक्षा मुख्य रूपमा नर्सिङ सेवामाथि निर्भर गर्दछ । यसलाई मात्र आर्थिक पारिश्रमिकले नाप्न सकिँदैन तर नीति, तालिम र स्रोत उपलब्ध गराएर मूल्याङ्कनलाई व्यवहारमा परिणत गर्नु आवश्यक छ ।

नर्सहरुको पेशागत विकासका लागि कस्तो सहयोग आवश्यक छ ?
अहिलेसम्म पर्याप्त छैन—औपचारिक मान्यता (जस्तै, प्रदर्शन आधारित इन्सेन्टिभ, राष्ट्रिय नर्सिङ अवार्ड, कानुनी सुरक्षा) थोरै मात्र छन् र धेरै स्थानमा कामको वास्तविक मूल्यांकन र पारिश्रमिक असन्तुलित छ । सम्मान र मान्यता बढाउन प्राविधिक तथा सामाजिक कदम आवश्यक छन् ।

नयाँ पुस्ताका विद्यार्थीलाई नर्सिङ पेशामा आकर्षित गर्न के–कस्ता कदम चाल्नुपर्ने हुन्छ ?
नर्सिङ पेशामा करियर विकास स्पष्ट र सुव्यवस्थित बाटो आवश्यक छ, जसले स्पेशलाइजेशन सेवाबाट नेतृत्वसम्मको मार्ग देखाउन सकोस् । यससँगै, नर्सहरुको कामप्रति आर्थिक प्रोत्साहन प्रदान गर्नुपर्नेछ । रोल मोडेलको प्रचार–प्रसार गर्न मिडिया क्याम्पेनहरु सञ्चालन गर्न सकिन्छ । विद्यालयस्तरमै नर्सिङ पेशासँग परिचय गराइने कार्यक्रमहरु हुनुपर्छ । साथै, राष्ट्रिय स्तरमा नर्सहरुको योगदानको औपचारिक मूल्याङ्कन र पुरस्कार प्रणाली आवश्यक छ, जसले पेशागत पहिचान र सम्मान बढाउनेछ । काम गर्ने वातावरण सुधार्ने र पेशागत गरिमा उकास्ने क्रियाकलापहरूले नर्सिङ पेशालाई अझ प्रभावकारी र सम्मानजनक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।

स्वास्थ्य सेवामा नर्सहरुको योगदानलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
नर्सहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । बिरामीको हेरचाह, प्राथमिक स्वास्थ्य सेवा, समुदायमा आधारित कार्यक्रम, आपतकालीन प्रतिक्रिया र स्वास्थ्य शिक्षा जस्ता कार्यहरुमा नर्सहरुको योगदान अनिवार्य र अमूल्य छ । अस्पताल सञ्चालनको गुणस्तर र बिरामीको सुरक्षा मुख्य रूपमा नर्सिङ सेवामाथि निर्भर गर्दछ । यसलाई मात्र आर्थिक पारिश्रमिकले नाप्न सकिँदैन तर नीति, तालिम र स्रोत उपलब्ध गराएर मूल्याङ्कनलाई व्यवहारमा परिणत गर्नु आवश्यक छ ।

युवा नर्सहरुलाई तपाईंले के सन्देश दिन चाहनुहुन्छ ?
युवा नर्सहरूले गरेको कामले जीवन बचाउँछ र समाजलाई स्थिर बनाउँछ । आफ्नो सीपलाई निरन्तर सुधार गर्नुहोस्, आत्म–सुरक्षा र हकका लागि आवाज उठाउनुहोस् र देशभरि गुणस्तरीय स्वास्थ्य सेवाको भागिदार बन्ने प्रेरणाले अगाडि बढ्नुहोस् । अवसर खोज्नुहोस्, तर आफ्नो मूल्य र अधिकारका लागि पनि अडिग रहनुहोस् ।

(स्वास्थ्यपेज विशेषांकबाट)

  • २२ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech