स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पदभारग्रहण पश्चातको पहिलो घोषणा थियो — “एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालहरूमा सेवा लिन लाइन बस्न नपर्ने व्यवस्था गर्छु।” यो घोषणा आफैँमा उत्साहप्रद थियो, आशा र अपेक्षा बोकेको । त्यो केवल राजनीतिक ‘soundbite’ थियो कि यथार्थमै टेकेर बनाइएको roadmap, त्यो प्रष्ट त भएन। तर यसले एउटा गहिरो बहस पनि जन्मायो, आखिर किन भिड हुन्छ सरकारी अस्पतालमा ? भिड के संकटको सूचक हो, कि सफलताको ?
सरकारी अस्पतालको भिडलाई सामान्यतया समस्याको रूपमा मात्र व्याख्या गरिन्छ। तर गहिरिएर हेर्दा, यो भिड आफैमा समस्या होइन । यो धेरै गहिरो संरचनागत, प्राविधिक र नीतिगत असन्तुलनहरूको सतही प्रतिबिम्ब हो। भिड लक्षण हो, रोग होइन।
भिडको अर्थ — संकट कि सफलता ?
सरकारी अस्पतालको भिड संस्थाप्रति जनविश्वासको सूचक हो। जनतामा त्यो अस्पतालले सेवा दिन सक्छ भन्ने भरोषाको संकेत हो। हालका दिनमा स्वास्थ्य बीमामा बढ्दो आबद्धता र सेवा प्रदायक संस्थाहरू सरकारी अस्पताल नै हुनु, यी अस्पतालमा न्यून शुल्कमा विशेषज्ञ परामर्श उपलब्ध हुनु, यी अस्पतालमा पुर्वाग्रह रहित उपचार (उदा. – अपरेसन नगरे पनि हुने केशमा पनि निजी स्वास्थ्य संस्थामा अपरेसनको लागि प्रेरित गरिन सक्छ) र समाजमा ख्याति कमाएका चिकित्सकहरूको उपलब्धताले गर्दा भिड दिन प्रतिदिन बढिरहेको छ।
तर, यस्तो विश्वास बोकेर आउने जनसाधारणलाई कयौ पटक असन्तोष, असहजता, र असुरक्षा झेल्नुपरेको हुन्छ। हाम्रा अस्पतालहरुमा जाँदा शारीरिक समस्याभन्दा बढ्ता मानसिक थकान बढ्ता हुने गर्छ। भिडलाई केवल “हाम्रो सेवा राम्रो भएर हो” भन्ने तर्क पनि पर्याप्त छैन। हामीले प्रश्न गर्नुपर्ने बेला आएको छ — के यो भिड वास्तवमै हाम्रो सफलताको सुचक हो कि फितलो व्यवस्थापनको संकेत ?
किन हुन्छ भिड ?
(१ ) सानो बिमारीको लागि पनि ठूलै अस्पताल धाउने परिपाटी : नजिकको तिर्थ हेंला । हुन त संरचनागत रुपमा हामीले गाउँ तहसम्मै स्वास्थ्य संस्था स्थापना गरेका छौं, तर कुन समस्याको लागि कहाँ जाने र आफ्नो समुदायस्तरको स्वास्थ्य संस्थाबाट ढुक्क भइ लिन सकिने उपचारात्मक सेवा के के हुन हामीले जनतालाई बुझाउन सकेका छैनौं । स्वास्थ्यमा जे समस्या देखिएपनि बेरोकटोक सकेसम्म ठूला तहका अस्पताल धाउने प्रवृत्तिले प्राथमिक तहका सेवाहरू खेर गएका छन् । यो Referral Gatekeeping को अभावले tertiary centers लाई अनावश्यक भार पारेको छ।
(२) दीर्घ बिरामीहरूको अनावश्यक भिड: समाजमा डायबेटिज, उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल जस्ता नसर्ने रोगहरूको भार बढिरहेको छ । औषधि थप्न अस्पताल आउने बिरामीहरू पनि नयाँ बिरामीहरूजस्तै फेरि प्रोटोकल पछ्याउनुपर्ने बाध्यतामा छन् । यो मिसमासले नयाँ बिरामीहरूको परामर्शको सयम साँघुरिएको छ भने फलोअप बिरामीहरूले अनावश्यक लाइनको पर्खाइ र हण्डर झेलिरहेका छन् ।
(३) प्रविधिको प्रयोग हुन नसक्नु : लाइन देखिने प्रमुख स्थान टिकट र बिल काउन्टर हो । सेवाप्रवाहमा यदाकदा अनुमान भन्दा बेसी ग्राहक आएमा लाइन हुनु सामान्य मान्न सकिए पनि दैनिक उहि नियति दोहोरिनु दुखद हो । टिकट काट्नै महाभारत छ। टिकट काटिसकेपछि हतारहतार लगेर ओपिडीमा डाक्टर भेट्न लाइन लाउनु पर्ने अवस्था छ । बल्लबल्ल डाक्टरलाई देखायो, तोकिएका जाँचका निम्ति पैसा तिर्नु अर्को महाभारत । कुनै पनि संस्थालाई उसको सेवाको निम्ति पैसा बुझाउन पनि निकै लामो लाइन बस्न पर्नु अक्षमता मान्न सकिए पनि नेपालमा त्यो सर्वस्वीकार्य छ । फेरी प्रयोगशालाको संकलन काउन्टरमा नमुना दिन अर्को लाइन । भोलीपल्ट रिपोर्ट लिन अर्को लाइन । र फेरी चिकित्सकलाई रिपोर्ट देखाउन अर्को । लाग्छ नेपालीको जीवन नै लाइनमा बस्नको लागि बनाइएको हो । यी सब लाइनलाई प्रविधिको समुचित प्रयोग गर्ने हो भने धेरै हदसम्म न्यूनिकरण र व्यवस्थित गर्न सकिने हो ।
- Online ticketing प्रयोगले सेवा प्रवाह सुधारको आशा देखाएको छ। तर अधिकांश अस्पतालमा अझै यो अभ्यास छैन।
अपूरो डिजिटल यात्रा : EHR कार्यान्वयनको वास्तविकता :
आजकाल प्रायः सबै सरकारी तथा निजी अस्पतालहरूले ‘EHR लागू गरिसकेका छौँ’ भन्ने दाबी गर्छन्। तर व्यवहारमा हेर्दा, त्यो कार्यान्वयन टिकट काट्ने र बिल बनाउने सीमित प्रयोजनमै सिमित देखिन्छ। स्वास्थ्य सेवा प्रवाहको डिजिटल आधारस्तम्भको रूपमा विकास भएको इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) प्रणाली हाम्रोमा अझै सतही रूपमा मात्र प्रयोग भइरहेको छ।
भेरी अस्पतालले इन-हाउस विकास गरेको ‘VerySoft’ नामक EHR सफ्टवेयर समयमै जडान गरिए पनि, त्यो सफ्टवेयरको बहुआयामिक क्षमता अनुसार प्रयोग गर्न नसकिएको कटु यथार्थ छ। यसको क्लिनिकल डाटा इन्ट्री, अन्तरविभागीय समन्वय, अनुसन्धनका लागि स्ट्रक्चर्ड डेटा, र रिपोर्टिङ क्षमताहरू अझै प्रयोगबाहिर छन्।
यतिबेला हाम्रो आवश्यकता interoperable प्रणालीको हो —अन्तरसंवादको सुनिश्चितताका लागि विश्वव्यापी रूपमा स्थापित HL7 मापदण्डलाई कार्यान्वयन स्तरमा पालना गर्नु अब विलम्ब गर्न नहुने आवश्यकताका रूपमा हेरिनुपर्छ। यसल गर्दा Application Programming Interface (API) को माध्यमबाट अन्य स्वास्थ्य सूचना प्रणालीहरूसँग डेटा साझा गर्न सहज हुनेछ।यस दिशामा, राष्ट्रिय परिचयपत्र (National ID) लाई एउटा सर्वस्वीकार्य unique patient identifier को रूपमा उपयोग गर्न सकिनेछ। यसले स्वास्थ्य संस्थाबीचको डेटा एक्सचेन्जमा आधारभूत संरचना तयार पार्छ — जसबाट एक व्यक्ति कुनै पनि अस्पतालमा पुग्दा उनका विगतका रिपोर्टहरू, औषधिको इतिहास वा समस्या विवरण तुरुन्तै पहुँचयोग्य हुन्छन्।
यही सन्दर्भमा रेडियोलोजी सेवा पनि डिजिटल परिवर्तनको केन्द्र बन्न सक्छ।Picture Archiving and Communication System (PACS) को व्यापक प्रयोगमार्फत, रेडियोलोजिकल छविहरूलाई फिल्म प्रिन्टको सट्टा डिजिटल रूपमा संग्रह र विश्लेषण गर्न सकिन्छ। यसले सेवा सस्तो मात्र बनाउँदैन, देशभर फैलिएको रेडियोलोजिस्टहरूको सञ्जालमार्फत MRI वा CT रिपोर्टिङमा समयको अभावले सिर्जिएको समस्या पनि केही हदसम्म समाधान गर्न सकिन्छ।
यसले न केवल दक्ष जनशक्ति अभावको पूर्ति गर्छ, तर remote reporting model लाई संस्थागत बनाउने ढोका खोल्छ — जहाँ सुदूर जिल्लामा गरिएको MRI स्क्यानको रिपोर्ट काठमाडौंका विशेषज्ञबाट केही घण्टामै तयार गर्न सकिनेछ।
त्यसका लागि EHR, NID, PACS र HL7— यी चारवटा अक्षर मिलेर एउटा असल प्रणाली तयार पार्न सकिन्छ, यदि इच्छाशक्ति र नीति स्थायीत्व साथमा छन् भने
Telemedicine को कमजोर प्रयोग: हाम्रो जस्तो कठीन भूगोल र विशेषज्ञ चिकित्सकको अभाव भएको ठाउँमा टेलिमेडिसिनले पार्न सक्ने प्रभाव ठूलो हुन सक्थ्यो । तर अझै पनि यो ‘फलाना चिकित्सकलाई फलाना दिन भेट्नुस’ भन्ने सोधपुछको एजेन्ट बाहेक अन्य बन्न सकेको छैन ।
(४) सिमित मानव संसाधन र रुढ व्यवस्थापन : जनसंख्याको वृद्धि, रोगको परिवर्तनशीलता र रोगको प्रकृतिअनुसार मानव संसाधनको पुनःसंयोजन नहुनुले समस्या जटिल बनाएको छ। हामी अझै पनि दशकौं पुरानो दरबन्दीमा काम गरिरहेका छौं । छात्रवृत्ति करारका चिकित्सकहरुले विशेषज्ञ चिकित्सकको अभावलाई पुरा गर्न थाले पनि सोहि अनुरुप अन्य प्यारमेडिक्स स्टाफको व्यवस्था नहुँदा चाहेर पनि सेवामा गुणात्मक सुधार हुन सकेको छैन । आफ्नो आबश्यकता अनुसार र खर्चले धान्ने जनशक्ति राख्न पनि उपल्लो निकायको अनुमति लिन पर्दा स्वास्थ्यमा विकेन्द्रीकरण अझै आबश्यक भएको पुष्टि हुन्छ । करिअरको सुनिश्चितता नहुँदा कर्मचारीमा पनि उत्प्रेरणा प्राप्त हुन सकेको छैन ।
(५) हाकिमकै मात्र जिम्मा :संस्थाको सेवा प्रवाहको गुणस्तर सुधार्न सबै तह तप्काका कर्मचारीको उत्तिके भूमिका रहन्छ । तर हामीकहाँ जे परेपनि ‘हाकिमलाई भन्नुस’ भन्ने थेगो जिब्रोमै झुन्डिएको छ ।
(६) Administrative Inertia
Budget Rigidity: स्थानीय तहसँग सेवा दिने जिम्मेवारी छ, तर निर्णय गर्न न त अधिकार छ न त लचकता। बजेट संरचना केन्द्रमै केन्द्रित छ।
समाधानका उपाय
१. Hub-and-Satellite मोडलको कार्यान्वयन: उपलब्ध भएसम्म हामी सबैमा प्रेषण अस्पताल धाउने प्रवृत्ति छ । सामान्य पेट दुखेमा पनि हामी “सबैभन्दा राम्रो ग्यास्ट्रोलोजिस्ट को छ ?” को खोजबाट उपचार सुरु गर्छौं । ‘*लोजिस्ट’हरूको उपचार निजीमा महँगो पर्ने हुँदा सरकारी नै पहिलो छनौटमा पर्न जान्छ । यसले विशेषज्ञ चिकित्सकलाई भेट्न मात्र पनि सरकारी अस्पतालमा भिड जम्मा हुन्छ ।
पहिलो परामर्श मात्र होइन नियमित फलोअप र औषधिको निरन्तरको लागि पनि उनै चिकित्सकलाई भेट्नु पर्ने बाध्यताले भिड बढिरहेको छ । विपदको बेलाको निम्ति सरकारी अस्तताललाई ‘हब’ र वरपरका अन्य अस्पताललाई ‘स्याटेलाइट’ मानेर भिड व्यवस्थापन गर्ने चलन भएपनि त्यसको ठोस कार्यान्वयन हुन सकेको छैन । र यो कार्यविधि नियमित ओपिडी संचालनमा पनि अवलम्बन गरिनुपर्ने आबश्यकता देखिन्छ । बीमामा ‘प्रथम सेवा बिन्दु’ र प्रेषण अस्पताल अवधारणा ल्याउन खोजिए पनि प्रकृयागत अस्पस्टताले हालै सार्वजनिक गरेको परिपत्र सरकारले फिर्ता लिनु पर्यो ।
यसको निम्ति बाध्यात्मक प्रबन्ध भन्दा पनि सेवाको परिभाषा र विशिष्टिकरण गरिनु आबश्यक हुन्छ । डायबेटिजको औषधि खाइरहेको बिरामी औषधि लेखाउनैको लागि भेरी अस्पतालको भिडमा मिसिंदा उसले त अनावश्यक भिडको सामना गर्छ नै नयाँ बिरामीहरूले समेत डाक्टरको पर्याप्त समय पाउँदैनन । सिकलसेलका बिरामीहरूले २०० रुपैयाको फोलिक एसिड ‘निशुल्क’ प्राप्त गर्न २००० रुपैया खर्च गरेर भेरी अस्पताल आउनु पर्ने बाध्यताको विकल्प हामीले सोच्नै पर्ने हुन्छ ।
यसको निम्ति वरपरका स्वास्थ्य संस्थाहरूमा सामान्य जाँच ब्लड सुगर, क्रियटेनिन, पिसाब आदि जस्ता सामान्य जाँचको गुणस्तरिय परिक्षण स्थापना र निरन्तरता दिइनुपर्छ । कुनै जटिलता छैन र सबै कुरा नियन्त्रमै छ भने किन प्रेषण अस्पतालमा भिड बढाउने ? बीमाको औषधिको रिफिल लिन किन भेरीमै लाइन लाग्नुपर्ने ?
२. Online Ticketing र Queue Management : केहि समय अघिसम्म टोकनमा आधारित Que Management System लाई सार्वजनिक स्थलमा भिड नियन्त्रणको प्रभावकारी उपायको रुपमा चित्रित गर्ने गरिएता पनि हालसम्मको अनुभवले गर्दा त्यो पनि उति प्रभावकारी नभएको ठहरिइसकेको छ । टोकन लिनैको निम्ति बिरामीहरू बिहान झिसमिसेमै अस्पताल आउनुपर्ने बाध्यता छ । अस्पतालमा आइसकेपछि प्रतिक्षालयमा पर्याप्त सुविधा र स्थान नहुँदा यसले भिड व्यवस्थापन झनै अस्तव्यस्त बनाउन सक्छ । प्रविधिको विकास र हातहातमा स्मार्ट फोनको पहुँचले अब मानिसहरू टिकटकै निम्ति भौतिक रुपमा अस्पताल नआउनुपर्ने प्रणालीको विकास गर्नुपर्ने देखिन्छ ।
भेरी अस्पतालले VerySoft मार्फत Online Ticketing प्रणाली सुरुवात गरिसकेको छ । तर यो अझै पनि धेरै प्रयोगकर्ता माझ पुग्न सकेको छैन । सेवाग्राहिहरुले अब सेवा लिने प्रत्येक ठाउँको छुट्टै एप राख्न झिजो मान्न थालेको देखिन्छ । अत: डिजिटल वालेट (eSewa, Khalti) मा भेरी अस्पतालको अनलाइन टिकट प्रणाली आबद्ध गराएर शुल्क समेत त्यसैबाट भुक्तानी गर्ने सहज सिस्टम परिमार्जन गराउन सकिन्छ । अनलाइनबाट टिकट काटेर आएको सेवाग्राहीले हामीले बिदेशका एअरपोर्टहरूमा अनलाईन चेक-इन गर्न प्रयोग गर्ने Kiosk जस्तै मेशिनबाट आफ्नो पुर्जा प्रिन्ट गर्ने सक्छन् । अनलाईन मार्फत टिकट काट्दा ओपिडीको भिड कम हुने समय हामीले सिस्टमबाटै प्रदान गर्न सक्छौं र बिरामी आफ्नो अनुमानित समयको आसपास मात्र अस्पतालमा प्रवेश गर्न सक्छ । यसले भौतिक रुपमा हुने भिड नियन्त्रण गर्न ठूलो सहयोग गर्न सक्छ । यो विधि अन्य सरकारी र निजी अस्पतालहरूमा पनि फैलाउन सकिन्छ। पुराना बिरामीका लागि follow-up time-slot छुट्याउने अभ्यास शुरु हुनुपर्छ।
३. National ID को प्रभावकारी कार्यान्वयन: अहिले पनि सरकारी अस्पतालमा सेवा लिंदा बिरामीहरूले धेरै प्रकारकाका पहिचान खुल्ने कागजातहरू बोक्नुपर्ने बाध्यता छ । बीमा सेवा लिन बीमा परिचयपत्र, सामाजिक सुरक्षा कार्यक्रम वा विपन्न नागरिक उपचार कोषको निम्ति नागरिकता, स्थानिय निकायको सिफारिस आदिले गर्दा एकातिर सेवाग्राहिले झन्झटिलो भैरहेको छ भने विभिन्न कार्यक्रमहरूबाट लिइने सहुलियत एकिकृत नहुँदा दोहोरिने वा सरकरको प्रतिव्यक्ति लगानी हिसाब गर्न समेत कठिनाइ भैरहेको छ । एउटै बिरामी एउटा अस्पतालबाट अर्कोमा प्रेषण हुँदा व्यक्तिगत र रोगसम्बन्धि विवरणहरू ट्रान्सफर गर्न पनि कठिनाइ भैरहेको छ । यस्तोमा राष्ट्रिय परिचयपत्र एउटा भरपर्दो विकल्प हुन सक्छ । नागरिकलाई यो सेवा लिन ‘राष्ट्रिय परिचयपत्र अनिवार्य’ चाहिने भन्न्ने जस्ता बाध्यत्मक व्यवस्था गर्नु भन्दा राष्ट्रिय परिचयपत्र लिएमा यि यि सेवाहरू सहजताका साथ लिन सकिन्छ भन्नेमा बिश्वस्त तुल्याउन सकियो भने राज्यले ठूलो महत्वाकांक्षाका साथ लागु गरेको यस्ता नवीन सोचहरूको व्यापक प्रयोग हुन सक्छ ।
४. Interoperable Digital Health Systems: ४. Interoperable Digital Health Systems:
स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिमार्फत दक्ष, समावेशी र दिगो बनाउनका लागि सबै अस्पतालहरूबीच सहजतापूर्वक डाटा आदानप्रदान हुन सक्ने (interoperable) प्रणाली विकास गर्नु आजको आवश्यकता हो। यस सन्दर्भमा, Digital Nepal Framework (2019) अन्तर्गत ‘Health Sector as a Priority Area’ मा स्पष्ट उल्लेख गरिएको छ
“Digital health solutions will improve access, quality and affordability of healthcare services by integrating patient information systems across levels of healthcare delivery.”
