नेपालगन्ज: नेपालगन्ज स्थित वेस्टर्न हस्पिटलले विश्व स्तनपान सप्ताह २०२५ विविध कार्यक्रमका साथ मनाएको छ । “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह भव्य रूपमा मनाइएको अस्पतालले जनाएको छ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हप्ताभर अन्तरक्रिया, जानकारीमूलक सत्रहरू सञ्चालन गरिएका थिए । कार्यक्रममा अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापाले स्तनपानको जैविक, सामाजिक तथा मानसिक फाइदाका साथै, स्तनपान नगर्दा देखिने जोखिमहरूप्रति सहभागीहरूको ध्यानाकर्षण गराइन् । डा.थापाले आमाबाबु, परिवार र समाजको सहकार्यले स्तनपानलाई प्रभावकारी बनाउन सकिने कुरामा जोड दिईन् ।
यस्तै, हस्पिटलका नर्सिङ प्रशासक सन्दिपा शाक्यले स्तनपान शिशुका लागि मात्र नभई आमाको स्वास्थ्यका लागि पनि उपयोगी हुने भन्दै नियमित स्तनपानको अभ्यासलाई जीवनशैलीमै समावेश गर्न आग्रह गरिन् । कार्यक्रममा अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरूले समेत स्तनपानसम्बन्धी अनुभव, सुझाव र व्यवहारिक पक्षबारे आफ्ना धारणा राखेका थिए।
अस्पतालले स्तनपान सप्ताह मनाउनुको उद्देश्य आमाहरूमा स्तनपानप्रति सकारात्मक सोच विकास गर्नुका साथै परिवार तथा समुदायमा सहयोगी वातावरण निर्माण गर्नु रहेको जनाएको छ।