नेपालगन्जः प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीनै तहका सुरक्षाकर्मी परिचालन गर्ने बताएका छन्।
स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिए।
शुक्रबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग नियन्त्रणका लागि तीव्र ढंगले प्रयास भइरहेको भन्दै त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए।
‘स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीका नर्स, डक्टर र उपकरणको प्रयोग गर्ने आजै मात्र मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ,र यस रोगलाई सकेसम्म छिटो नियन्त्रण गर्न, बिरामी निको पार्न र बढ्न नपाओस् भनेर तीव्र ढंगले प्रयास भएको छ।’
उनले हैजा र झाडापखालाका औषधी सरकारले निस्शुल्क उपलब्ध गराइरहेको जानकारी गराए।
नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीहरूको निस्शुल्क उपचार भइरहेको उनले बताए। कोरोनाकालमा नेपाली सेनाले बनाएको अस्पताललाई प्रयोग गरेर उपचारको व्यवस्था मिलाउने प्रयास भएको प्रधानमन्त्री ओलीले बताए।
वीरगञ्जमा अहिलेसम्म हैजा र झाडापखाला संक्रमित हुनेको संख्या ६२४ पुगेको र त्यसमध्ये ४३७ जना निको भएर घर फर्किएको जानकारी उनले संसदमा गराए।
वीरगञ्जमा पछिल्लो २४ घण्टामा मात्रै ८४ वटा हैजा र झाडापखालाका नयाँ बिरामी थपिएका छन्। अहिलेसम्म वीरगञ्जमा हैजा र झाडापखाला लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ।