भक्तपुरमा स्तन क्यान्सर उपचारमा नयाँ प्रविधि

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८२, शनिबार

भक्तपुर : केही वर्षअघि सम्म भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको शल्यक्रियामा पुरै स्तन निकाल्ने अभ्यास रहँदै आएकोमा अहिले उपचार प्रविधिमा आएको सुधारसँगै अब आवश्यक भाग मात्र निकाल्ने गरिएको छ।

अस्पतालका अन्को–सर्जन डा. उत्सवमान श्रेष्ठ का अनुसार अहिले शल्यक्रियाका क्रममा फ्रोजन बायोप्सी सेवा सक्रिय भएपछि पुरै स्तन फाल्नु पर्ने अवस्था घटेको हो। उनले भने, “पहिला जस्तो पुरै स्तन काटेर फाल्दैनौँ, जति आवश्यक छ त्यति मात्र निकाल्ने हो।”

अस्पतालले स्तन क्यान्सरका बिरामीका लागि तीन वर्षअघि प्रयोगशालामा फ्रोजन बायोप्सी परीक्षण सुरु गरेको थियो। यस प्रविधिमा चिकित्सकले शल्यक्रिया गर्दै गर्दा नै क्यान्सर लागेको भागको मासु निकालेर तत्काल परीक्षणका लागि प्रयोगशालामा पठाउँछन्।

१५ देखि ४० मिनेटभित्र रिपोर्ट आउँछ र सोही रिपोर्टका आधारमा थप भागमा क्यान्सर फैलिएको छ वा छैन भन्ने कुरा थाहा पाइन्छ। यदि रिपोर्टले क्यान्सर अन्य भागमा समेत फैलिएको देखायो भने पुरै स्तन निकालिन्छ। तर, फैलिएको छैन भने आवश्यक भाग मात्र निकालिन्छ।

डा. श्रेष्ठका अनुसार, “यो प्रक्रियाले बिरामीलाई पटक–पटक शल्यक्रिया गर्नु नपर्ने र अनावश्यक स्तन फाल्नु नपर्ने सुविधा दिन्छ।”

नेपालमा यो सेवा एक दशक अघि सीमित अस्पतालहरूमा मात्र सीमित भए पनि पछिल्लो समय क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले यो प्रविधि अपनाउन थालेका छन्।

फ्रोजन बायोप्सी सेवा हाल भरतपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल क्यान्सर अस्पताल लगायत केही अस्पतालहरूमा उपलब्ध भएको छ।

डा. श्रेष्ठ भन्छन्, “यो रिपोर्ट अनुसार शल्यक्रिया गर्दा पुरै भाग फाल्नु नपरोस् भन्ने मुख्य उद्देश्य हो।”

स्तनको आवश्यक भाग मात्र निकाल्दा महिलालाई शारीरिक तथा मानसिक रूपमा दुवै लाभ हुने चिकित्सकहरूको अनुभव छ।
“महिलाको शरीरमा सन्तुलन कायम रहन्छ,” डा. श्रेष्ठले बताए, “पुरै स्तन काटेपछि काँधको सन्तुलन बिग्रिन्छ, हातको कुम बाङ्गिने, अपाङ्गता र हीनताबोध जस्ता समस्या देखिन्छ।”

यस प्रविधिले स्तनको सौन्दर्य जोगाउने, आत्मविश्वास कायम राख्ने र शल्यक्रियापछि हुने शारीरिक असन्तुलन घटाउने भएकाले बिरामीहरूका लागि यो ठूलो राहतका रूपमा देखिएको चिकित्सकहरूको भनाइ छ।

  • १ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech