राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान

    • स्वास्थ्य पेज

  • २ भाद्र २०८२, सोमबार

काठमाडौंः टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमका बीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए । उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही प्रतिबद्धता अनुरूप अन्य स्वास्थ्य संस्थाहरुमा जस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्रमशः क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको उनको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकार जनतासँग गरेका वाचा पूरा गर्न निरन्तर लागिपरेको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज जडान गरिएको डिजिटल पीसीआर मेसिन हाल प्रयोगमा रहेको सामान्य पीसीआरभन्दा निकै परिष्कृत र संवेदनशील मानिन्छ । यसले रगत वा नमुनामा अत्यन्तै न्यून मात्रामा रहेको डीएनएलाई समेत सटीक रूपमा पहिचान गर्ने हुँदा रोगको निदान थप विश्वसनीय र प्रभावकारी हुने प्रयोगशालाका निर्देशक डा रञ्जन राज भट्टले जानकारी दिए ।

‘यस प्रविधिको सुरुवातसँगै क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने ईजिएफआर, बीसीआर-एबीएल, बीआरएएफ जस्ता म्युटेसनको परीक्षण र रगतमा घुमिरहेको ट्युमरको डीएनएको जाँच अब नेपालमै सस्तो र सुलभ रूपमा गर्न सम्भव हुने’ डा. भट्टले बताए ।

सेवाग्राहीलाई थप सुविधा यसका साथै, प्रयोगशालामा जडान गरिएको ‘रिपोर्ट भेन्डिङ मेसिन’ ले सेवाग्राहीलाई ठूलो राहत दिनेछ । अब सेवाग्राहीले आफ्नो रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सेवाग्राहीले उपलब्ध गराइएको युनिक कोड प्रयोग गरी आफैंले मेसिनबाट रिपोर्ट प्रिन्ट गर्न सक्ने प्रयोगशालाले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको यस प्रविधि विस्तारले नेपालको रोग निदान क्षमतालाई नयाँ उचाइमा पुऱ्याउने र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सहज बनाउने मन्त्रालयले विश्वास लिएको छ ।

  • २ भाद्र २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech