नेपालगन्जः बाँकेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका ८ वटै स्थानीय तहमा खोप अभियान चल्ने स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपलिका, बैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा कोरोना विरुद्धको खोप सुरु भएको हो । विशेषगरी दीर्घरोगी, जेष्ठ नागरिक र जोखिम समुदायलाई लक्षित गरेर कोरोना विरुद्धको फाइजर खोप लगाइने छ ।
दोस्रो चरणमा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप अभियान चल्नेछ । बाँकेमा ३१ हजार ८ सय डोज खोप आएको छ । कोहलपुरमा ६ हजार, बैजनाथ र राप्तीसोनारीमा ३/३ हजार र नरैनापुरमा १ हजार ८ सय डोज खोपको मात्रा पुर्याइएको छ ।
खोप फोकल पर्सन श्रेष्ठले कोभिड–१९ विरुद्ध निश्चित औषधि उपचार नभएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन नागरिकलाई आग्रह गरे । उनका अनुसार हालसम्म प्रायः व्यक्ति कम्तीमा एक पटक कोभिड–१९ को सङ्क्रमण भएको अनुमान गरिएको बताउँदै कोभिड–१९ को सङ्क्रमण भएका व्यक्तिमा रोगविरुद्धको प्रतिरोधात्मक क्षमता उच्च र लामो समयसम्म कायम रहने देखिएको बताए ।