लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख प्रेषण अस्पतालका रुपमा रहेको भेरी अस्पताल नेपालगन्ज स्थापनाको १३५ वर्ष पुगेको छ । वि.सं. १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रुपमा स्थापना भएको भेरी अस्पताल २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो । समयसँगै अस्पतालमा बिरामी बढ्दै गएपनि अपेक्षित रुपमा सेवा थप्न नसकेको अस्पतालले कोरोनापछि भने योजनाबद्ध ढंगले योजना बढाएर अघि बढेको छ । चाहे त्यो अस्पतालबाट उपलब्ध हुने सेवा होस् वा पूर्वाधार, उपकरण र जनशक्ति । अस्पतालले आम नागरिकको विश्वास मात्रै जित्दै गएको छैन त्यसलाई बढाउन र कायम राख्नका लागि स्तरोन्नती पनि गर्दै आएको छ । पश्चिम नेपालको केन्द्र मानिने सहर नेपालगन्जमा निजी अस्पताल थपिंदै र सेवाहरु थप्दै गर्दा भेरी अस्पतालले पनि त्यो गतिलाई सँगसँगै अगाडि बढाउने प्रयास गरेको देखिन्छ । केन्द्रीय सरकारको प्राथमिकतामा नपरेका कारण अस्पतालले चाहे जति प्रगति गर्न नसकेको यथार्थ नै हो । काठमाडौंको वीर अस्पताल र भेरी एकै बर्षमा स्थापना भएका अस्पताल हुन् । तर, वीरको सेवा र भेरीको सेवामा तुलना गर्न मिल्ने अवस्था नै छैन । त्यसको कारण सरकारमा दल फेरिंदै गए तर भेरी अस्पतालको स्तरोन्नतीमा ध्यान नै दिइएन । उसो त वीर अस्पताल पनि नेपालका अन्य अस्पतालबाट रेफर गरिने अस्पताल चाही होइन । त्यसो नभएपनि वीर यति अगाडि छ कि भेरीसँग तुलना नै गर्न मिल्दैन । भेरी अस्पतालले विगत ५–७ बर्षमा स्वास्थ्य सेवामा तुलनात्मक प्रगति गर्दैछ । यसै सन्दर्भमा स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकाल र समिरमान श्रेष्ठले भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीसँग कुराकानी गरेका छन् ।
भेरी अस्पताल स्थापनाको १३५ वर्ष पुग्यो, कस्तो महसुस भइरहेको छ ?
स्वभाविक रुपमा उत्साहित नै छौं । पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालको प्रशासनिक नेतृत्वका हिसावले अस्पताललाई यो उचाइँसम्म पुर्याउनकालागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल विकास समिति, यहाँका राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज सबैप्रति अनुग्रहित छु । यो अस्पतालको एतिहासिक महत्व छ । स्थापनाको १३५ वर्ष भनेको लामो समय हो । त्यसैले पनि यसको महत्व र गरिमा स्वास्थ्य क्षेत्रमा पश्चिम नेपालकै लागि भेरी अस्पताल एउटा पहिचान हो ।
भेरी अस्पतालमा तपाईले नेतृत्व सम्हालेको आज १० महिना तीन दिन भयो ? के कस्ता कामहरु भए ?
भेरी अस्पतालको नेतृत्व सम्हालेको मैले २०८१ असोज ९ गते हो । तपाईले भनेजस्तै १० महिना तीन दिनको यो अवधिमा थुप्रै सुधारका प्रयासहरु भएका छन् । खासगरी नेतृत्व सम्हालेपछि मैले तीन वटा विषयलाई प्राथमिकता दिएर काम गरेको हुँ । पहिलो अस्पतालको आर्थिक सुशासन, दोस्रो भनेको अस्पतालको सेवा प्रवाहमा विस्तार र गुणस्तर, तेस्रो भनेको अस्पताललाई शैक्षिक गतिविधिमा अब्बल बनाउने । यो तीन वटै कुराहरुमा सकारात्मक परिवर्तन आएको छ भन्ने मलाई लाग्छ ।
त्यसो भए बुँदागत रुपमा कुरा गरौंन ।
आर्थिक सुशासनको पाटोलाई कसरी व्यवस्थित बनाइयो ?
मैले भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड (मेसु)को जिम्मेवारी सम्हाल्दा करिव २२ करोड दायित्व थियो । त्यसमा बीमाबाट ६–७ करोड आउन बाँकी भएपनि करिव १५ करोड अस्पताल विकास समितिकै नाममा थियो । ०८१/०८२ को बजेट पनि अघिल्लो आर्थिक वर्षको दायित्व तिर्नमै ठिक भयो । मैले मेसुको पद सम्हाल्दा उक्त शीर्षकमा बजेट नै थिएन् । त्यसको बाबजुत पनि अहिले अस्पताल ३–४ करोड नाफामा देखिन्छ । बीमाको दावी गरेको रकम आउने हो भने करिव १२ करोड नाफामा देखिन्छ । यो अवस्थाले हेर्ने हो भने १५ करोड घाटामा रहेको अस्पताल अहिले १२ करोड फाइदामा पुग्नु भनेको धेरै नै सुधार हो ।
यो कसरी सम्भव भयो ?
सबै कामहरु नियम संगत गरिएको छ । सार्वजनिक खरिद ऐनलाई टेकेर काम गरिएको छ । लेखाको टिम नै परिवर्तन गरियो । फार्मेसीमा हेरफेर गरियो । हाम्रो एउटै एजेण्डा थियो अस्पतालमा आर्थिक सुशासन ल्याउनै पर्छ । सबैको सहयोगले यो सम्भव भएको हो ।
अस्पतालको आम्दानीको स्रोत के हो ?
अस्पतालको आम्दानीको स्रोत मुख्यगरी चार वटा हुन्छन् । पहिलो चेकजाँच (टेस्ट), रगतबाट विभिन्न जाँचहरु गरिन्छ । रगत जाँच गरेवाफत बिरामीहरुले पैसा तिर्नुहुन्छ । त्यो अस्पतालको प्रमुख आम्दानीको स्रोत हो । दोस्रो भनेको अस्पताल फार्मेसी । जहाँ बिरामीहरुले औंषधि किन्नु हुन्छ । त्योबाट अस्पतालले निश्चित आम्दानी गर्छ । तेस्रो भनेको रेडियोलोजी । अस्पतालमा आउने बिरामीहरुले एमआरआइ, अल्ट्रासाउण्ड, सिटिस्क्यान गर्नुहुन्छ । त्योबाट पनि अस्पतालले आम्दानी गर्छ । चौथो भनेको इन्टरभेन्सन । जस्तै शल्यक्रिया, इन्डस्कोपी, इको, एन्जियोप्लाष्टि गरिन्छ त्यो पनि स्रोत हो । शल्यक्रिया, रेडियोलोजी भन्दा पनि टेस्ट र अस्पताल फार्मेसी नै अस्पतालका मुख्य स्रोत हुन् ।
रेडियोलोजी विभागमा समस्या छ भनिन्छ नी ?
रेडियोलोजी विभागमा सिटिस्क्यान मेसिनको अभाव छ । अस्पताल विकास समितिसँग एक करोड रुपैयाँ नहुँदा एक वर्षसम्म सिटिस्क्यान मेसिन नै भएन् । अहिले संघीय बजेटमै सिटिस्क्यान मेसिनको बजेट विनियोजन भएको छ । त्योबाहेक रेडियोलोजी विभागमा चार वटा अल्ट्रासाउण्ड मेसिन छन् । दुई वटा मेसिन राम्रो छन् । तर अन्य दुई वटा मेसिन भने जुन लेभलको हुनुपर्ने हो त्योअनुसार छैनन् । एउटा मेसिनका लागि संघीय सरकारबाट बजेट आइसकेको छ । चालू आर्थिक वर्षमै टेण्डर गरेर खरिद पनि गर्छौं । अर्को मेसिनका लागि पनि पहल भइरहेको छ ।
भेरी अस्पताललाई कम्तिमा पाँच सय शैया आवश्यक हो । त्यति नभएपनि कम्तीमा तीन सय शैयाको स्वीकृति पाउने हो भने र जनशक्तीको व्यवस्थापन हुने हो भने भेरी अस्पतालले धेरै राम्रो गर्न सक्छ ।
अस्पतालले विशिष्टिकृत सेवाहरु पनि थप्दै लगेको छ नि ?