यसका लागि चारवटा मुख्य डिजिटल स्वास्थ्य अवयवहरू हुनेछन्
(क) Electronic Health Record (EHR):
EHR प्रणालीले प्रत्येक बिरामीको सम्पूर्ण स्वास्थ्य विवरणलाई संरचित, सुरक्षित र पुन:प्रयोगयोग्य तरिकाले डिजिटलरूपमा राख्छ। तर, हालको अवस्थामा धेरै अस्पतालमा यो केवल ओपीडी टिकट र बिलिङमा मात्र सीमित छ। True EHR भनेको यस्तो प्रणाली हो जुन अन्य अस्पताल वा सेवा प्रदायकसँग पनि संवाद गर्न सक्ने हो—त्यही भएर interoperability अनिवार्य छ।
(ख) Picture Archiving and Communication System (PACS) र DICOM:
रेडियोलोजी लगायतका इमेजहरू (X-ray, CT, MRI) लाई डिजिटल माध्यममा सुरक्षित राख्न र टाढाबाट पहुँचयोग्य बनाउन PACS र DICOM मापदण्डहरू प्रयोग गरिन्छ।
यो अवधारणालाई Digital Nepal Blueprint मा पनि उल्लेख गरिएकोछ :
“Digital Imaging solutions such as PACS will be promoted to reduce reliance on physical films and enable remote reporting by radiologists.”
यसले स्वास्थ्य सेवा प्रदायकको ‘geographical isolation’ (आफ्नो अस्पतालमा सम्बन्धित विज्ञहरूको अभाव) कम गरी देशभरका रेडियोलोजिस्टबाट आउटसोर्सिङ मार्फत सेवा लिन सहज बनाउनेछ।
(ग) HL7 Standard:
HL7 (Health Level Seven) एक अन्तर्राष्ट्रिय डेटा मापदण्ड हो जसले विभिन्न सूचना प्रणालीहरूबीच सहज ढंगबाट सम्भव बनाउँछ। नेपालामl मा, EHR वा LIS प्रणालीले HL7 मार्फत प्रयोगशाला, फार्मेसी, रेडियोलोजी, र राष्ट्रिय डिजिटल पहिचान प्रणाली (जस्तै NID) सँग एकीकृत भएर काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । सरकारले ‘HL7 Compatible National Health Information Exchange (HIE)’ को अवधारणा प्रारम्भ गर्ने दिशातर्फ जान आवश्यक छ।
(घ) Inter-hospital Data Exchange:
Digital Nepal ले envision गरेको Health Information Superhighway त्यतिबेला मात्र सम्भव हुन्छ जब एक अस्पतालको सिस्टमले अर्को अस्पताल वा referral center सँग स्वतः जानकारी साटासाट गर्न सक्छ।
यसका लागि देशभरका सरकारी र गैरसरकारी स्वास्थ्य संस्थाहरूलाई interoperability readiness criteria अनुरूप श्रेणीबद्ध गरी stepwise एकीकृत गर्न सकिन्छ।
५. भौतिक संरचना — भीड नियन्त्रणमा अदृश्य तर निर्णायक कारक
अस्पताल भनेको केवल बिरामी राख्ने ‘ठूलो घर’ होइन—यो सघन सेवा दिने संवेदनशील प्रणाली हो, जसका लागि विशेष प्रकारका भौतिक पूर्वाधार चाहिन्छन् । सरकारी अस्पतालहरूमा भीडको व्यवस्थापन नहुनुका पछाडिका कारणमध्ये जिर्ण भौतिक संरचना तथा अप्राविधिक भवन डिजाइन पनि मूल कारणहरू हुन्।
आज धेरै अस्पतालहरू दशकौँ अगाडि बनाइएका भवनमा संचालन भइरहेका छन्, जुन समयको माग, प्रविधिको विकास र सेवा प्रवाहको जटिलता अनुसार अद्यावधिक भएका छैनन्। अर्कोतर्फ, हालै बनेका नयाँ भवनहरूमा समेत मेडिकल इन्जिनियरिङ र अस्पताल प्लानिङका सिद्धान्तहरू गहिरिएर समावेश गर्न सकेको पाइँदैन—जसका कारण OT, ICU, Emergency, OPD, Pharmacy वा Waste Management जस्ता अति संवेदनशील कक्षहरूको स्थान, प्रवाह र परस्पर सम्बन्ध अव्यवस्थित देखिन्छ।
Minimum Service Standard (MSS) को मापदण्डहरू अस्पतालको निरीक्षणको बेला मात्र ‘tick box exercise’ बन्नुहुँदैन। यी मापदण्डहरू भवन बनाउने प्रारम्भिक डिजाइन चरणमै समावेश हुनुपर्छ। उदाहरणका लागि—
– OPD बाट Diagnostics र Pharmacy सम्मको patient flow
– Isolation र Infectious disease wards का लागि separate zoning
-Modular OT प्रणालीका लागि HVAC, sterile zones र movement restriction को व्यवस्था
-Barrier-free access for differently abled individuals
-Medical gas line, waste pipeline, PACS wiring आदि जस्ता अदृश्य तर अत्यावश्यक प्रणालीहरू
यी सबै भवन डिजाइनकै समयमा पूर्व निर्धारित ढाँचामा राखिएन भने, पछि फर्निचर मिलाएर वा रंग रोगन गरेर ‘मानक’ पुरा गर्न सकिन्न।
अस्पताल भवन बनाउनुअघि नै MSS, WHO guidelines, र Medical Architecture principles मा आधारित ‘Functional Design Brief’ तयार गरिनुपर्छ, जसमा सेवा आवश्यकताको प्रक्षेपण (Service Forecasting), जनशक्ति प्रवाह, patient movement र संक्रमण नियन्त्रणका मानक समावेश गरिएका हुन्छन्।
त्यसैले, सरकारी अस्पतालका नयाँ संरचनाहरू निर्माण गर्दा स्थानीय निकाय वा निर्माण इकाइहरूले ‘Design and Estimate’ भन्दा अगाडि नै स्वास्थ्य सेवा विश्लेषणमा आधारित डिजाइन प्रक्रिया (healthcare design process) अपनाउनुपर्ने बाध्यकारी नीति आवश्यक छ।
६. Telemedicine को संस्थागत प्रयोग: टेलिमेडिसिनको उपयोग हामीले संस्थागत पहलमा आशातित रुपमा गर्न सकेका छैनौं । रोग निदानको लागि बिरामी एकपटक अस्पताल आउनै पर्ने भएतापनि सानातिना जटिलता र पुछताछको निम्ति अस्पताल आउनुपर्ने बाध्यतालाई यसबाट न्यूनिकरण गर्न सकिने हो । अहिले पनि हामी व्यक्तिगत चिनजान भएका व्यक्तिहरूलाई सामाजिक संजालको माध्यमबाट सामान्य दुविधामा सहजिकरण गरि नै रहेका छौं तर यसको संस्थागत प्रयोग हुन सक्यो भने यसको उपयोगिता बढ्नेछ । सबै विभागहरूमा टेलिमेडिसिन उत्तिकै प्रभावकारी नभए पनि छाला, मानिसक रोग, बालरोग र नाक कान घाँटी जस्ता विभागमा यो प्रभावकारी हुन सक्छ ।
chronic disease management, basic complaints, re-prescription जस्ता कुरामा टेलिमेडिसिन प्रयोग गरिने institutional policy बनाइनुपर्छ।
७. Chronic Care Scheduling/OT Scheduling : अस्पतालको दक्ष व्यवस्थापन र सेवाको गुणस्तर सुधारका लागि शल्यकक्ष (OT) तालिका व्यवस्थापन प्रणाली र ICU तथा इमर्जेन्सी बेडहरूको Real Time Occupancy को सार्वजनिकरण अनिवार्य जस्तै बनिसकेको छ। OT Scheduling ले कुन बिरामीको अपरेशनको पालो कहिले हो भन्ने अभिलेख राखि चिकित्सक, एनेस्थेसिया टोली, र नर्सिङ स्टाफबीच समन्वय गर्न सहज बनाउँछ। अपरेसनको पालो दिएका बिरामीहरूलाई निश्चित समय पहिले अस्पतालबाट फलोअक कल गर्ने र उक्त बिरामीले अन्तै सेवा लिइसकेको भएमा प्रतिक्षा सुचीमा रहेको बिरामीलाई बोलाउने हो भने ‘अपरेसन स्लट’ हरु खाली जाने थिएनन। यसले अप्रत्याशित ढिलाइ, समय बर्बादी र रद्द हुने OT को संख्या घटाउँछ। त्यस्तै गरी ICU र Emergency कक्षमा कति बेड खाली छन् र कुन अवस्थाका बिरामी छन् भन्ने जानकारीलाई डिजिटल ड्यासबोर्ड देखाउन सकिएमा बेडको निम्ति दशतिर फोन गर्नु पर्ने बाध्यता र तनाव कम हुन सक्छ । त्यस्तै अनुभवी नर्स र प्यारामेडिक्सहरूबाट पनि परामर्शको व्यवस्था गरि । चिकित्सकले जटिल केशमात्र व्यवस्थापन गर्ने हो भने हाम्रै कार्यदक्षता बढ्ने थियो ।
यसका अवाला स्थान, समय र आवश्यकता अनुसार चिकित्सक र स्वास्थ्यकर्मीहरू परिचालन गर्ने गतिशील मानवश्रोत व्यवस्थापन नीति, योगदानमा आधारित उत्प्रेरणा, स्थानिय सरकारको थप अपनत्व र सामूहिक निर्णय प्रणालीको कार्यान्वयनबाट पनि भिड नियन्त्रणका उपायहरू अवलम्बन गर्न सकिन्छ ।
अत: अस्पतालको भिड कम गर्ने होइन कि सेवा पाउने तरिका सरल, सम्मानजनक र प्रवाहयुक्त बनाउने सोच निर्माण गर्ने बेला हो यो। भिडलाई केवल लाइनको लम्बाइले नभई, नागरिकको अनुभव र अस्पतालको प्रतिक्रिया प्रणालीले मापन गर्ने दृष्टिकोण चाहिन्छ।
आज, भिड छ , किनभने हामीले प्रणालीलाई अनुकूल बनाएनौं । भिड व्यवस्थापन गर्नु भनेको सेवा व्यवस्थापन गर्नु हो । र त्यो व्यवस्थापन प्रविधि, नीति, संरचना र सोचको एक समन्वय हो।
भिड हटाउने होइन, भिड घटाउने होइन, भिडलाई बुझ्ने र व्यवस्थापन गर्ने दृष्टिकोणको पुनःपरिकल्पना गरौं। किनकि भिड लक्षण हो, उपचार प्रणालीमा गरिनुपर्ने छ ।
लेखक डा.चापागाईं भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट हुन् । डा.चापागाईंले अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट तथा अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।