नेपालगन्जः नेपालगन्जस्थित फेमिली डेण्टल केयर सेन्टरले यस वर्ष घटस्थापनाको अवसर पारेर नयाँ व्यवस्थापन अन्तर्गत सेवा प्रारम्भ गरेको छ । दन्त उपचार क्षेत्रमै अनुभव बटुलेका तीन जना विशेषज्ञ दन्त चिकित्सक अर्थोडेन्टिस्ट डा. विश्वनाथ चौधरी, अर्थोडेन्टिस्ट डा. रमेशराम भण्डारी र सर्जन डा.प्रतिष्ठा भट्टराईले यस सेन्टरबाट नियमित सेवा प्रदान गर्ने भएका छन् ।
नयाँ व्यवस्थापनले सुरु गरेको सेवाको उद्घाटन दिनमा यसक्षेत्रका अन्य डेन्टिस्ट तथा स्वास्थ्यकर्मीहरु पनि सहभागी भएका थिए । संचालक समेत रहेका डा. चौधरीले भने-‘हामीले ल्याएका आधुनिक उपकरण र विशेषज्ञ टोलीमार्फत बिरामीलाई गुणस्तरीय र किफायती सेवा दिने उद्देश्य राखेका छौं । विशेषगरी ब्रेसेस उपचारमा हाम्रो टोलीलाई विशेष दक्षता छ ।’
फेमिली डेण्टल केयर सेन्टरले केवल सामान्य उपचारमा सीमित नभई, आधुनिक प्रविधियुक्त सेवा दिन सुरु गरेको छ । यहाँबाट म्यानोफेसियल सर्जरी, रुट क्यानल ट्रीटमेन्ट (आरसिटी), दाँत निकाल्ने, कृत्रिम दाँत बनाउने, साथै दन्त स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध हुनेछन् । विशेषगरी किशोरकिशोरी र युवा पुस्तामा दाँतको बनावट मिलाउनुपर्ने आवश्यकताका कारण ब्रेसेस उपचार सेवा नै केन्द्रको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
यही क्षेत्रमा उपलब्ध हुने उपचार सेवाले बिरामीलाई समय, खर्च र कठिनाइबाट बचाउने मात्र होइन, उनीहरूको आत्मविश्वास र जीवनस्तर सुधार्न पनि सहयोग गर्ने विश्वास गरिएको छ । उपस्थित चिकित्सकहरूले पनि यस क्षेत्रमै विशेषज्ञ दन्त उपचार सेवा सञ्चालन हुनु उत्साहजनक कदम भएको बताएका छन् । उनीहरूको भनाइमा, यसले नेपालगन्जलाई दन्त उपचारको एक महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना बोकेको छ ।