बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०८२, बुधबार

नेपालगन्जः बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.१ की कल्पना चौधरीको नवजात शिशुलाई अचानक हनहनी ज्वरो आयो । दिपापिसाव गर्दा पनि रुन थाल्यो । तत्काल उनले सदरमुकाम गुलरियास्थित बर्दिया अस्पतालमा पुर्याएन् । लक्षण चिन्हका आधारमा परीक्षण गर्दा स्क्रबटाइफस पुष्टि भयो । कल्पनाको नवजात शिशुमात्र होइन् बर्दिया अस्पतालमा असारयता स्क्रबटाइफसका १३ जना नवजात शिशुको उपचार भएको छ । यसबाहेक वयस्कमा पनि संक्रमण बढेको छ ।

एक महिने शिशुलाई निरन्तर ज्वरो आउने, पेट फुल्ने, जिउ दुख्नेलगायतका लक्षण देखिएपछि उपचारका लागि अभिभावकले गुलरिया अस्पताल ल्याउने गरेका छन् । परीक्षण गर्दा यस्ता नवजात शिशुमा स्क्रबटाइफस भएको पुष्टि हुने गरेको छ । गुलरिया अस्पतालमा १३ जना नवजात शिशुको स्क्रबटाइफसको उपचार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा.विश्वनाथप्रसाद साहले बताए ।

बर्दिया अस्पतालमा उपचारका लागि स्क्रबटाइफसको संक्रमण पुष्टि भएका पुरूष र महिलाको संख्यासमेत बढ्दै गएको छ । एक सातायता ७४ जनाको रगत परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा दैनिक उपचारका लागि बहिरंग सेवाका लागि आउनको संख्या २ सय ५० भन्दा बढी रहेको तथ्यांकले देखाउँछ । ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, हल्का खोकी लाग्ने र वाकवाक हुने यस रोगका मुख्य लक्षण हुन् ।

पराल, झारपात, वनजंगलमा पाइने भुसुना किराको कारणले गर्दा स्क्रबटाइपस लाग्ने गर्छ । भुसनाले टोकेको एकदुई दिनपछि बिरामीमा लक्षण देखिन थाल्छन् । नवजात शिशुमा स्क्रबटाइफस लाग्नुको मुख्य कारण सरसफाइ नहुनु नै रहेको चिकित्सकले अनुमान गरेका छन् ।

  • २१ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech