नेपालगन्जः कहिल्यै रेडियोको हेडफोन र माइक्रोफोनबीच व्यस्त देखिने, स्टेजमा उभिँदा दर्शकलाई मन्त्रमुग्ध पार्ने आवाज अहिले शान्त छ–त्यो आवाज हो, वरिष्ठ रेडियोकर्मी तथा राष्ट्रिय लोकगायक कमल बिके निर्मोहीको । तीन दशकभन्दा बढी समय नेपाली लोकसंगीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै जीवनसँग जुधिरहेका छन् । दुवै मिर्गौला फेल भएपछि उनी लामो समयदेखि नेपालगन्जस्थित आफ्नै घरको ओछ्यानमा सीमित छन् ।
कुनैबेला रेडियो कार्यक्रम संचालनका क्रममा जोशिलो आवाजमा सबैलाई मोहित पार्ने निर्मोही अहिले धेरैबेर बोल्दा बोली पनि लर्वराउँछ । स्वर अहिले पीडाले भरिएको छ । शरीर कमजोर भइसकेको छ । हिँडडुल गर्न सक्दैनन् । रेडियो नेपाल र नेपालगन्जस्थित रेडियो बागेश्वरीसहित अन्य एफएमहरुमा उनले वर्षौं काम गरे । उनको परिचय रेडियोकर्मी मात्रै होइन, एक बहुमुखी प्रतिभाका रुपमा स्थापित छ ।
उनले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गरे, श्रोताको मन छुने लोकगीत गाए र स्थानीय कलाकारहरुलाई पनि मञ्चमा ल्याउन सहयोग गरे । उनका गीतहरु पश्चिम नेपालको गाउँघरमा आज पनि बज्छन् । लोक संस्कृतिप्रतिको माया र प्रतिबद्धता नै उनको जीवनको परिचय हो । तर नियतिले उनलाई कठोर परीक्षा दिइरहेको छ । पहिले प्रेसर र सुगरले सताउन थाल्यो, पछि मिर्गौला फेल भएर उनी पूर्णरुपमा अस्वस्थ बने । अहिले उनी ६ महिनादेखि उपचाररत छन् । तर आर्थिक अभावले उपचार निरन्तरता दिन सकिरहेका छैनन् । ‘मलाई सबैको माया चाहियो, जीवनका यी अन्तिम क्षणहरुमा उपचारका लागि सहयोगको हात बढोस्’–उनी भावुक हुँदै भन्छन् ।
बोल्दा बोली लर्वराउँछ, तर प्रत्येक शब्दमा वेदना र अपेक्षाको गहिरो स्वर झल्किन्छ । उनी भन्छन्–‘जीवनभर म बोलिरहेँ, अब सबै मौन छन् ।’ उनको परिवारले सम्भव सबै प्रयास गर्यो, तर अब खर्च धान्न सक्ने स्थिति छैन । मिर्गौला उपचार महँगो हुँदो रहिछ उनी भन्छन् । डायलाइसिस निःशुल्क भएपनि औषधि लगायतको खर्च थाम्न गाह्रो भइरहेको छ । हप्तामा दुई पटक उनले डायलाइसिस गर्दै आएका छन् । त्यसैले उनले आफ्ना साथी, शुभेच्छुक र देशभरका कलाकार, श्रोता, र दाताहरुसँग सहयोगको आग्रह पनि गरेका छन् ।
‘कमल बिके निर्मोहीजस्ता सर्जकहरु नेपालको साँच्चिकै सम्पत्ति हुन् निर्मोहीलाई भेट्न उनकै निवासमा पुगेका नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले भने–‘तर दुःखको कुरा जब यस्ता प्रतिभा अस्वस्थ हुन्छन्, समाज उनीहरुलाई बिर्सन थाल्छ ।’ रेडियोकर्मका माध्यमबाट होस् वा कलाक्षेत्रबाट नै किन नहोस् सिंगो क्षेत्रलाई जीवन्त राख्ने निर्मोही आज गुमनाम जस्तै छन् । यहाँसम्मकी उनी अस्वस्थ भएको समेत धेरैलाई थाहा छैन ।
उनको योगदानको उच्च कदर गर्दै निर्मोहीलाई सम्झने वातावरण बनाउनेदेखि उपचारमा समेत सहयोग जुटाउने प्रयासमा आफुहरु लागि परेको अभियान्ता नमस्कार शाह बताउँछन् । एक समय हजारौंलाई मनोरञ्जन दिने यो स्वरलाई बचाउन समाजले सानो हात अगाडि बढायो भने त्यो मानवता हुनेछ । दाङको तत्कालीन फुलवारी गाउँपालिकामा जन्मिएका निर्मोही हाल नेपालगन्जमा बस्दै आएका छन् ।