नेपालगन्जः मस्तिष्कमा रक्तसञ्चार बन्द भएर वा अचानक मस्तिष्कका रगतको नसा फुटेर निम्तिने आपतकालीन अवस्थालाई मस्तिष्कघात भन्ने गरिन्छ । जब मस्तिष्काघात हुन्छ, तब हाम्रो शरीरका अंगहरु चल्दैन । बोलीचालीमा यसैलाई भनिन्छ प्यारालाइसिस । त्यसो त शरीरको कुनै एउटा अंगमा मात्र पनि प्यारालाइसिस हुन सक्छ । मस्तिष्कघातको संकेत पाउनासाथ यथाशीघ्र उपचार गरियो भने प्यारालाइसिस हुनबाट बच्न सकिन्छ भन्ने कुराको आमनागरिकलाई जानकारी छैन । पक्षघात अर्थात् प्यारालाइसिस भएर कैयौं मानिसहरुले आफ्नो जीवनलाई कष्टकर रुपमा विताइरहेका छन् । प्यारालाइसिस भएका मानिसहरु शरीरका कुनै भाग वा पूर्णरुपमा शरीर चलाउन सक्दैनन् ।
जसले गर्दा बस्न, उठ्न, हिंडडुल गर्न सजिलो हुँदैन । कष्टकर जीवनका साथ उनीहरुको मृत्यु हुने गरेको छ । नेपालमा मृत्यु हुने मध्ये प्यारालाइसिस तेस्रो कारणमा पर्छ । प्यारालाइसिस निको नहुने रोग बन्दै गइरहेको अवस्थामा अव नेपालमा यो रोगको पहिचान, उपचार र व्यवस्थापनका लागि राष्ट्रिय स्ट्रोक व्यवस्थापन कार्यविधि जारी भएको छ । केही साता अघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्ट्रोक व्यवस्थापन कार्यविधि जारी गर्दै प्यारालाइसिसबाट हुने मृत्यु घटाउने, अपांगता कम गर्ने र बिरामीलाई पुनः सामान्य जीवनमा फर्काउने लक्ष्य लिइएका छन् । प्रेसर, सुगर लगायत बिरामी बढेसँगै यसको जोखिम पनि बढ्दै गएको छ । मोटोपना भएका व्यक्तिमा यो रोग लाग्ने जोखिम हुन्छ । कोलेस्ट्रोरल, धूम्रपान सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने व्यक्ति, मुटुको समस्या भएका व्यक्तिमा यो रोगको जोखिम बढी हुन्छ । एक हिसावले फेरिँदो जीवनशैलीको प्रभाव स्ट्रोक भएर प्यारालाइसिस हुने क्रम बढ्दो छ ।
हिड्दा चक्कर लाग्ने, बोली लरवराउने, मुख बाङ्गीने, आँखाको ज्योति गुम्यो, शरीरका कुनै भाग चल्न छोड्न थाल्यो भने तत्काल अस्पताल जानुपर्छ । शरीरमा यस्ता लक्षण चिन्ह देखियो भने धामीझाक्री कहाँ जाने र फिजियो गर्ने तर्फ लाग्नै हुँदैन् । फिजियो गर्ने त्यतिबेला हो, जतिबेला चिकित्सकीय उपचारले पनि सम्भव भएन । नत्र भने तत्काल अस्पतालमा गइहाल्नु पर्छ । अहिले हाम्रो समाजमा प्यारालाइसिस भएका दुई प्रतिशत बिरामी पनि उपचारको पहुँचमा छैनन् । ८० प्रतिशत मस्तिष्कघात नसामा रगत जमेर हुन्छ भने २० प्रतिशत नसा फुटेर । नसामा रगत जमेका बिरामीले साढे चार घण्टाभित्र टेनेक्टेप्लेज अर्थात रगत पातलो गराउने औषधि पाउने हो भने पुनः सामान्य जीवनमा फर्किन सक्छन् । अहिले यही औषधि कान्ति आरोग्य अस्पतालले भित्र्याएको छ ।
प्यारालाइसिस सम्वन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ सम्मेलित कार्यक्रममा सहभागि भएका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख सहप्रध्यापक डा.राजन पाण्डेले रगत पातलो गर्ने औषधि दिएर प्यारालाइसिस निको गर्न सकिने बताए । डा.पाण्डेका अनुसार भेरी अस्पतालले पनि प्यारालाइसिसका बिरामीका लागि टेनेक्टेप्लेज औषधिको माग गरिसकेको छ ।

सह-प्रा.डा.राजन पाण्डे ।
‘यसको कार्यविधि नै स्वास्थ्य मन्त्रालयले केही दिन अघिमात्रै जारी गरेको छ कान्ति आरोग्य अस्पतालका सञ्चालक प्रा.डा. रोमा बोराले भनिन्–‘ प्यारालाइसिसबाट हुने मृत्यु घटाउने र अपांगता कम गर्ने सरकारको लक्ष्यमा हाम्रो पनि सहयोग छ भन्ने हो । बिरामी अपांगता भएर अरुकै साहारामा हिड्न नपरोस् । आफ्नो दैनिकी सहज बनावस भन्ने हो । हाम्रो अस्पताल यो सेवाका लागि तयार छ ।’
रगत पातलो गराउने यो औषधि यसअघि नेपालगन्ज मेडिकल कलेज बाहेक अन्य कुनैपनि अस्पतालमा थिएन् । अहिले यो औषधि कान्ति आरोग्य अस्पतालमै पाइन्छ ।

प्रा.डा.रोमा बोरा ।
प्यारालाइसिस भएर थुप्रै बिरामी घरमै कष्टकर जीवन ज्यूँन बाध्य भएका छन् । यसका प्रारम्भिक लक्षण चिन्ह देखिए तत्काल यसको उपचार सम्भव भएका अस्पतालमा पुर्याउनु पर्छ भन्ने चेतना समुदायस्तरमा पुग्ने भने धेरैलाई अपांगता हुनबाट जोगाउन सकिन्छ । यो औषधि प्रयोग गर्ने दुई प्रतिशत बिरामी पनि अस्पताल आउदैनन् । चिकित्सकलाई समेत पर्याप्त जानकारी छैन् । सबै ठाउँमा सुविधा पनि छैन । स्वास्थ्य मन्त्रालयले कार्यविधि समेत बनाएको थिएन ।
‘यस्ता थुप्रै समस्याका कारण प्यारालाइसिस भएका बिरामी घरमै बसेर कष्टकर जीवन ज्यूँन बाध्य भएका छन् डा.पाण्डे भन्छन्–‘यसका लक्षण चिन्ह देखिए तत्काल यो सुविधा भएका अस्पतालमा बिरामीलाई पुर्याउनु पर्छ भन्ने चेतना समुदायस्तरमा पुग्यो भने धेरैलाई अपांगता हुनबाट जोगाउन सकिन्छ ।’ डा.पाण्डेका अनससार यो औषधि विज्ञ चिकित्सकको सल्लाहअनुसार बिरामीलाई दिनुपर्ने हुन्छ ।