स्वास्थ्यपेज डटकमको आज वार्षिकोत्सव, ‘स्वस्थ पत्रकारिताका लागि दृढ छौं’

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८२, शनिबार

नेपालगन्जः दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम गौरवपूर्ण रुपमा आफ्नो छैठौं वर्षमा प्रवेश गरेको अवसरमा आज वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । २०७७ साल असोज २२ गते स्वास्थ्यपेज डटकमले पश्चिम नेपालमा स्वास्थ्यलाई विट बनाएर आफ्नो यात्रा प्रारम्भ गरेको थियो । हरेक वर्ष असोज २२ मै वार्षिकोत्सव मनाउँदै आइएको भए पनि पछिल्लो विषम परिस्थितिका कारण केही दिन पछि धकलिन गयो । छैठौं वर्षमा प्रवेश गरेको अवसरमा आज विहान ९ बजे खजुरारोडस्थित होटेल पौवामा स्वास्थ्यपेज विशेषांक विमोचनसँगै अग्रज चिकित्सक सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

कोरोना कहरमा ‘स्वास्थ्य पत्रकारिता’ को अनुभूतिले जन्मिएको स्वास्थ्यपेज आफ्नो लक्ष्यमा निरन्तर अघि बढेको छ । बार्षिकोत्सको यस विशेष अवसरमा हामी सम्पूर्ण पाठक–दर्शक–स्रोता, विज्ञापनदाता तथा शुभेच्छुकहरूप्रति हृदयदेखि आभार प्रकट गर्दछौं । तपाईंहरुको विश्वास, निरन्तरको सहयोग र सद्भावले नै स्वास्थ्यपेजलाई यहाँसम्म ल्याएको छ । यहाँहरुको मागदर्शनले नै स्वास्थ्यपेजको पत्रकारिता जीवनलाई उर्जाबान बनाएको छ ।

पश्चिम नेपालमा स्वास्थ्य पत्रकारिताको अभ्यास सीमित रहँदा पनि, स्वास्थ्यपेजले व्यवसायिक पत्रकारिताको आधारमा स्वास्थ्यलाई केन्द्रमा राखेर सत्य, सन्तुलित र जिम्मेवार पत्रकारिता गर्दै आएको र यसमा दृढ छ । स्वास्थ्य पत्रकारिता आफैंमा जटिल र चुनौतीपूर्ण छ । यसमा पत्रकारले गहिरो अध्ययन गरी, कठिन विषयबस्तु पनि जनसाधारणले सजिलै बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्छ । यो सजिलो कार्य होइन, तर यही चुनौती नै हाम्रो प्रतिबद्धता बनेको छ ।

सञ्चारमाध्यम ‘आवाज विहीनहरुको आवाज’ बन्ने माध्यम हो । अझै पनि त्यो सपना पूर्णरुपमा साकार हुन सकेको छैन । तर, हामी अडिग छौं–स्वास्थ्यपेज डटकम तथ्यपरक, जिम्मेवार र निष्पक्ष आवाज प्रस्तुत गर्ने मार्गमा निरन्तर अग्रसर रहनेछ । किमार्थ दिग्भ्रमित हुने छुट हामीलाई छैन । समाजको अपेक्षा र हाम्रो अभियानलाई एकाकार गर्दै स्वास्थ्य क्षेत्रको प्रबद्र्धन, विकास र उन्नयनका निम्ति स्वास्थ्यपेज संवाहक बनेर उभिरहन्छ । बेथिति र विसंगतिका विरुद्ध सतिसाल भएर मिडिया कर्म गर्ने संकल्पबाट विचलित हुने छैनौं । नवीन, उन्नत र स्वस्थ समाज निर्माणका लागि आलोचनात्मक चेतका साथ अघि बढ्न दृढ संकल्पित छौं ।

  • १ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech