नेपालगन्जः बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहियामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । नेपाली काँग्रेस बाँकेको आयोजना तथा नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सह–आयोजना र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको प्राविधिक सहयोगमा मंगलवार शिविर गरिएको हो ।
नेपाली काँग्रेसका सभापति स्वर्गीय सुशिल कोइरालाको ८७ औं जन्मजयनतीको अवसरमा आयोजित शिविरमा खासगरी नसर्ने रोगको बारेमा परामर्श सेवा प्रदान गर्न र स्थानीयको स्वास्थ्य चेकजाँच गर्न शिविर गरिएको पार्टी सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका स्थानीयबासीलाई गाउँघरमै स्वास्थ्य सेवा पुर्याउन शिविर महत्वपूर्ण भएको उनको भनाइ छ ।
मिर्गौला रोग विशेषज्ञ डा.सौरभसिंह हमाल र कन्सल्टेन्ट फिजिसियन डा.प्रतिभा भण्डारी लगायतको टिमले स्थानीयको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेको थियो । शिविरमा करिव ५ सय बिरामीले सेवा लिएका थिए ।
डा.हमालका अनुसार शिविरमा आएका अधिकांशमा प्रेसर, सुगर, दम, छाला, शरीर दुख्ने लगायतका स्वास्थ्य समस्या बढी देखिएको छ । उनीहरुलाई आवश्यक परामर्शसँगै निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले जानकारी दिए ।
शिविरमा नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र साहलगायतको टिमले समेत सहजीकरण गरेको संघका सचिव तेज वलीले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र हमाल, काँग्रेसका क्षेत्रीय सभापति पोषण केसी, वडा अध्यक्ष कृष्णचन्द्र मौर्य लगायतले विशेषज्ञ चिकित्सकसहितको टोलिले स्थानीयलाई गाउँघरमै सेवा प्रवाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।
शिविरमा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमलगायतको स्वास्थ्यकर्मीको टिम समेत पुगेको थियो ।
त्यसैगरी स्वास्थ्य शिविरमा काँग्रेस बाँकेका सहसचिव रेणुसिंह ठाकुर, कोषाध्यक्ष यज्ञ बस्नेत, काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतको सहभागिता रहेको थियो ।