पाल्पा: पाल्पाको रैनादेवी छहराका एक बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको छ । रैनादेवी छहरा –१, की ११ वर्षकी बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले मृत्यु भएकी बालिकामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको बताए। रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि तानसेन ल्याउने क्रममा बालिकाको तीन दिनअघि बाटोमै मृत्यु भएको उनले बताए।
अत्यधिक ज्वरो आउने लगायतका लक्षण देखिएपछि आफन्तले ती बालिकालाई उपचारका लागि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ पुर्याउँदा बालिकाको अवस्था नाजुक भएपछि थप उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए।
दुई साताअघि पनि मृतक बालिकालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिएको थियो । त्यसपछि ज्वरो बसेको पारिवारिक स्रोतले जनाएको छ ।
तीन दिनअघि पुनः ज्वरो आउने, खोकी लाग्ने, जीउ गल्नेजस्ता गम्भीर समस्या देखिएपछि उनलाई रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा लगिएको थियो । पछिल्लो पटक स्वास्थ्य जाँच गर्दा बालिकामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले बताए।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । समयमै उपचार नगरे यसले गम्भीर रुप लिन सक्छ । स्क्रब टाइफसको सङ्क्रमण भएका मानिसमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी, वान्ता लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिन्छ ।
समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो, आदिको सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग समस्या सिर्जना सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । पछिल्लो केही दिनयता पाल्पाका चार अस्पतालमा स्क्रब टाइफसबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । यो वर्ष पाल्पामा २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी भट्टराईले बताए।