नेपालगन्ज: बाँकेको खजुरामा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले आफ्नो कार्यकालमा अस्पताल भित्र क्यान्सरको उपचारका लागी आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धी भएको बताएका छन् ।
आफ्नो कार्यकालको प्रगति विवरण सुनाउन अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष मल्लले विगतमा क्यान्सरको भन्दा बढी जनरल बिरामीहरुले सेवा लिने गरेको र अहिले त्यो परिवर्तन भई क्यान्सरको उपचारका लागी आउने बिरामी बढ्दै गएको बताए । उनले आर्थिक वर्ष २०७९ देखि २०८२ साउन सम्म १ लाख ४३ हजार ३३४ विरामीले अस्पतालको सेवा लिएको र त्यी मध्य ५२ हजार ७९३ जनामा क्यान्सर रोग पुष्टि भएको बताए ।
मल्लले २०७९ भदौ २३ गतेको निर्णय अनुसार क्यान्सरको उपचारको क्रममा नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य विमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक विरामीहरुलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितीले व्यहोर्ने गरी छुट गरिएको, आईसियू सेवा विस्तार सम्भवतः पश्चिम नेपालकै पहिलो पोजेटिन प्रेसर आईसियू निर्माण भई सन्चालनमा ल्याइएको, पश्चिम नेपालकै पहिलो लिन्याक मेसिन जडान गरी रेडियो थेरापी सेवा सन्चालनमा ल्याइएको जानकारी दिए ।
एक-एक थान सुविधा सम्पन्न टाइप ‘ए’ एम्बुलेन्स र स्टाफ बस भारतीय दुतावासको सहयोगमा सञ्चालनमा ल्याईएको र अर्थ मन्त्रालयसँगको समन्वयमा भन्सार विभाग नेपालगन्जबाट अस्पताललाई एक थान जीप प्राप्त भई सञ्चालनमा ल्याईएको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । अध्यक्ष मल्लले रक्त क्यान्सरको विरामीकोलागी बेग्लै हेमाटो अङ्कोलोजी वार्ड निर्माण गरी सन्चालनमा ल्याई सेवा सुरु गरिएको, बिरामीको सहजताका लागि ५५ वेडबाट सेवा प्रवाह भइरहेकोमा ९५ वेड विस्तार गरिएको, अस्पताल परिसरमा ब्लड बैंक स्थापना गरि सञ्चालनमा ल्याइएको समेत जानकारी दिए ।
क्याबिनेटले नियुक्त गरि पठाएका अन्य २ जना सदस्यहरुको उपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले Online Appointment, Online Report Delivery प्रणाली लागू गरिएको बताए । Hi-Mast Light जडान, Conference Hall निर्माण, र Cancer Screening Program पनि नियमितरूपमा हुँदै आएको उनले जानकारी दिएका छन् ।
अस्पतालको मातृसंस्था प्रखर परोपकार मिसन नेपालबाट प्रतिनिधित्व गर्ने विकास समितिका सदस्यहरुले काम गर्न अवरोध गरेको आरोप लगाएका अध्यक्ष मल्लले समिति भित्रैका सदस्यहरुको असहयोगका बीच पनि आफ्नो कार्यकालमा अस्पतालले ठुलो प्रगति गरेको उल्लेख गरे ।
हेर्नुहोस् मल्लले सार्वजनिक गरेको प्रगति विवरण