नेपालगन्जः गोपाल-नीना फाउण्डेशनद्वारा बाँकेको डुडुवा गाउँ पालिका वडा नं २ नौरीगौढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । शिविरमा २ सय ९५ जना महिला र १ सय ५३ जना पुरुषहरु स्वास्थ्य परीक्षण, औंषधि र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् ।
उक्त शिविरमा फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा भाइरल ज्वरो, छाला सम्बन्धि, पाठेघर, स्री रोग, पेट, छाला रोग लगायतका विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएका थिए ।
फाउण्डेसनका कार्यालय प्रमुख तथा कार्यक्रम संयोजक दिलिप गिरिले दिएको जानकारी अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्तीपाल रमण, डा. रोमन किदवाई, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. डा. सलमान निजाम, डा. चन्दन सिंह, डा. सचिन शाह, यामिनी पन्त लगायतका विशेषज्ञ चिकित्सकहरुद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरका लागि नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जले आवश्यक औषधिहरु सहयोग गरेको थियो भने नेपालगन्ज शाखाका अध्यक्ष डा. दिगम्बर पाण्डे र सञ्जीवनी मेडिकल कलेज अफ मेडिकल साइन्सका निर्देशक डा. रोमन किदवाईले सहयोग गरेको कार्यक्रम संयोजक दिलिप गिरिले बताए ।
त्यसैगरि शिविरको लागि अन्नपूर्ण ग्यास्ट्रो केयर हस्पिटल, गणेशमान चोक ड्रग्स स्टोर, सेभेन क्याफे, एनएमएसआरए लगायतले सहकार्य गरेको थियो । फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठले स्वस्थ समाजको निर्माण गर्ने फाउण्डेशनको अभियान अन्तरगत स्वास्थ्य, शिक्षा, वातावरण, सामाजिक, नियमित रक्तदान कार्यक्रम जस्ता उत्तरदायित्वमा निरन्तरता दिइएको बताए ।