नेपालगन्जः राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ।
भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए।
उनले उद्योगीहरुको आन्दोलनमा एक्यबद्धता जनाउँदै बोलिरहेका थिए । उनले भनिरहेका थिए-‘यो आन्दोलनलाई सांकेतिक आन्दोलनका रुपमा लिन जरुरी छ । ३५ हजार श्रमिक गुम्दैछन् । ती श्रमिकलाई हामी गुमाउन चाहदैनौ ।’ अतः यो कारणले…भनेपछि उनी ढलेका थिए।
उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।
उनलाई ह्दयघात भएको अनुमान गरिएको छ ।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए।
गौतमका दुई छोरा र श्रीमती रहेका छन्।







