नेपालगन्जः स्वास्थ्य मन्त्रालय लुम्बिनीले विभिन्न अस्पताल र स्वास्थ्य संस्थाबाट करिब ५० लाख रूपैयाँ बेरुजु असुली गरेको छ । मन्त्रालयले बेरुजु फर्छ्यौट अभियानमार्फत सञ्चालन गरेर सेवाप्रदायक र सेवाग्राहीसँग ४९ लाख ६१ हजार ६७ रूपैयाँ रकम असुली गरेको हो ।
बेरुजु संकलन अभियान प्रभावकारी देखिएको लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए । अभियानले प्रदेशभरि स्वास्थ्य सेवाको प्रवाह र समुचित व्यवस्थापनलाई सघाउ पुग्ने उनको विश्वास छ ।
‘बेरुजु रकम संकलन गर्न सम्बन्धित स्वास्थ्य संस्था र कार्यालयलाई कडा निर्देशन दिएका छौं । यो अभियानले प्रदेशमा स्वास्थ्य सेवाको पारदर्शीता र दिगो व्यवस्थापनमा टेवा पुर्याउने विश्वास लिएका छौं’, सारुले भने ।
यो अभियानले स्वास्थ्य सेवाको विश्वसनीयता र सेवा प्रवाहलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने सचिव दुर्गालक्ष्मी श्रेष्ठ बताउँछिन् ।
मन्त्रालयले सबै नागरिक र स्वास्थ्य सेवाका उपभोक्ताहरूलाई अनावश्यक बेरुजु नराख्न, सही समयमा तिर्न र जिम्मेवारी बोध गर्न भनेको छ ।