नेपालगन्जः बाँकेमा डेंगी र स्क्रवटाइफसको संक्रमण तीब्ररुपमा देखिन थालेको छ । पछिल्लो तीन महिनामा २९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने ८९ जनामा स्क्रवटाइफसको शंकास्पद संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगन्ज, सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस, कान्ति आरोग्य, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका अस्पतालहरुमा डेंगी तथा स्क्रवठाइफसका बिरामीहरु आउनेक्रम बढेका छन् ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेका अनुसार बाँके, बर्दिया, दाङ, कैलाली लगायतका जिल्लाहरुबाट डेंगी र स्क्रवटाइफसक बिरामीहरु अस्पतालमा आइरहेको बताए । डेंगी पहिचानका लागि अचानक ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने लगायतका मुख्य लक्षणहरू रहेको डा.पाण्डे बताउँछन् । यस्ता बिरामीका मांसपेशी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।
सामान्यतया डेंगी भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसमा कुनै लक्षण देखिँदैन वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य लक्षण मात्र देखिने चिकित्सकहरु बताउँछन् । संक्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्छ भने तीमध्ये निकै कमको मात्र मृत्यु हुने गर्छ । यो रोग छिप्पन ३ देखि १४ दिनसम्म लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनसम्ममा पूर्णता पाउने चिकित्सकहरु बताउँछन् ।
प्रायः बालबालिकामा डेंगी संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन् । कान्ति आरोग्य हस्पिटलमा कार्यरत बालरोग विशेषज्ञ डा.रोमा बोराले पनि डेंगी र स्क्रवटाइफसको संक्रमण भएका बालबालिका हस्पिटलमा आउनेक्रम बढेको बताइन् । उनले भनिन्–‘लामखुट्टेको प्रभाव क्षेत्रमा डेंगीको जोखिम बढी हुन्छ ।’
डेंगी संक्रमण भएका बालबालिका दैनिक हस्पिटलमा आइरहेका छन् । उनले डेंगीमात्र नभएर स्क्रवटाइफसको संक्रमण भएका बालबालिका पनि हस्पिटलमा आइरहेको बताइन् । उनले भनिन्–‘स्क्रवटाइफस साना कीराहरूको टोकाइबाट सर्ने एक संक्रामक रोग हो । प्रारम्भिक लक्षणहरू अन्य साधारण ज्वरोसँग मिल्दोजुल्दो भएका कारण समयमै परीक्षण नगरेमा स्थिति गम्भीर बन्न सक्छ ।’
स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो तीन महिनामा बाँकेमा २९ जनामा डेंगीको संक्रमण देखिएको छ । ५२८ नमुना परीक्षण गरिएकोमा २९ जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमले बताइन् । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका १८ जना र कोहलपुर नगरपालिकाका ११ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले बताइन् ।
तीमध्ये भेरी अस्पतालमा १९ जनाको उपचार गरिएको छ भने मेडिकल कलेज कोहलपुरमा ३ जनाको उपचार गरिएको छ । त्यसैगरि ७२९ जनाको स्क्रवटाइफसको नमुना परीक्षण गरिएकोमा ८९ जनाको शंकास्पद लक्षण चिन्ह देखिएको उनले बताइन् । गत वर्ष बाँकेमा ९ हजार ९३८ नमुना परीक्षण गर्दा ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
नेपालगन्ज र कोहलपुरका ठूला अस्पतालहरुमा अन्य जिल्लाबाट बिरामीहरु आउने भएकाले अस्पतालका बेडहरुमा डेंगी र स्क्रवटाइफसका बिरामीहरु धेरैछन् । डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डा.पाण्डे भन्छन्–‘डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ ।
गर्मी एवम् वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।’ स्क्रबटाइफसको लक्षण र संकेत सामान्यतया सङ्क्रमणको ६ देखि १४ दिनपछि देखा पर्न थाल्छन् । प्रारम्भिक लक्षण ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ र थकान हुन्छन् । साथै अन्य लक्षण र संकेतहरु पनि देखा पर्ने डा.बोरा बताउँछिन् ।
डेंगुबाट कसरी बच्ने ?
डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औंषधि छर्नुपर्छ ।
स्क्रबटाइफसबाट कसरी बच्ने ?
स्क्रबटाइफस फैलिने मुख्य क्षेत्रहरू झाडी, घाँस, र जंगलहरु हुन् । त्यसैले त्यहाँ जाँदा सम्भव भएसम्म खुला र सुरक्षित स्थानमा बस्नुपर्छ । लामो बाहुला भएको सर्ट, प्यान्ट, टोपी र जुत्ता लगाउनाले शरीरलाई कीराको टोकाइबाट जोगाउन मद्दत गर्छ । डीईईटी वा पर्मेथ्रिन जस्ता प्रभावकारी कीटनाशकको प्रयोगले शरीरलाई जुकाबाट जोगाउन सक्छ । कपडामा कीटनाशक स्प्रे गर्नु पनि लाभदायक हुन्छ । कतै घुमफिर गरेर आएपछि शरीरको सम्पूर्ण भागको राम्रोसँग जाँच गर्नुपर्छ, ताकि कीराहरु टाँसिएको भएपनि चाँडै हटाउन सकियोस् ।