कोहलपुरमा विद्युतिय सहायताबाट चल्ने सुधारिएको चुलो वितरण

    • स्वास्थ्य पेज

  • २० श्रावण २०८२, मंगलवार

कोहलपुर: आमनागरिकको स्वास्थ्य तथा वातावरणमा समेत पार्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कोहलपुर नगरपालिकाले विद्युतिय सहायताबाट चल्ने सुधारिएको चुलो वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षमा पाँच सय चुलो वितरण गर्ने लक्ष्यका साथ मंगलवार कोहलपुर नगरपालिका वडा नं.२ वाट कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले चुलो वितरणको सुभारम्भ गरिन् ।

कार्यबाहक नगर प्रमुख सुवेदीले स्थानीय उर्मिला घर्तिलाई चुलो हस्तान्तरण गरेर वितरण कार्यक्रमको सुभारम्भ गरेकी हुन् । यो चुलोले इन्धनको खर्च घटाउँछ भने कोइला र लकडीको खपत समेत कम गर्छ । त्यसैगरी धुँवा नहुने भएकाले स्वास्थ्यमा समेत असर न्यूनीकरण हुने गर्छ । यसले वातावरणमा हुने ग्रीनहाउस ग्यासको उत्सर्जनलाई घटाउँछ र जैविक इन्धनको उपयोगलाई कम गर्छ ।

सुधारिएको चुलोले धुँवा कम उत्पादन गर्ने र यसले मानवीय स्वास्थ्यमा समेत असर नगर्ने भएकाले उपयोगीपूर्ण रहेको कार्यबाहक नगर प्रमुख सुवेदीले बताइन् । ‘विद्युतिय सहायताबाट चल्ने सुधारिएको यो चुलोले व्यक्तिको स्वास्थ्यमात्र नभएर वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्ने विश्वास छ उनले भनिन्–‘यसले विपन्न परिवारलाई पनि लाभ पुर्याउने छ ।’

पहिलो चरणमा नगरक्षेत्रका अपांगता, जेष्ठ नागरिक, एकल महिला र आर्थिक रुपमा विपन्न परिवारलाई लक्षित गरेर सुधारिएको चुलो वितरण गरिएपनि यसले परिवारका अन्य सदस्यहरुलाई समेत समेट्ने नगरपालिकाले जनाएको छ । चुलो प्राप्त गर्ने लाभग्राहीलाई यसको सहि सदुपयोग गर्न पनि उनले आग्रह गरिन् ।

वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र कोहलपुर नगरपालिकाको साझेदारीमा १५ वटा वडामा हाल ३०/३० वटाका दरले चुलो वितरण गरिनेछ । पाँच हजार ९८७ रुपैयाँ मूल्य पर्ने उक्त चुलो केन्द्रको ८० प्रतिशत, पालिकाको १५ प्रतिशत र लाभग्राहीको ५ प्रतिशत लगानीमा वितरण गरिने छ ।

  • २० श्रावण २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech