बयालपाटा अस्पतालमा निःशुल्क सेवा बन्द, गरीब बिरामी उपचारविनै फर्किन थाले

    • स्वास्थ्य पेज

  • १० कार्तिक २०८२, सोमबार

अछाम: अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी ६५ वर्षीया बसन्ती शाही हड्डीसम्बन्धी उपचारका लागि बयालपाटा अस्पताल पुगिन्। तर, अस्पतालले कात्तिक १ गतेदेखि शुल्क लिएर सेवा सुरु गरेको र स्वास्थ्य बिमाबाट उपचार नहुने जानकारी पाएपछि उनी उपचार नगरी घर फर्किन बाध्य भइन्।

“स्वास्थ्य बिमाबाट उपचार हुन्छ भनेर आएका थियौं,” बसन्तीले भनिन्, “तर अस्पतालमा पुगेपछि शुल्क तिर्नु पर्छ भनेपछि फर्कनुपर्‍यो।” तीन वर्षअघि लडेर खुट्टाको हड्डी भाँचिएकी उनले यसअघिसम्म यही अस्पतालबाट नि:शुल्क उपचार पाउँदै आएकी थिइन्।

१७ वर्षदेखि न्याय हेल्थ नेपाल र अमेरिकास्थित Possible नामक संस्थाले संयुक्त रूपमा निःशुल्क सेवा दिँदै आएको बयालपाटा अस्पतालले अहिले ती सुविधा बन्द गरेको छ। भदौ १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार मातहत आएको यस अस्पतालले ‘बयालपाटा प्रादेशिक अस्पताल’ नामाकरण गर्दै सञ्चालन थालेसँगै निःशुल्क, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा इकाइका सेवा स्थगित भएका हुन्।

कमलबजार नगरपालिकाकी आमाबुवा गुमाएकी एक बालिकालाई आइतबार आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए। टुहुरा भएकी बालिकाका लागि सामाजिक सेवा इकाइमार्फत निःशुल्क वा सहुलियत सेवा पाउने अपेक्षा थियो। तर अस्पतालले भदौ १ गतेदेखि सो इकाइमार्फतको सेवा पनि बन्द गरेको जनाएको छ।

“वडाको सिफारिससहित सबै कागजात लिएर गएका थियौं,” ती बालिकाका आफन्तले भने, “तर सेवा बन्द भएको भन्दै फर्काइयो। पैसा खर्च गरेर उपचार गर्न सक्ने अवस्था छैन।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा इकाइले गरिब, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, विपद् प्रभावित र लोपोन्मुख समुदायलाई प्राथमिकता दिँदै स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको थियो। तर बयालपाटामा सेवा बन्द भएपछि लक्षित वर्गका बिरामीहरू उपचारविनै फर्किन बाध्य भएका छन्।

अस्पताल स्रोतका अनुसार, दैनिक रूपमा करिब ५० जना स्वास्थ्य बिमित बिरामी र ७–८ जना सामाजिक सुरक्षा इकाइमार्फत सेवा लिने बिरामी अहिले उपचारबाट वञ्चित छन्। अस्पताल प्रशासन प्रमुख यज्ञराज भट्टका अनुसार, अस्पताल सरकारी मातहत आएपछि नयाँ प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अस्थायी रूपमा सेवा रोकिएको हो।

“स्वास्थ्य बिमाबाट उपचार सेवा दिनका लागि सबै कागजात राष्ट्रिय स्वास्थ्य बिमा बोर्डमा पठाइसकेका छौं,” उनले भने, “निर्णय आएपछि सेवा सुचारु हुनेछ।” भट्टका अनुसार, अहिले अस्पतालले शुल्क लिएर मात्रै सेवा दिइरहेको छ। “पहिलेको निःशुल्क सेवा अहिले पूर्ण रूपमा बन्द छ,” उनले स्पष्ट पारे, “सामाजिक सुरक्षा इकाइ र स्वास्थ्य बिमाको सेवा नहुँदा धेरै बिरामी मर्कामा परेका छन्।”

अस्पताल न्याय हेल्थ नेपाल र Possible संस्थाको सहकार्यमा सञ्चालित रहँदा ग्रामीण क्षेत्रका बिरामीका लागि यो अस्पताल नमूना स्वास्थ्य सेवा केन्द्रका रूपमा परिचित थियो। गुणस्तरीय उपचार, निःशुल्क सुविधा र ग्रामीणमै विशेषज्ञ सेवा उपलब्ध गराउने बयालपाटा अस्पताललाई प्रदेश सरकारले भदौ १ गतेदेखि आफ्नो मातहत ल्याएको हो।

अस्पताल प्रशासनले सामाजिक सुरक्षा इकाइ पुनः स्थापना गर्ने तयारी भइरहेको जनाएको छ। “संस्थाबाट सञ्चालित अस्पताल सरकारी मातहत आएपछि धेरै प्राविधिक र प्रशासनिक काम गर्न बाँकी छ,” भट्टले भने, “छिट्टै इकाइ पुनः स्थापना भई सेवा सुरु हुनेछ।”

स्थानीयवासीका अनुसार, बयालपाटा अस्पताल सुदूरपश्चिमको गर्व बनेको थियो। निःशुल्क उपचारका कारण यसले गरीब, असहाय र दुर्गम क्षेत्रका बिरामीका लागि जीवनरक्षक भूमिका खेल्दै आएको थियो।

भुलुकीकी बसन्ती शाही भन्छिन्, “पहिले यहाँ पैसा नभए पनि उपचार हुन्थ्यो। अब शुल्क लाग्ने भएपछि हामीजस्ता गरीब कहाँ जानु?” त्यसैगरी, कमलबजारकी टुहुरा बालिकाको आफन्त भन्छन्, “सरकारले गरीबका लागि भनेर अस्पताल लियो, तर अहिले उपचार गर्नै सकिँदैन।”

प्रदेश सरकार मातहत सञ्चालनमा आएको बयालपाटा अस्पतालले अहिले संक्रमणकालीन अवस्था भोगिरहेको बताइएको छ। अस्पताल प्रशासनले छिट्टै स्वास्थ्य बिमा र सामाजिक सुरक्षा सेवा पुनः सुरु हुने विश्वास व्यक्त गरेको छ।

तर त्यतिबेला सम्म असहाय, अपांगता भएका, वृद्ध र टुहुरा बालबालिकाजस्ता लक्षित वर्गका बिरामीहरू उपचारविनै फर्किन बाध्य छन्। अछाम, बाजुरा, डोटी र बैतडीसम्मका बिरामीहरूले बयालपाटाबाट नि:शुल्क सेवा पाउने आशा बोकेर आउने क्रम जारी छ। तर अस्पतालको ढोकाबाट निराश भएर फर्किनेहरूको संख्या पनि दैनिक बढ्दै गएको छ।

  • १० कार्तिक २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech