कोहलपुरः बाँकेको कोहलपुरमा आजदेखि १५ शैयाको महिला डेडिकेटेड एच एण्ड एच हस्पिटलले सेवा सुरु गरेको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा संचालनमा ल्याइएको यो अस्पतालले यसक्षेत्रका महिलाहरुको स्वास्थ्यमा सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने विश्वास लिइएको छ ।
कोहलपुर नगरपालिका वडा नं.११ मा स्थापना भएको यो अस्पतालले महिलासँगै अन्य स्वास्थ्य सेवा समेत प्रवाह गर्ने भएकाले यहाँका नागरिकहरुको स्वास्थ्यमा सहज पहुँच हुने डा.विसीले बताइन् ।
उनले भनिन् -‘खासगरी हाम्रो उद्देश्य भनेको महिलालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने हो । तर अन्य सेवाहरुपनि उपलब्ध गराइन्छ ।’ २४ सैं घण्टा इमरजेन्जी सेवासँगै ओपिडी, आइसीयू, एनआइसीयू, एचडियू, कम्प्रेन्सिभ मेटिनेटी केयर, मोर्डन अप्रशेन थियटर, आफ्नै फार्मेसी लगायतको सेवा सहित अस्पताल सुरु भएको हो ।
डा.विसीसँगै युरोलोजिष्ट डा.नरेशमान श्रेष्ठ, अर्थोपेडिक सर्जन डा.प्रतिक कार्की, ग्याष्ट्रोइन्टेरोलोजी सर्जन डा.प्रदिप थापा, बालरोग विशेषज्ञ डा. विवेक शाह र डा.सन्जय रिसाल लगायतले अस्पतालबाट सेवा दिनेछन् । कोहलपुरमा अत्याधुनिक एच एण्ड एच अस्पताल खुलेसँगै स्वास्थ्य क्षेत्रमा नागरिकहरुले थप सहज सेवा पाउने अपेक्षा गरिएको छ ।