मुटु, मिर्गौला, हाडजोर्नी, युरो, ग्यास्ट्रोसर्जरी लगायतका विभागबाट विशिष्टिकृत सेवा प्रवाह भइरहेको छ । पछिल्लो पटक मिर्गौला प्रत्यारोपणको पनि सफलतापूर्वक शल्यक्रिया गरिएको छ । यस्तै सिकलसेल तथा थालेसिमियाका बिरामीहरुका लागि ६ बेडको छुट्टै डे केयर वार्ड स्थापना गरिएको छ । लामो समयदेखि डे केयर वार्डको माग हुँदै पनि आएको थियो । यसले बिरामीहरुलाई धेरै सहज बनाएको छ । पहिलेपहिलो भुइँमा सुताएर बिरामीलाई रगत चढाउनु पर्ने अवस्था थियो । त्यसको अन्त्य भएको छ । त्यसैगरि जेरियाट्रिक वार्ड, जलन वार्ड, नयाँ ओटीको सञ्चालन, नयाँ पोष्टअपरेटिव वार्ड, प्रसूति विभागको ६ शैयाको पोष्टअपरेटिव वार्डलाई १२ शैया बनाइएको छ । त्यसैगरि अप्रेशन थिएटरलाई दोब्बर बनाइएको छ ।
बिरामीको चापको अनुपातमा हाम्रा सेवाहरु कस्ता छन् ?
संघीय सरकारले भेरी अस्पताललाई केवल एक सय शैयाको मात्रै स्वीकृत दिएको छ । अस्पताल विकास समितिबाट ५० शैयाँको गरेर एक सय ५० शैया हो । तर हामीले तीन सय बेडको चलाइरहेका छौं । दैनिक ५–७ सय बिरामी आउने अस्पतालमा यो एकदमै कम हो । त्यहीं भएर कहिलेकाँही गुणस्तरिय सेवा प्रवाहमा समस्या आउने गरेको छ । जनशक्तीको अभाव र स्रोतसाधनको अभावका कारण सेवाग्राहीले अपेक्षित सेवा नपाउँदा समस्या आउने गरेको छ । भेरी अस्पताललाई कम्तिमा पाँच सय शैया आवश्यक हो । त्यति नभएपनि कम्तीमा तीन सय शैयाको स्वीकृति पाउने हो भने र जनशक्तीको व्यवस्थापन हुने हो भने भेरी अस्पतालले धेरै राम्रो गर्न सक्छ ।
सेवाहरु विस्तार त भए, तर त्यसको दीर्घकालिन्ता के छ ?
अहिलेसम्म जति पनि नयाँ सेवाहरु थप भएका छन् ती सबै अस्पताल विकास समितिबाटै भएका छन् । लुम्विनी प्रदेशमा एउटा मात्रै संघीय अस्पताल भनेको भेरी हो । यदी भेरी अस्पतालले सेवा थप गरेन भने बिरामीहरु कि काठमाडौं जानु पर्छ कि त भारतखको लखनउ । त्यसैले पनि भेरी अस्पतालले आर्थिक अनुशासनका साथ सेवाहरु थप गरेको छ ।
सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद गर्दा सबैभन्दा सस्तोमा जस्ले औंषधि दिन्छ त्यही कम्पनीको औषधि अस्पतालले खरिद गर्नुपर्ने हुन्छ । कतिपय औषधिप्रति डाक्टरहरुले पनि विश्वास गर्नुहुन्न् । अर्को कम्पनीको औषधि लेखिदिनुहुन्छ । त्यो औषधि फार्मेसीमा नपाउन सकिन्छ ।
विशिष्टिकृत अस्पताल भएपनि अझैपनि बिरामीहरु उपचारका लागि भारत तथा काठमाडौं जाने गरेका छन् नी ?
