लुम्विनीका कुन–कुन अस्पतालबाट कुन–कुन रोगको पाइन्छ विपन्न नागरिक औषधि उपचार सेवा ?

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०८२, मंगलवार

नेपालगन्जः सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) पारित गरेसँगै अब यो कार्यक्रम स्वास्थ्य बीमा प्रणाली मार्फत सञ्चालनमा आएको छ । यसअघि छुट्टाछुट्टै निकायमार्फत प्रदान हुँदै आएको विपन्न नागरिक उपचार सुविधा अब एकद्वार प्रणालीभित्र स्वास्थ्य बीमा बोर्डमार्फत सुरु भएको हो ।

यसले सेवाप्राप्ति सहज, पारदर्शी र दुरुपयोग रोक्ने अपेक्षा गरिएको छ । विपन्न नागरिक उपचार कार्यक्रमका लागि लुम्विनी प्रदेशमा २० वटा अस्पताल सूचिकृत भएका छन् ।

मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड ईन्ज्युरी र सिकलसेल एनिमियाका बिरामीले बीमामार्फत विपन्न नागरिक औषधि उपचार सेवा प्राप्त गर्नेछन् । भेरी अस्पतालले सिकलसेल एनिमिया, हेमोडायलाईसिस, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर्स, पार्किन्सन्स तथा सेरोपोजेटिभ डायलाईसिस सेवा प्रदान गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले जानकारी दिए ।

यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले हेमोडायलाईसिस, सेरोपोजेटिभ डायलाईसिस, हेड इन्वुरी र स्पाइनल इन्जुरी सेवा प्रदान गर्नेछ । यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले क्यान्सरको सेवा प्रदान गर्नेछ । यस्तै जिल्ला अस्पताल बर्दिया सिकलसेल एनिमिया र हेमोडायलाईसिस सेवा प्रदानका निमित्त सूचिकृत भएको छ । लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा सिकलसेल एनिमिया, हेमोडायलाईसिस, सेरोपोजेटिभ डायलाईसिस सेवा प्राप्त हुनेछ ।

यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा हेमोडायलाईसिस, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मुटु र हेमोडायलाईसिस, सिद्धार्थनगर सिटी हस्पिटलमा हेमोडायलाईसिस, क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा हेमोडायलाईसिस, मुटु रोग, हेड इन्जुरी र स्पाइनल इन्जुरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा हेमोडायलाईसिस सेवा पाउनेछन् ।

सिद्धबाबा हस्पिटल एण्ड रिर्सच सेन्टर बुटवलमा हेमोडायलाईसिस, आरसी थारु मेमोरियल नगर अस्पताल बर्दियामा सिकलसेल एनिमिया, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा लमही डायलाईसिस सेन्टरमा हेमोडायलाईसिस, गुल्मी अस्पताल तम्घास, रामपुर अस्पताल पाल्पा र पृथ्वी चन्द्र अस्पताल नवलपरासीमा हेमोडायलाईसिस सेवा प्राप्त गर्न सकिनेछ ।

  • १७ भाद्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech