हरेक वर्ष, सेप्टेम्बर २१ का दिन “विश्व अल्जाइमर्स दिवस” मनाइन्छ। यो दिन केवल एउटा स्मरण मात्र होइन, बरु बढ्दो चुनौती र सामूहिक जिम्मेवारीलाई सम्झाउने अवसर पनि हो। यस वर्षको नाराः “डिमेन्सिया र अल्जाइमर्स बारे सोधौं (Ask About Dementia; Ask About Alzheimer’s)” रहेको छ।
यसले हामीलाई आफ्ना परिवार, समुदाय र समाजभित्र रोगको बारेमा खुलेर कुरा गर्ने, रोगलाई लुकाउने संस्कृतिबाट बाहिर निस्कने र समयमै उपचार तथा सहयोग खोज्ने मार्गतर्फ प्रेरित गर्दछ। डिमेन्सिया केवल रोग होइन, यो हाम्रो समयको सबैभन्दा ठूलो जन-स्वास्थ्य र सामाजिक चुनौतीहरूमध्ये एक हो जसले विश्वभर करोडौंलाई र नेपालमै हजारौं ज्येष्ठ नागरिकलाई प्रभावित गरिरहेको छ।
के हो अल्जाइमर्स ?
अल्जाइमर्स भनेको मस्तिष्कसम्बन्धी रोग हो । यो एउटा प्रकारको डिमेन्सिया (स्मृतिभ्रंश) हो जसमा व्यक्तिको स्मरणशक्ति, सोच्ने तरिका, व्यवहार, निर्णय क्षमता र दैनिक जीवन चलाउने क्षमता क्रमशः घट्दै जान्छ।
मुख्य विशेषताहरू:
सुरुवाती चरणमा हल्का स्मृतिभ्रंश (जस्तै हालसालैको कुरा बिर्सनु) देखिन्छ।
रोग बढ्दै जाँदा भाषा, समय–ठाउँ बुझ्ने क्षमता, ध्यान केन्द्रित गर्ने शक्ति र निर्णय क्षमता कमजोर हुँदै जान्छ।
अन्तिम चरणमा बिरामीले आफैं खाना खान, बस्न, उठ्न वा आफ्ना नजिकका मानिसलाई चिन्न पनि गाह्रो हुन्छ।
कारणहरू:
मस्तिष्कमा असामान्य प्रोटिन (Amyloid Plaques र Tau Tangles) जम्मा हुनु। उमेर ढल्किँदै जाँदा मस्तिष्कका कोषहरू नष्ट हुनु।
आनुवंशिक कारण, उच्च रक्तचाप, मधुमेह, जीवनशैलीसम्बन्धी कारकहरू।
लक्षणहरू:
कुरा दोहोर्याउने वा हालसालैका घटना बिर्सने।
परिचित स्थान वा बाटो बिर्सनु।
भाषा प्रयोगमा समस्या हुनु।
निर्णय क्षमतामा कमी आउनु।
स्वभाव र व्यवहारमा परिवर्तन।
अल्जाइमरलाई हालसम्म पूर्ण उपचार गर्ने औषधि छैन। तर, समयमै पत्ता लगाएर औषधि, मनोवैज्ञानिक सहयोग, नियमित अभ्यास र परिवारको साथले यसको प्रगति केही हदसम्म ढिलो बनाउन सकिन्छ।