कस्ता व्यक्तिमा देखिन्छ हृदयाघातको जोखिम ?

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०८२, आईतवार

अकस्मात् मुटुको नलीमा आउने रक्तसञ्चारको अवरोधले हृदयाघात निम्तिन्छ । हृदयाघात हुँदा मुटुलाई रगत सप्लाई गर्ने नसा साँघुरो हुँदै जाने, जमेको बोसो फुटेर नसा बन्द गराउने, एक्कासि नसाहरू खुम्चिने हुन सक्छ । शरीरमा कुनै पनि ठाउँमा जमेको रगतको डल्ला, क्याल्सियम उछिट्टिएर मुटुको नसा ब्लक गर्न सक्छ । मुटुको ठुलो नसा ब्लक भयो भने ठुलै हृदयाघात हुन्छ ।

कतिपय अवस्थामा मानिसको तत्कालै मृत्यु हुन्छ, औषधि–उपचार गर्नसमेत भ्याइँदैन । सानो नसा ब्लक भयो भने मुटुको सानो एरियामा मात्र रक्तसञ्चार अवरुद्ध हुन्छ । यसलाई सानो हृदयाघात भनिन्छ । कुन नसामा ब्लक भएको छ र कति क्षेत्र त्यसले कभर गर्छ भन्ने कुराले हृदयाघात कति भयावह छ भन्ने निर्धारण गर्छ । यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ । त्यस्तै, स–साना धमनीहरूमा अवरोध हुँदा कहिलेकाहीँ मानिसलाई हृदयाघात भएको थाहा नहुन पनि सक्छ ।

कारण 
हृदयाघात वंशाणुगत कारणले पनि हुन सक्छ । अर्को कारण उच्च रक्तचाप हो । लामो समयसम्म अनियन्त्रित रक्तचापको स्तरले मुटुमा रगतको आपूर्ति गर्ने धमनीहरूमा नोक्सानी पुर्‍याउन सक्छ । जसकारण मुटुसम्बन्धी समस्या देखिन्छ । खराब कोलेस्ट्रोलले पनि धमनीहरूमा नकारात्मक असर गर्छ । जसकारण नसाहरू खुम्चिन्छन् । ट्राइग्लिसराइड, एलडिएलले पनि हृदयरोग निम्त्याउने जोखिम रहन्छ । खराब खानपानले कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढाउने जोखिम रहन्छ । मोटोपनका कारण पनि हृदयाघात हुन्छ । मधुमेह, तनाव र अत्यधिक धूम्रपान सेवनले पनि मुटुरोगको जोखिम बढाउँछ ।

लक्षण 
– ठुलो हृदयाघात भएको छ भने छातीको बायाँ भागमा असह्य खालको पीडा हुने हुन्छ । सामान्य खालको हृदयाघात हुँदा छातीको बीचभागमा दुख्ने, श्वास फेर्न गाह्रो हुने हुन्छ ।
– पसिना आउने ।
– वाकवाकी लाग्ने ।
– रिँगटा लाग्ने, बेहोस भएर ढल्नेसम्मको अवस्था आउन सक्छ ।

कसरी थाहा पाउने ?
– असह्य पीडा भयो, बायाँपट्टि विशेषगरी छातीको बीचभागमा चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने भयो भने हृदयाघात भएको हुन सक्छ ।
– इसिजी गरेर हेर्ने । रगतको जाँच, कार्डियाक इन्जाइम गर्ने । इको कार्डियोग्राफी (मुटुको भिडियो एक्सरे)को जाँच गर्ने ।

कस्ता व्यक्तिमा देखिन्छ ?
– हृदयाघात जसलाई पनि हुन सक्छ । प्रायः ३५–४० वर्ष उमेरभन्दा माथिका मानिसलाई देखिन्छ ।
– वंशाणुगत कारणले पनि हृदयाघात हुन सक्छ ।
– उच्च रक्तचाप, सुगरका बिरामी, शरीरमा कोलेस्ट्रोलको मात्रा बढी भएकाहरू जोखिममा हुन्छन् ।
– धूम्रपान, मद्यपान गर्ने तथा नियमित शारीरिक व्यायाम नगर्ने व्यक्तिहरू जोखिममा हुन्छन् ।

बच्ने केही उपाय के खाने/के नखाने ? 
अस्वस्थ खानपान, अव्यवस्थित जीवनशैली, शारीरिक सक्रियताको कमी, प्रदूषण, व्यस्तता र प्रतिस्पर्धाका कारण निम्तिएको तनावलगायत विविध कुराहरूले मुटुरोगको जोखिम बढाउँछ । त्यसैले मुटुरोग नियन्त्रणका लागि स्वस्थकर जीवनशैली अवम्बलन गर्नुपर्छ । शारीरिक रूपमा सक्रिय रहनुपर्छ, सन्तुलित भोजन गर्नुपर्छ ।

हरियो सागपात, फलफूल बढी खाने गर्नुपर्छ । रातो मासु खानुहुँदैन । खसी, बोका, भेडा, च्यांग्रा, राँगालगायतको मासु रातो हुन्छ । शरीरको तौल नियन्त्रण गर्नका लागि शारीरिक गतिविधिमा संलग्न रहनुपर्छ । धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ । खानामा नुन, चिल्लो कम प्रयोग गर्नुपर्छ । कार्बोहाइड्रेटयुक्त खाना जस्तै– भात, आलु कम खानुपर्छ । पानी प्रशस्तै पिउनुपर्छ । प्रदूषणबाट बच्नका लागि सतर्कताका उपाय अवलम्बन गर्नुपर्छ । कुनै समस्या देखिएमा मुटुरोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ ।

  • ९ कार्तिक २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech