नेपालगन्जः अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारहरु मुटु रोगको जोखिममा परेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय र भेरी अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरि आयोजना गरिएको निःशुल्क मुटु जाँच शिविरमा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा रिपोर्टमा मुटु रोगको जोखिम देखिएको हो ।

निःशुल्क मुटु जाँच शिविरमा स्वास्थ्यकर्मी
७७ जना पत्रकारहरुको चेकजाँच गर्दा ४५ प्रतिशतबढीलाई कोलेस्ट्रोलको समस्या देखिएको छ । भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख समेत रहेका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारीका अनुसार उच्च रक्तचाप र सुगरको समस्या पनि धेरैमा देखिएको छ । ‘अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुलाई असर गर्ने रोग धेरैमा देखिएको पाइयो डा.अधिकारीले भने–‘उहाँहरुलाई अनुशासित जीवनशैली अंगिकार गर्न सुझाव दिएका छौं ।’

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारी
वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.विकास नेपालका अनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धी समस्या हुने गर्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । त्यसैले यसको नियन्त्रणका लागि व्यक्ति सचेत हुनुपर्ने डा.नेपालको भनाइ छ ।
कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि व्यायाम गर्ने, धूमपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्न डा.अधिकारी सुझाउँछन् । डा. अधिकारीले फाइबरयुक्त खानेकुराका साथमा हरिया सागसब्जी, फलफुल तथा तरकारीको सेवन अधिक मात्रामा गर्न सुझाव दिएका छन् ।
मुटु रोग विभागमै कार्यरत फिजिसियन डा.विपिन आचार्यले पत्रकारहरुको स्वास्थ्य रिपोर्टमा मुटुमै समस्या भएको नपाइएपनि तर जोखिमको निम्त्याउने कारणहरु धेरैमा देखिएको भन्दै जीवनशैली फेर्न सुझाव दिएका छन् । उमेर, शरीर अनुसारको तौल सन्तुलनमा राख्नेदेखि नियमित व्याम गर्नेदेखि खानपिनमा सचेतता अपनाउन उनको सुझाव थियो ।

प्रेस स्वतन्त्रता सेनानी स्वः पन्नालाल गुप्ताको ९७ औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले गरेका थिए । त्यसक्रममा उनले पत्रकारहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्छ भन्ने सन्देश शिविरले दिएको बताए ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले हरेक नागरिकको मुटु बलियो हुनुपर्ने भन्दै पत्रकारहरुको मुटु झनै बलियो हुनुपर्ने धारणा राखे । उनले त्यसका लागि नियमित चेकजाँच गर्न र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मुटु स्वस्थ र मन स्वच्छ राखेर असल पत्रकारिता गरौं भन्ने सन्देश दिन शिविर महत्वपूर्ण भएको बताए । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि सचेतना फैलाउन शिविरले आम पत्रकारहरुको एक्यवद्धता छ भन्ने सन्देश दिएको बताए ।
यस्तै प्रतिष्ठानका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताका छोरा विजय गुप्ताले शिविरले आफ्ना पिताप्रति उच्च सम्मान गरेको भन्दै धन्यवाद दिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघका सचिव कृष्ण ओलीले गरेका थिए ।
फोटो फिचर























