तराईमा तीब्ररुपमा फैलिँदै इन्सेफ्लाइटिस, तीन जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०८२, सोमबार

नेपालगन्जः जापानीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ । ३३ जनामा संक्रमण पुष्टि भएको छ । मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुषको इन्सेफ्लाइटिसबाट मृत्यु भएको छ । तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण तीव्र रूपमा फैलिन थालेको भन्दै सावधानी अपनाउन परिवार कल्याण महाशाखाले आग्रह गरेको छ । गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए ।

यसवर्ष लुम्बिनी, मधेस र कोशी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् । बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् । संक्रमितमध्ये २० महिला र १३ पुरुष छन् । खोप शाखाका डा. अभियान गौतमका अनुसार यसपटक संक्रमण विशेषगरी खोप नलगाएका समुदायमा बढी देखिएको छ । केही समय अघि पूर्वका जिल्लामा देखिए पनि पछिल्लो चरणमा लुम्विनी, मधेस र कोशी प्रदेशमा फैलिएको छ । लुम्बिनीमा ९, मधेशमा १०, कोशीमा ९, बागमतीमा ४ र गण्डकीका १ जना संक्रमित भएका छन् ।

‘तराई बेल्ट यसको लागि एकदम अनुकूल क्षेत्र हो, धान खेती हुने, वरिपरि सुँगुर वा हाँस पालन हुने ठाउँमा यसको जोखिम उच्च हुन्छ’ डा. गौतमले भने । संक्रमणको जोखिम देखिएपछि स्वास्थ्य निकायले तीन महिना अघि नै अस्पतालहरूलाई ‘क्लिनिकल प्रोटोकल’ र उपचार निर्देशिका उपलब्ध गराएको उनले बताए । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ । माछा मार्ने, बागबानी, क्याम्पिङजस्ता काममा खटिने, सुँगुर पाल्ने स्थानमा काम गर्ने वा नजिकै बस्ने मानिसहरू थप सतर्क हुनुपर्ने डा. गौतमले बताए ।

‘लामो समयसम्म सुँगुर, हाँसमा संक्रमण रहिरन्छ । त्यसकारण जनावरको बस्ने बास्थानमा सरसफाइ र झुलको प्रयोग गर्ने हो भने सुरक्षित हुन सकिन्छ’ डा. गौतम भन्छन् । संक्रमित चरा र सुँगुरबाट लामखुट्टेमार्फत मानिसमा सर्ने यो रोगका लक्षणहरूमा उच्च ज्वरो, मुर्छा, घाँटी अरर हुने, भ्रम, बोल्न नसक्ने र मांसपेशी कमजोर हुने वा पक्षाघात समेत हुन सक्छ । जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ । यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् ।

तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणाली कमजोर भएका मानिस बढी जोखिममा हुन्छन् । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ । संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, मांसपेशी कडा हुनु, अचेत हुनु लक्षण हुन् ।

यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ । तर यो भाइरस विरुद्धको खोप भने उपलब्ध छ । मनसुनको समयमा यो रोगको जोखिम बढी हुने हुन्छ । चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने,घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन । साथै पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सक सुझाव दिन्छन् ।

  • २६ श्रावण २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech