राष्ट्र हितका लागि काम गर्न तयार छुः सुशीला कार्की

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०८२, बिहीबार

नेपालगन्जः नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताइन् ।

भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राखेकी हुन् । उनले भनेकी छन्, ‘जेन–जी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्‍यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु ।’

सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसमेत गरेकी कार्कीले भारतीयहरुसँग आत्मीय सम्बन्ध रहेको समेत बताएकी छन् । उनले भनेकी छन्, ‘भारतीय साथीहरूले मलाई दिदी–बहिनी जस्तै व्यवहार गर्छन् ।’

 न्यूज १८ अनलाइनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै उनले भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताएकी छन् ।

विद्यार्थी जीवन सम्झँदै उनले थपिन्, ‘मैले बीएचयूमा पढें । भारतमा मेरा धेरै साथीहरू छन् । म अझै पनि बीएचयूका शिक्षकहरू सम्झिन्छु । भारतसँगको सम्बन्ध धेरै राम्रो छ र यो सम्बन्ध वर्षौं पुरानो हो । भारतले नेपाललाई धेरै सहयोग गरेको छ । भारतीयहरूले सधैं नेपालको भलो नै चाहेका हुन्छन् ।’

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत सडकमा उत्रिएकी थिइन् ।

उनले न्यूज १८ सँगको एक प्रश्नमा उनले आफूले काम गर्ने सवालमा सामूहिकतामा विश्वास गर्ने बताएकी छन् । आफूले सर्वोच्च अदालतमा काम गर्ने बेलामा पनि सामूहिक रुपमा काम गरेको उनले स्मरण गरेकी छन् ।

  • २६ भाद्र २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech