जिल्ला अस्पताल हुम्लामा पहिलो पटक सुरक्षित शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०८२, सोमबार

हुम्ला: कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून जनशक्तिका बीच पनि हुम्ला जिल्ला अस्पतालले पहिलो पटक सुरक्षित शल्यक्रिया (सिजेरियन सेक्शन) सफलतापूर्वक सम्पन्न गरेको छ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख एम.डी.जी.पी. डा. उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट–२ ठेहेकी २१ वर्षीया हिरा सुनारको पूर्वनिर्धारित शल्यक्रिया गरिएको हो। तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी सुनारले यसपटक हुम्लामै सुरक्षित रूपमा दोस्रो सन्तानलाई जन्म दिएकी हुन्।

अहिले आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। डा. तिवारीको नेतृत्वमा नर्सिङ स्टाफ कंचन चौधरी, शर्मिला गिरी, सरिता बोहोरा र पारामेडिक्स प्रेम भण्डारी सम्मिलित टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेको हो।

डा. तिवारीले अस्पतालको नेतृत्व सम्हालेपछि हुम्ला जिल्ला अस्पतालमा स्तरीय र व्यवस्थित सेवा प्रवाह भइरहेको स्थानीयवासीले बताएका छन्। सीमित स्रोतसाधनका बाबजुद पनि अस्पतालले पछिल्ला महिनाहरूमा जटिल प्रकृतिका शल्यक्रिया गरी अनेकौं बिरामीको ज्यान जोगाएको छ।

अस्पताल परिवारले उक्त सफलतालाई हुम्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक मनोबल, पेशागत समर्पण र दृढ संकल्पको प्रतिफल भनेको छ। अस्पताल परिवारले उक्त टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यो सफलता हुम्लाको सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक मनोबल र समर्पणको प्रतिफल भएको बताएको छ ।

  • १७ कार्तिक २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech