लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिस (जेई) जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ । यो रोग लागेमा मस्तिष्कमा संक्रमण हुन्छ । ज्यानै लिन सक्ने यो एक प्रकारको गम्भीर रोग हो ।
क्युलेक्स जातका लामखुट्टेले जेई संक्रमित जनावर विशेष गरेर सुँगुर र हाँसलाई टोकेपछि मान्छेलाई टोकेमा भाइरस सर्न सक्छ । यो भाइरसबाट संक्रमित हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगरबँगुरजस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ ।
र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ । जेईको संक्रमणबाट यो वर्ष २० जनाको ज्यान गएको छ । गत वर्ष २५ जनाको मृत्यु भएको थियो ।
अहिले मुलुकभर एक सयभन्दा बढी इन्सेफ्लाइटिसका संक्रमितहरू पाइएका छन् । संक्रमित हुनेमा ३० प्रतिशत १५ वर्षमुनिका बालबालिकाहरू रहेका छन् ।
लक्षणहरू
– बेस्सरी टाउको दुख्ने ।
– उच्च ज्वरो आउने ।
– कम्पन हुने ।
– बेहोस हुने ।
– बान्ता हुने ।
– घाँटी अररो (कडा) हुने ।
– पक्षघात हुने ।
समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुने ।
कसरी जोगिने ?
लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । त्यसैले व्यक्तिगत रूपमा हरेकले लामखुट्टेको टोकाइबाट बच्ने
उपाय खोज्नुपर्छ ।
– हाँस, कुखुरा, सुँगर ( बँगुर, घोडाजस्ता घरपालुवा चराचुरुंगी तथा जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं ।
– घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाऔं ।
– घरको झ्याल, ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने गरौं ।
– लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं ।
– सधैं झुलभित्र मात्रै सुत्ने गरौं ।
यो रोगबाट बच्नको लागि १२ महिनाको उमेरमा जेई खोप लगाउनुपर्छ । यदि यो खोप लिन छुटेको छ भने पाँच वर्षको उमेरसम्म पनि जेई खोप लगाउन सकिन्छ । एक डोज खोप लगाएपछि जीवनभर रोगबाट बच्न सकिने भएकाले सरकारले सन् २०१५ देखि शिशु जन्मेको १२ महिनामा जेईविरुद्ध खोप नियमित रूपमा दिँदै आएको छ । बालबालिकालाई ठूलो हुञ्जेलसम्मै संक्रमणबाट बचाउन सो समयमा खोप लगाउन छुटाउनु हुँदैन । वयस्कले पनि जेईविरुद्ध खोप लगाउन मिल्छ । त्यसैले संक्रमण फैलिएका ठाउँका वयस्कले उपलब्ध भएसम्म खोप लगाउनु उचित हुन्छ ।