काठमाडौंः हाल पारिश्रमिक, सेवा सुविधा र व्यावसायिक सम्मानका मागसहित आन्दोलनमा उत्रिएका नर्सिङ पेशाकर्मीहरूको आन्दोलनप्रति नेपाल फार्मेसी संघले पूर्ण समर्थन र एक्यबद्धता जनाएको छ।
संघले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंग रहेको फार्मेसी क्षेत्र पनि यस्तै वा अझ गम्भीर समस्या र अन्यायपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै आफ्ना मागहरू तत्काल सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ।
संघका अनुसार देशभरका फार्मासिस्ट र फार्मेसी सहायकहरू अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्। सरकारले तोकेको शैक्षिक योग्यता, तहगत संरचना र अनुभवअनुसारको न्यूनतम तलब, भत्ता र सेवा सुविधा तत्काल लागू गर्नुपर्ने संघको जोडदार माग रहेको छ।
संघले उचित पारिश्रमिक सुनिश्चित भएमा पेशाकर्मीहरूको जीविकोपार्जनमा सहजता आउने, स्वास्थ्यकर्मीहरू उत्साहित हुने र बिरामीले अझ गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरेको छ।
नेपाल फार्मेसी संघले विज्ञप्तिमार्फत चार बुँदे माग सार्वजनिक गरेको छ । फार्मासिस्ट र फार्मेसी सहायकहरूलाई सरकारले तोकेको योग्यता र अनुभवअनुसारको पारिश्रमिक तुरुन्त लागू गर्नुपर्ने, फार्मासिस्टहरूले औषधि परामर्श, औषधि व्यवस्थापन र प्रयोगसम्बन्धी सल्लाह प्रदान गर्ने सेवालाई कानूनी मान्यता दिई त्यसका लागि उचित सेवा शुल्क तोकिनुपर्ने, फार्मासिस्ट र फार्मेसी सहायकहरूलाई स्वास्थ्य सेवा प्रदायकका रूपमा औपचारिक मान्यता दिनुका साथै निरन्तर व्यावसायिक विकास (Continuing Professional Development – CPD) कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा गुणस्तरीय औषधि सेवा प्रणाली लागू गर्नुपर्ने र औषधि ऐन, २०३५, अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ र सर्वोच्च अदालतका आदेशहरूको अक्षरसः पालनासहित औषधि क्षेत्रका विकृति र विसङ्गतिहरू अन्त्य गर्नुपर्ने।
संघले चेतावनी दिँदै भनेको छ, “ मागहरू समयमै सम्बोधन नगरिएमा नेपाल फार्मेसी संघ चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछ।” संघले नर्सिङ पेशाकर्मीहरूका जायज मागहरूलाई आफ्नो पेशाको मागसँग पनि जोड्दै स्वास्थ्य सेवा क्षेत्रको समग्र सुधारका लागि साझा अभियान आवश्यक रहेको उल्लेख गरेको छ।