जिल्ला अस्पताल बर्दिया फेरि पनि पहिलो, प्रदेशस्तरीय मूल्यांकनमा उत्कृष्ट प्रदर्शन

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०८२, शुक्रबार

नेपालगन्ज: लुम्बिनी प्रदेश सरकारको आव २०८१ /८२ को प्रदेशस्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया यस वर्ष पनि पहिलो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्यांकनमा बर्दिया अस्पतालले प्रदेशका जिल्लास्तरीय अस्पतालहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो ।

यस वर्षको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले अस्पतालका प्रमुख डा.सुवास पाण्डेलाई प्रथम स्थानको प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रथम स्थानको प्रमाणपत्र

अस्पतालका प्रमुख डा.सुवास पाण्डेले टिम वर्क र पारदर्शिताको कारणले बर्दिया अस्पतालले यो उत्कृष्टता हासिल गर्न सफल भएको बताउँदै निरन्तरको सफलताका लागि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेका छन् । डा.पाण्डेले अनेक समस्याका बाबजुद अस्पताल प्रदेशमा पहिलो भएकोमा खुसी समेत व्यक्त गरे ।

अस्पताल गत आर्थिक वर्षमा समेत प्रदेशभरका १३ अस्पतालहरुमध्य पहिलो भएको थियो । यस वर्ष ७०.२४ प्रतिशत अंकका साथ बर्दिया अस्पतालले प्रथम स्थान हासिल गर्दा ६९.७४ प्रतिशत अंकंका साथ अर्गाखाची अस्पताल दृतिय र ६८.७४ प्रतिशत अंकका साथ लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

मूल्यांकन १२ वटा प्रमुख सूचक (ranking indicators) का आधारमा गरिएको हो । ती सूचकहरूमा अस्पतालहरूको सेवा, पारदर्शिता, वित्तीय प्रगति र प्रतिवेदन प्रणालीमा आधारित कार्यक्षमता लगायत समावेश छन् ।

 

 

  • २१ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech