बालबालिकाको जीवनमा उज्यालो ल्याउँदै अपांग बाल अस्पताल तथा पुन: स्थापना केन्द्र

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०८२, मंगलवार

कोहलपुरः अपांगता भएका बालबालिकालाई नयाँ जीवन दिदै आएको अपांग बाल अस्पताल तथा पुन: स्थापना केन्द्रले कोहलपुरमा सामाजिक लेखा परिक्षण गरेको छ । अपांगता कुनै दुर्भाग्य होइन, उपचार र अवसर पाएपछि जीवनको नयाँ अध्याय लेख्न सकिने उदाहरण बनेको केन्द्रले अपांगता भएका बालबालिकाको जीवनमा नयाँ प्रकाश जगाउँदै कोहलपुरमा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सेवाग्राहीलाई एकसाथ राखी, केन्द्रले आफ्नो वार्षिक काम, उपलब्धि र सेवाको समीक्षा प्रस्तुत गर्‍यो। कार्यक्रममा बोल्दै केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज लेखनाथ आचार्यले भने, “केन्द्रले अपांगता भएका बालबालिकाहरुको सहज जीवनयापन गराउने काम गर्दै आएको छ। हाम्रो प्रयास उनीहरुलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि सशक्त बनाउने हो।” कोहलपुर नगरपालिका–१५ अकलघरुवामा रहेको यो अस्पतालले महिनामा सरदर ११० जना बालबालिकालाई उपचार र पुनःस्थापना सेवा प्रदान गर्दै आएको छ। शल्यक्रिया, फिजियोथेरापी र सहायक सामग्री उपलब्ध गराउने माध्यमबाट, अस्पतालले बालबालिकालाई ‘कष्टकर जीवन’ बाट मुक्त गराउँदै आएको इन्चार्ज आचार्य बताउँछन् ।

उनका अनुसार, “हामी अत्यन्तै न्यून शुल्कमा सेवा दिइरहेका छौं। पैसा नहुने बालबालिकालाई त गाडीभाडासमेत दिएर घरसम्म पुर्‍याउने गर्छौं।” अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रकाश यादवका अनुसार, यो केन्द्रले हजारौं बालबालिकालाई नयाँ जीवन दिएको छ। उनले भने, “हामी उपचार मात्रै गर्दैनौं-पहिचानदेखि पुनःस्थापन र सामाजिक एकीकरणसम्म सघाउँछौं। गाउँगाउँमा शिविर राखेर अपांगता भएका बालबालिकाको पहिचान गर्छौं र वर्षमा २० देखि २५ हजार बालबालिकालाई सेवा दिन्छौं।” मुख्य केन्द्र बनेपा काठमाडौंमा भए पनि, प्रदेशस्तरीय अस्पतालहरु कोसी र लुम्बिनीमा सञ्चालनमा छन् । यी दुबै अस्पतालहरुले पनि बनेपाकै हाराहारीमा सेवा दिइरहेका छन्। यादवका अनुसार, जटिल खालका शल्यक्रियाबाहेक अन्य सबै उपचार अब प्रदेशस्तरीय केन्द्रमै सम्भव भएको छ।

सामाजिक लेखा परीक्षण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले अपांग बाल अस्पतालको कामप्रति सन्तोष व्यक्त गरे। “पहिले हिँड्न नसक्ने बालबालिकालाई आज हिँड्न, खेल्न र पढ्न सक्ने अवस्थामा पुर्‍याएको देख्दा हर्ष लागेको छ। अस्पतालको समर्पित टोलीले हजारौं जीवनमा उज्यालो ल्याएको छ,” उनले भने।

त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले केन्द्रको योगदानको प्रशंसा गरे। “यो केन्द्रले अपांगता भएका बालबालिकालाई मात्र उपचार गरेको छैन, उनीहरुलाई आत्मविश्वास र समाजमा आफ्नो पहिचान पुनःस्थापना गर्ने बल पनि दिएको छ,” उनले भावुक हुँदै भने। उनले यो अस्पतालको बारेमा आमनागरिकलाई जानकारी गराउन आवश्यक रहेको भन्दै त्यसका निमित्त सबै पालिकाले आफ्नो कार्यपालिका बैठकमै बिषय प्रवेश गराएर ग्रामीण क्षेत्रमा सचेतता फैलाउनु पर्ने बताए ।

यस्तै राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा थारुले अपांगता भएका बालबालिकाको उपचारका लागि केन्द्रसंग समन्वय गर्दै आएको बताइन् । उनले आफ्नो पालिकामा रहेका कुनैपनि अपांगता भएका बालबालिकाले कष्टकर जीवन ज्यूँन नपरोस् भन्ने सवालमा अत्यन्तै संवेदनशील रहेको बताइन् । बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले केन्द्रसंग समन्वय गरेर अपांगता भएका बालबालिकालाई नयाँ जीवन दिने सवालमा आफू प्रतिबद्ध रहेको बताइन् ।

कन्सल्टेन्ट निर्मल भण्डारीले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख सीता कार्की, कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी, कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति थियो। अपांग बाल अस्पतालले विगतका वर्षहरुमा हजारौं बालबालिकाको जीवनमा परिवर्तन ल्याइसकेको छ।

  • २१ आश्विन २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech