बालबालिकामा स्थायी दाँतको सुरुवात र हेरचाह

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८२, शनिबार

हाम्रो देशमा बालबालिकाहरूका स्थायी दाँत आउने उमेर थाहा नहुँदा धेरैजसो बच्चा दाँतको समस्याबाट पीडित भइरहेका छन् । साधारणतया पहिलो स्थायी दाँत ६ वर्षदेखि उम्रन सुरु हुन्छ । सर्वप्रथम तल्लो अगाडिका स्थायी दाँतहरू उम्रन्छन् । त्यसपछि चारवटा बंगाराका (माथि दुई र तल दुई) स्थायी दाँत उम्रन्छन् । यी बंगाराका दाँतहरू कम उमेरमै उम्रने हुँदा धेरै अभिभावकले दुधे दाँत नै उम्रेको ठान्छन् ।

र पछि झरिहाल्ने दाँत भनेर उचित हेरचाह गर्दैनन् । त्यसकारण धेरैजसो यी बंगाराहरू छिट्टै कीराले खाने र कतिपयको त उपचार नै गर्न नमिल्ने अवस्थामा पनि पुग्छन् । यस्तो समस्या लिएर धेरै उपचारका लागि आउँछन् । यी सबै समस्याको समाधानका लागि सानै उमेरदेखि डेन्टल भिजिट जरुरी हुन्छ । समयमा उचित उपचार भएमा भविष्यमा आउने ठूलो समस्याबाट बच्न सकिन्छ ।

यी चारवटा बंगाराले खाना चपाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । राम्ररी चपाएर खाएमा पाचन क्रियामा समस्या आउँदैन र शरीर स्वस्थ रहन्छ । त्यसैले तपाईंका बालबालिकाहरूका यी दाँत स्वस्थ छन् कि छैनन् हेर्न जरुरी छ । साधारण कीराले खाएको छ भने तत्कालै डेन्टल क्लिनिक वा अस्पतालमा गएर भराउनु (फिलिङ) पर्छ । एकपटक राम्ररी फिलिङ गरेको दाँतमा फेरि समस्या देखिँदैन । दुखेको अवस्था छ भने पनि सकेसम्म जरादेखिभर्दा राम्रो हुन्छ । जरादेखि भरेर कृत्रिम खोल हालेमा बलियो हुन्छ र भविष्यमा यसमा समस्या आउँदैन ।

हामीले सानै उमेरदेखि स्वस्थ खाना खुवाउने, दूध र दूधजन्य पदार्थहरू बढी खुवाउने गर्दा स्थायी दाँतहरू बलिया हुन्छन् र छिटो कीराले पनि खाँदैनन् । दिनहुँ खाना खाएपछि कुल्ला गर्ने, खाना अड्किएको खण्डमा डेन्टल फ्लस गर्न लगाउने र सही तरिकाले २,३ मिनेट दिनहुँ दुईपटक फ्लोराइडयुक्त दन्त मञ्जनले ब्रस गर्ने बानी बसाल्नुपर्छ । यसले दाँत कीराले खाई दुख्ने समस्याबाट सधैका लागि मुक्त हुन सकिन्छ ।

  • १ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech