भेरी अस्पतालमा अब निःशुल्क अल्टेप्लेज : बिरामीलाई प्यारालाइसिस हुनबाट जोगाउन सकिने

    • स्वास्थ्य पेज

  • २० भाद्र २०८२, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ । यो इन्जेक्सनले बिरामीलाई पक्षघात अर्थात प्यारालाइसिस हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टन्ट फिजिसियन समेत रहेका मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे बताउँछन् ।

उनले भने-‘पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिन सकिन्छ । जसबाट बिरामी पुरानै अवस्थामा फर्किने सम्भावना अधिक हुन्छ ।’

तर मस्तिष्कघातका लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामी अस्पताल पुगिसकेको हुनु पर्ने डा.पाण्डे बताउँछन् ।  डा.पाण्डे भने-‘पक्षघात भएपछि ढिलो नगरी तुरुन्तै अस्पताल ल्याउनु सबैभन्दा ठूलो उपचार हो। समयमै ल्याइएमा बिरामी पूर्ण निको हुने सम्भावना धेरै हुन्छ।’

बिरामीलाई तुरुन्त अस्पताल ल्याउनको लागि BEFAST नीति अपनाउन उनले  सुझाए दिए।

  • B – Balance: असन्तुलन, चक्कर, dizziness

  • E – Eyes: अचानक आँखाको ज्योति गुम्नु

  • F – Face: अनुहार बांगीनु

  • A – Arms: हातखुट्टा कमजोर हुनु

  • S – Speech: बोली लरबराउनु

  • T – Time: लक्षण देखिँदैछ भने तुरुन्त एम्बुलेन्स बोलाउनु

अर्थात माथि उल्लेखित लक्षण चिन्ह देखिए तत्काल अस्पताल पुगिहाल्नु पर्छ । तर अहिलेसम्म यस्ता लक्षण चिन्ह भएका बिरामीहरु करिव दुई प्रतिशतमात्रै अस्पताल पुग्ने गरेका छन् । बाँकी गाउँघरमै झारफुक र धामी झाक्री गर्ने, फिजियोथेरापी गर्ने लगायतका गलत अभ्यासमा अल्झिरहेका छन् । जसका कारण उनीहरुको जीवन अत्यन्तै कष्टकर बन्दै आएको छ ।

पुनःस्थापनाका लागि फिजियोथेरापी आवश्यक छ । डा. पाण्डेले भने-‘ पक्षघातका बिरामीलाई फिजियोथेरापी आवश्यक छ । तर यो पहिलो उपचारको विकल्प होइन् । पहिलो उपचारको विकल्प भनेकै अस्पताल हो । त्यसपछि मात्रै फिजियोथेरापी तिर जोड दिनुपर्छ ।’

उनका अनुसार मस्तिष्कघात दुई किसीमका हुन्छन् । एउटा नसामा रगत जमेर अर्को नसा फुटेर । अल्टेप्लेज इन्जेक्सन नसामा रगत जमेर मस्तिष्कघात भएका बिरामीको हकमा मात्रै प्रयोग गर्न मिल्छ । किनकि यसले जमेको रगत पातलो बताउने काम गर्छ । नेपालमा हुने करिव ८० प्रतिशत मस्तिष्कघात नसामा रगत जमेर हुने गरेको छ । अल्टेप्लेज इन्जेक्सन अत्यन्तै महंगो छ । एक भायल नै करिव ८० हजार रुपैयाँ माथि छ । तर भेरी अस्पतालमा भने निःशुल्क अल्टेप्लेज इन्जेक्सन पाइने डा.पाण्डे बताउँछन् ।

पहिलो चरणमा २० भायल अल्टेप्लेज आएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले बताए । भरतपुर, काठमाडौं लगायतका सरकारी अस्पतालमा अल्टेप्लेज इन्जेक्सन निःशुल्क पाइने गरेपनि भेरी अस्पतालमा भने उपलब्ध थिएन । तर प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदी, मेडिसिन विभाग प्रमुख डा.पाण्डे लगायतको पहलमा भेरीमा पनि अल्टेप्लेज इन्जेक्सन अव निःशुल्क पाइने भएको हो । अस्पतालको यो पहलले नेपालगन्जमात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य मन्त्रालयले हालैमात्र मस्तिष्कघातका बिरामीहरूको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी गरेको छ। यस कार्यविधिको मुख्य उद्देश्य मस्तिष्कघात भएका बिरामीलाई छिटो, गुणस्तरीय र समन्वित उपचार प्रदान गर्नु हो। यो कार्यविधिले उपचारसँगै सचेतनाको पाटोलाई समेत सुनिश्चित गरेको छ ।  मस्तिष्कघात भएका बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा छिटो पुर्‍याउनु पर्नेदेखि अत्यावश्यक औषधि र उपचारका सुविधाहरू निःशुल्क उपलब्ध गराउने सुनिश्चितता गरेको छ । त्यसैगरी मस्तिष्कघातको जोखिम, लक्षण र प्राथमिक उपचारबारे परिवार र समुदायमा सचेतना फैलाउनेकुरालाई जोड दिइएको छ ।

  • २० भाद्र २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech