नेपालगन्जः स्वास्थ्यकर्मीको निधनमा बैतडीको पुर्चौंडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले शोक वक्तव्य निकाल्दै विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी भागरथी कुँवरको असामयिक निधन भएकाले मंगलबार शोक बिदा दिएको हो ।
शोक वक्तव्यमा अनमी कुँवरको निधनले पुर्चौंडी नगरपालिकाले एक इमानदार, कर्तव्यनिष्ठ र होनहार स्वास्थ्यकर्मी गुमाएको प्रति दुःख प्रकट गरेको छ । कार्यवाहक नगर प्रमुख मीना धानुक र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जारी गरेको शोक वक्तव्यमा मंगलबार नगरपालिका मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्थामा शोक बिदा दिइको उल्लेख गरेको छ ।
विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी कुँवर आइतबार राति आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । शव पोस्टमार्टम गरी आफन्तले जिम्मा लिइसकेको प्रहरीले जनाएको छ ।
कुँवरको मृत्युको कारण खुलिनसकेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।