नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीका नरेन्द्र श्रेष्ठ तीन दिनदेखि निदाउन सकेका छैनन् । आँखा रसाइरहेका छन्, छाती भारी बनेको छ । उनका परिवारका एक्ला छोरा, २३ वर्षीय सुलभराज श्रेष्ठ अब कहिल्यै फर्केर आउने छैनन् भन्ने सत्यले उनलाई छियाछिया बनाइरहेको छ । भर्खरै मात्र इन्जिनियरिङ सकेका, उज्ज्वल भविष्य बोकेका सुलभराज सोमबार काठमाडौंमा जेनजी आन्दोलनको प्रदर्शनमा सहभागी भए ।
आफ्नै उमेरका हजारौँ साथीहरूसँगै उनी पनि भ्रष्टाचारको विरोधमा नारा लगाउँदै सडकमा उत्रिएका थिए । तर, प्रहरीको गोली लागेर उनी ढले । अस्पताल पुग्दा उनको प्राण बचाउन सकिएन । ‘छोरालाई आन्दोलनमा नजान भनेको थिए । तर उसले जिद्दी गर्यो, ‘देशभरि युवाले नो मोर करप्सन भनिरहेका छन्, म पनि सहभागी हुन्छु’ भन्यो । मैले नाइ भन्न सकिन काठमाडौंमा छोराको शवको प्रतिक्षा गरिरहेका नरेन्द्रले स्वास्थ्य पेजलाई भने-‘तर यस्तो होला भनेर सोच्नै सकेको थिएन ।’
आइतवार साँझ सुलभसँग नरेन्द्रको अन्तिम पटक फोनमा कुरा भएको थियो । उनले भोलिपल्ट हुने आन्दोलनमा जाने कुरा बाबुलाई बताएका थिए । बाबुले नजान भनेर सम्झाए पनि । तर सुलभले मानेनन् । सोमबार दिउँसो काठमाडौंमा प्रदर्शन चर्कियो, प्रहरीले गोली चलायो, र त्यो गोली सुलभलाई लाग्यो । साथीहरूले तत्कालै ट्रमा सेन्टर लगे । तर सुलभ कहिल्यै नफर्किने गरी अस्ताइसकेका थिए । जब बाबु नरेन्द्र काठमाडौं उत्रिँदै थिए, त्यतिबेलै समाचार फैलिएको थियो–सुलभ अब यो संसारमा छैनन् ।
राति साढे आठ बजे नरेन्द्र ट्रमा सेन्टर पुगे । अस्पताल भयावह थियो–घाइतेहरूको चित्कार, आफन्तहरूको रुवाबासी, कोलाहलमय वातावरण । उनलाई प्रहरीले भित्र जान दिए पनि छोराको शव देख्न पाएको एकछिनमै बाहिर धपाइदियो । रातारात शव टिचिङ अस्पताल पुर्याएछ । तर त्यसबारे न त नरेन्द्रलाई जानकारी दिइयो, न त समन्वय । ‘अब छोराले फर्केर आउँदैन तर कम्तीमा शव त लिन दिनुपर्यो नि । शव हेर्नसमेत नदिएको यो पीडा झन् असह्य भयो’-नरेन्द्र भन्छन् ।
धम्वोजीकै अर्को परिवार, सुशिल थापाको घर पनि त्यहीँ रातदेखि उजाडिएको छ । उनका १९ वर्षीय छोरा आयुष थापाको पनि काठमाडौंमै आन्दोलनमा प्राण गयो । आयुष केही दिनमै फ्रान्स जाने तयारीमा थिए । भिसा प्रक्रियाको अन्तिम चरणमा पुगेका उनले उत्साहित हुँदै बाबुसँग योजना बाँडेका थिए । तर उनी पनि मुलुकमा व्याप्त कुशासनविरुद्ध सडकमा उत्रिएका युवामध्ये एक बने ।
‘देश बदल्नै पर्छ भन्ने भावना थियो उसमा । तर हामीलाई के थाहा–देश बदल्ने सपनै जीवनको अन्तिम सपना बन्ला भनेर ? बाबु सुशिल भन्छन्-‘घटना नहुनु थियो, भयो । अब कम्तीमा शव त लैजान पाउनुपर्छ ।’ नरेन्द्र र सुशिलको पीडा एउटै छ-सन्तान गुमाएको शोकभन्दा पनि शव हेर्न र घर ल्याउन नपाउने असह्य पीडा । प्रहरी प्रशासनले न परिवारसँग समन्वय गर्यो, न शव बुझाउन सहज बनायो ।
सुशिल भन्छन्-‘सन्तान गुमाइसके पनि, कम्तीमा अन्तिम पटक अनुहार हेर्न पाउनुपर्छ । आफ्नै माटोमा चिता जगाउन पाउनुपर्छ । त्यो अधिकार खोस्नु मानवीय संवेदनाविपरीत हो ।’ सन्तान गुमाएका यी दुई बाबुको प्रश्न अझै पनि हावामा तैरिरहेको छ–‘देश बदल्ने सपना बोकेका छोराहरूलाई किन गोली चलाइयो ? शव घर ल्याउन पनि किन दिइएको छैन ?’