नेपालगन्जः नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न निर्णयमार्फत नर्सिङ, प्यारामेडिक्स, मेडिकल क्याडरका पदहरूको न्यूनतम शैक्षिक योग्यता घटाउने र तिनीहरूका सेवासुविधामा कटौती गर्ने तयारी गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
संघकी महासचिव डा. देविका कुमारी आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित कार्यदलले नर्सिङ सेवा सुविधासम्बन्धी प्रतिकूल निर्णय गरेको छ, जसका कारण स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा गिरावट आउँछ।”
संघले २०७९ सालदेखि सरकारसँग पटक–पटक छलफल र सहमति प्रयास गरे पनि कार्यान्वयन नभएको, उल्टै नयाँ निर्णयमार्फत नर्स, मिडवाइफ, प्यारामेडिक्स, मेडिकल क्याडरको सेवा प्रणाली कमजोर बनाउने कार्य भइरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “यदि सरकारको यस्तो निर्णय फिर्ता नलिएमा संघलाई बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्नेछ।” संघले आन्दोलनका क्रममा हुने कुनै पनि अवरोध वा समस्या प्रति सम्पूर्ण जिम्मेवारी सरकार र सम्बन्धित स्वास्थ्य संस्थामाथि पर्ने चेतावनी दिएको छ।
संघले सरकार र सम्बन्धित निकायलाई नर्सिङ पेशाको मर्यादा, पेशागत अधिकार र स्वास्थ्य सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गरेको छ।









