सल्यानमा बढ्दै मानसिक स्वास्थ्य समस्याका बिरामी

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०८२, बुधबार

सल्यान: विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक चार जनामध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ ।

मानिस शारीरिक मात्र होइन, मानसिक रूपमा पनि स्वस्थ हुनु अत्यावश्यक हुन्छ । तर पछिल्लो समय गरिबी, अभाव, बेरोजगारी, पारिवारिक समस्यालगायतका कारणले मानसिक समस्या बढ्दै गएका छन्। सल्यानमा पनि मानसिक समस्या गम्भीर बन्दै गएको देखिन्छ ।

सल्यानमा मानसिक स्वास्थ्य समस्या र त्यससँग जोडिएका घटनाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो वर्षमा मात्रै ८ सय २२ जना भन्दा बढी मानिस मानसिक समस्याका कारण अस्पताल पुगेका छन् ।

आत्महत्या र विष सेवनका घटना पनि निरन्तर बढिरहेका छन् । अस्पतालमा दैनिक ५ देखि ८ जना बिरामी मानसिक समस्याका कारण उपचारका लागि आउने गरेका छन् ।

पछिल्ला ३ आर्थिक वर्षमा १३९ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै ४२ जनाले ज्यान गुमाएका छन्, जसमा पुरूषको संख्या बढी छ ।

१३ वर्षका बालबालिकादेखि ३० वर्षसम्मका युवाहरूले बढी संख्यामा मानसिक समस्याका कारण गलत बाटो रोज्ने गरेको पाइन्छ । जेष्ठ नागरिकहरूमा पनि यो समस्या बढेको देखिन्छ ।

यस्ता समस्यामा परेका व्यक्तिलाई समयमै उपचार, घरपरिवारको साथ र सामाजिक सहयोग मिलेमा उनीहरू निको हुन सक्छन् । कतिपयले त उपचारपछि नयाँ जीवन सुरू गरेर अरूलाई मानसिक स्वास्थ्य परामर्श सेवा पनि दिइरहेका छन ।

सल्यानमा अझै मानसिक रोगसम्बन्धी सेवा सीमित छ। ग्रामिण भेगमा स्वास्थ्य पहुँच टाढा छ, मनोसामाजिक परामर्शको अभाव छ । धेरैले रोग लुकाएर बस्नुपरेको छ ।

  • ४ भाद्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech