काठमाडौँ: स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा, पाटन, कर्णाली, राप्ती, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पताल सेवालाई सहज, सर्वसुलभ र पारदर्शी बनाउने सम्झौताको मुख्य लक्ष्य रहेको बताए । अस्पतालहरूमा देखिने आम समस्या सुधारको अनुभूति कागजमा नभई सेवाग्राहीको व्यवहारमा देखिनुपर्ने उनले बताए ।
‘यो सम्झौता केवल केही बुँदाहरूको सूची मात्र होइन, स्वास्थ्य क्षेत्रमा विस्तार र सुशासनको आधारशीला हो । यसको पूर्ण कार्यान्वयनले स्वास्थ्य प्रणालीको संस्थागत विकास, जवाफदेहिता र पारदर्शी कार्ययोजना तथा तथ्यांकमा आधारित व्यवस्थित स्वास्थ्य प्रणालीको स्थापित हुनेछ,’ मन्त्री पौडेलले भने ।
यसैगरी स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. विकास देवकोटाले सम्झौता कार्यान्वयनका लागि मन्त्रालयले प्रतिष्ठानहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यो सम्झौता प्रतिष्ठानहरूको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गर्ने अवसर हो । मन्त्रालयले सम्झौताको कार्यान्वयनका लागि आवश्यक पर्ने नीतिगत सहजीकरण तथा अन्तरनिकाय समन्वयका लागि पूर्ण सहयोग गर्नेछ,’ उनले भने ।
यसैगरी मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्माले सम्झौताको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । ‘सम्झौतामा उल्लेखित लक्ष्य हासिल गर्न आवश्यक पर्ने जनशक्तिको उचित व्यवस्थापन, परिचालन र वृत्ति विकास तथा प्रशासनिक प्रक्रियालाई सहज र सहयोगी बनाइनेछ,’ उनले भने ।
सम्झौतामा हस्ताक्षर गर्दै सबै प्रतिष्ठानका उपकुलपतिहरूले निर्धारित लक्ष्य समयमै पूरा गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए ।
सम्झौतामा अस्पतालको सेवा प्रवाहलाई डिजिटाइज गर्ने, बिरामीमैत्री पूर्वाधार निर्माण गर्ने, औषधि आपूर्तिलाई सहज बनाउनेदेखि हरेक प्रतिष्ठानका लागि विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्नेसम्मका बुँदा समावेश छन् । मन्त्रालयले अब यस सम्झौताको कार्यान्वयनको निरन्तर अनुगमन गरी मूल्याङ्कन गर्ने जनाएको छ ।
सम्झौतामा उल्लेख प्रमुख प्रतिबद्धता
सम्झौतामा सबै ६ वटै प्रतिष्ठानले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने साझा कार्यहरू:
डिजिटल सेवा : अस्पतालमा भीड व्यवस्थापन गर्न डिजिटल टोकन र अनलाइन अपोइन्टमेन्ट प्रणाली पूर्ण रूपमा लागु गर्ने तथा ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१’ बमोजिम सबै मेडिकल रेकर्डलाई व्यवस्थित गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली कार्यान्वयन गर्ने ।
सेवाग्राहीमैत्री सेवा : अस्पताल प्रवेश गर्ने बित्तिकै सेवाग्राहीलाई सहजीकरण गर्न ’सेवाग्राही सहजकर्ता’ र ’सहयोग कक्ष’ स्थापना गर्ने ।
औषधिहरूको निरन्तर उपलब्धता : अस्पताल फार्मेसीलाई पूर्ण क्षमतामा सञ्चालन गरी स्वास्थ्य बिमा लगायत सबै आवश्यक औषधिहरूको निरन्तर उपलब्धता सुनिश्चित गर्ने ।
सुशासन र जवाफदेहिता : कार्यसम्पादन सूचक लागु गर्ने, गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने र अस्पतालजन्य फोहोरको राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्ने ।
प्रतिष्ठानहरूबीच मुख्य रणनीतिक सहकार्यः
एकअर्काको विशेषज्ञतालाई उपयोग गर्दै सेवा विस्तार गर्न प्रतिष्ठानहरूबीच आपसी सहकार्य गर्ने ।
जलन उपचारमा सहकार्य : वीर अस्पतालले कीर्तिपुर अस्पतालसँगको सहकार्यमा जलन उपचार वार्ड सञ्चालन गर्नेछ भने पोखरा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि जलन उपचार सेवालाई थप सुदृढ र विस्तार गर्ने ।
क्यान्सर उपचारमा साझेदारी : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरसँगको समन्वयमा गण्डकी प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने ।
हरेक प्रतिष्ठानका लागि विशेष कार्ययोजना:
प्रत्येक प्रतिष्ठानको विशिष्ट क्षमता र आवश्यकताअनुसार फरक–फरक लक्ष्यहरूः
आगामी आर्थिक वर्षदेखि शैक्षिक कार्यक्रम सुरु गर्ने, भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तार आयोजनाको डीपीआरलाई अन्तिम रूप दिने । काठमाडौं उपत्यकाका महानगरपालिकाहरूसँग समन्वय गरी कम्तीमा चारवटा ‘मेट्रो हेल्थ सेन्टर’ स्थापना गरी अस्पतालको स्याटलाइट सेवा केन्द्रको रूपमा विशेषज्ञ सेवाको पहुँच विस्तार गर्ने ।
पाटन प्रतिष्ठान : अस्पताललाई पूर्ण रूपमा ’पेपरलेस’ बनाउने, काठमाडौं उपत्यकाका महानगरपालिकाहरूसँग समन्वय गरी कम्तीमा चारवटा ‘मेट्रो हेल्थ सेन्टर’ स्थापना गरी अस्पतालको स्याटलाइट सेवा केन्द्रको रूपमा विशेषज्ञ सेवाको पहुँच विस्तार गर्ने ।
कर्णाली प्रतिष्ठान : कर्णाली क्षेत्रमा प्रचलित रोगहरूमा अनुसन्धान गर्ने र टेलिमेडिसिन जस्ता नवीन प्रविधिको सुरुवात गर्ने ।
राप्ती प्रतिष्ठान : सिकलसेल एनिमियाको वृहत स्क्रिनिङ गर्ने र न्युरो तथा कार्डियोलोजी सेवाका लागि ’क्याथल्याब’ सञ्चालन गर्ने ।
बीपी कोइराला प्रतिष्ठान : ४०० शय्याको मातृत्व तथा स्वास्थ्य सेवा केन्द्रको निर्माण सम्पन्न गरी सेवा सुरु गर्ने ।