कर्णालीमा अनियन्त्रित बन्दै संक्रमण

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७७, सोमबार

सुर्खेत १९ जेष्ठ ।
कोरोना भाइरस संक्रमणको आशंकामा दैलेखको दुल्लुस्थित क्वारेन्टिनमा राखिएका व्यक्तिहरु सामाजिक दुरी कायम गर्नुपर्ने नियम तोड्दै सोमबार सामूहिक नाराबाजीमा उत्रिए। केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल मात्रै नभई कर्णाली प्रदेशका मन्त्रीहरुले पनि क्वारेन्टिन व्यवस्थित र सुरक्षित भएको घोषणा गरेको पृष्ठभूमिमा ती व्यक्तिहरुले आफ्नो खानपिन र बसाइ अस्वस्थ र असुरक्षित भएको भन्दै नाराबाजी गरे।

यो घटनासँगै कर्णालीका अन्य जिल्लामा सञ्चालित क्वारेन्टिनमा कष्टकर जीवन बिताइरहेकाहरुले पनि केन्द्र र प्रदेश सरकारप्रति खुलेरै असन्तुष्टि व्यक्त गर्ने सम्भावना बढेको छ।

आइतबार भारतबाट कष्ट मोल्दै जुम्ला सदरमुकामस्थित बसपार्क झरेका ४२ जना नागकिलाई क्वारेन्टिनमा राख्न स्थानीय सरकारका प्रतिनिधिले आनाकानी गरे। आफूहरुलाई उपेक्षा गरेको भन्दै उनीहरु सिधै घर हानिए।

रोग, भोग, अशिक्षा र अन्धविश्वासमा थिचिएको कर्णाली प्रदेशमा परीक्षण अभावले अन्य प्रदेशको तुलनामा सुरुमा निकै कम संक्रमितहरु देखा परे।

त्यसलाई हलुका रुपमा लिँदै प्रदेश सरकारका मन्त्रीहरुले कर्णालीलाई ‘ग्रिन जोन’ मा राख्ने मात्रै नभई कोरोना मुक्त घोषणा गर्नुपर्ने भन्दै हिँडे। भारतबाट आफ्ना नागरिक कष्टपूर्ण तरिकाले गाउँ भित्रँदै गरेको यथार्थलाई उनीहरुले उपेक्षा गरे। तयारीबारे ठोस गृहकार्य गरेनन्।

भारतबाट धमाधम नागरिक भित्रन थालेपछि परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या हरेक दिन उकालो लागेको छ। हाल आएर क्वारेन्टिन, किट, आइसोलेसन बेड अभावले संक्रमण नियन्त्रण बाहिर जान लागेको र त्यसमा केन्द्र सरकारले गम्भीतरता पूर्वक हस्तक्षप गर्नुपर्ने सुझाव त्यहाँ कोरोना नियन्त्रणमा खटिरहेका विज्ञहरुले दिएका छन्।

उनीहरुमा स्वास्थ्य पूर्वाधारहरुको कमजोर व्यवस्थापनले कतै विकासका लागि भौगोलिक विकटता मुख्य व्यवधान बन्दै आएको कर्णाली पनि संक्रमणको ‘इपी सेन्टर’ बन्ने त होइन भन्ने खतरा र चिन्ता बढेको छ।

सुर्खेतस्थित प्रदेश अस्पतालका एक वरिष्ठ चिकित्सक भन्छन्, ‘भएका क्वारेन्टिन भरिभराउ छन्, दैनिक तीनदेखि चार हजारसम्म मानिस भारतबाट भित्रिएका छन्। उनीहरुलाई नाकामा रोक्न सकिएको छैन। उनीहरुमध्ये कम्तिमा ४० प्रतिशतमा संक्रमण भएको आशंका छ। तर क्वारेन्टिनको अभावमा उनीहरुलाई घर पठाइएको छ। समुदायस्तरमा पनि संक्रमण फैलिसक्यो। संक्रमण हाम्रो नियन्त्रण भन्दा बाहिर जान थालिसक्यो। केन्द्र सरकारले हस्तक्षप नगरे यहाँ संक्रमणले भयावह रुप लिने निश्चित छ।’

जेठ ५ गते पहिलो संक्रमित पुष्टि भएको यो प्रदेशमा १५ दिनमा २६८ जना संक्रमित भेटिएका छन्। भारतबाट आएकाहरुलाई मात्रै संक्रमण देखा परेको भन्दै तयारी फितलो बनाएको कर्णाली प्रदेश सरकारका लागि जुम्लामा कार्यरत दुई जना प्रहरी र सुर्खेतका एक स्थानीयलाई संक्रमण देखिएसँगै चुनौती थपिएको छ।

स्थानीय स्तरमा फैलिसकेको संक्रमण कसरी रोक्ने भन्ने ठोस कार्ययोजना केन्द्र सरकार मात्रै नभई प्रदेश सरकारसँग पनि छैन। संक्रमणले दैलेखमा एक जनाको ज्यान लिइसकेको छ। र, यो जिल्लामा कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित भेटिएका छन्।

  • १९ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech