कोहलपुरः कोहलपुर नगरपालिकाले तीजको अवसरमा निःशुल्क स्वास्थ्य चेकजाँच गरेको छ । तीज मिलन कार्यक्रममा सहभागि हुन आएका महिलाहरुलाई लक्षित गरि शिविर गरिएको कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले जानकारी दिइन् ।
उनका अनुसार तीज खानपान बढी हुने र त्यसले स्वास्थ्यमा समेत जोखिम बढाउने भएकाले तीज मनाउन आएका महिलाहरुलाई लक्षित गरेर कार्यक्रम स्थलमै शिविर गरिएको उनले बताइन् ।
स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टिमले खासगरी सुगर, प्रेसर र ज्वरो चेकजाँच गरेको थियो ।
१९६ जनाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए । ती मध्ये सुगरको जाँच १३५ जनालाई गरिएको थियो । ८ जनामा सुगर देखिएको नगर अस्पताल प्रयोगशालाकर्मी दिपक शर्माले जानकारी दिए ।
नगर अस्पताल नर्सिङ नमुना पाण्डे, वडा नं.१ का आधारभूत स्वास्थ्य केन्द्रका कृष्णा खड्का लगायत स्वास्थ्यकर्मीहरुले महिला दिदीवहिनीहरुको स्वास्थ्य चेकजाँच गरेका थिए ।