यसमा अलिकति अगाडि फर्केर हेर्नु पर्छ भन्ने मलाई लाग्छ । सशस्त्र द्धन्द्धमा नेपालमा स्वास्थ्य क्षेत्रमा खासै लगानी हुन सकेको थिएन् । स्वास्थ्य क्षेत्रमा सेवा सुविधा खासै थिएन पनि । सरकारी अस्पताल भनेका त्यस्तै त हुन भन्ने मनोभावना भयो । अर्को कुरा सरकारी अस्पतालमा देखिने भीड पनि हो । भेरी अस्पतालमा आयो भने जताततै भीड देखिन्छ । भीड बढ्नु भनेको अस्पतालप्रतिको विश्वास हो । त्यो भीड देखेर पनि पालो आउँदैन कि भनेर सेवाग्राहीहरु भारतको लखनउ वा अन्य ठाउँमा गएको देखिन्छ ।
भेरी अस्पतालमा लाग्ने भिडलाई व्यवस्थित किन सकिदैन ?
भेरी अस्पतालप्रतिको यो बढ्दो विश्वास हो । चिकित्सकहरु अत्यन्तै प्राज्ञिक हुनुहुन्छ । अर्को कुरा सस्तो पनि छ । एउटा पित्तथैलीको शल्यक्रिया गर्नुपर्यो भने यहाँ १५ हजार लाग्छ भने त्यहीं काम निजी अस्पतालमा गर्दा तीन गुणासम्म खर्च लाग्छ । अर्को कुरा बीमा कार्यक्रमले पनि भीड बढाएको छ । त्यसैले यसलाई व्यवस्थापन गर्ने भन्दा पनि अस्पतालप्रतिको बढ्दो विश्वासका रुपमा लिनुपर्छ । हामीले क्वालिटी दिनका लागि नम्वर फिक्स गर्नुपर्ने हुन्छ । जस्तैः बेलायतमा एउटा डाक्टरले ७–८ जना भन्दा बढी बिरामी हेर्दैन् । यदी हाम्रोमा नम्वर फिक्स गर्ने हो भने ओपिडीमै महिनौ दिन पालो कुर्नु पर्ने अवस्था आउँछ । तथापि भीड त कहिले कम गर्न सकिन्छ ।
चिकित्सकहरुले लेखेको औंषधि अस्पताल फार्मेसीबाट पाएनौं भन्ने बिरामीको गुनासो छ, किन ?
भेरी अस्पताल सार्वजनिक सरकारी संस्था हो । अस्पतालले आवश्यक सामाग्री सार्वजनिक खरिद ऐनलाई मान्नै पर्ने हुन्छ । सार्वजनिक खरिद ऐनको दफा ६४ मा औषधि खरिदमा कुनैपनि ब्राण्ड तोक्न नमिल्ने स्पष्ट उल्लेख गरिएको छ । हामीले अस्पतालबाटै ब्राण्ड तोक्ने प्रयास नगरेको होइन् । अव ऐनसँग नै बाझिने गरी औषधि खरिद गर्न नमिल्ने । सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद गर्दा सबैभन्दा सस्तोमा जस्ले औंषधि दिन्छ त्यही कम्पनीको औषधि अस्पतालले खरिद गर्नुपर्ने हुन्छ । कतिपय औषधिप्रति डाक्टरहरुले पनि विश्वास गर्नुहुन्न् । अर्को कम्पनीको औषधि लेखिदिनुहुन्छ । त्यो औषधि फार्मेसीमा नपाउन सकिन्छ ।
केही वर्ष अघिसम्म भेरी अस्पतालमा अनड्युटीमा हुने एक जना मात्रै डाक्टर हुनुहुन्थ्यो । तर अहिले भने ६ जना डाक्टरसावहरु हुनुहुन्छ । तीन जना एमविविएस र तीन जना रेजिडेन्ट । राती १२ बजे बिरामी आएपनि इमरजेन्सीमा, अर्थोमा, सर्जरी, मेडिसिन, आइसीयू र वार्डमा बिरामीले दुःख पाउने अवस्था रहेन् ।
काठमाडौंको वीर अस्पताल र भेरी एकै बर्षमा स्थापना भएका अस्पताल हुन् । वीर कहाँ पुगिसक्यो भेरी किन पछाडि ?
वीर अस्पतालसँग भेरी अस्पतालको तुलना गर्न सकिदैन् । धेरै पछाडि स्थापना भएको भरतपुर अस्पताल समेत अगाडि छ । छिमेकी प्रदेशका अस्पतालहरुले पनि राम्रो प्रगति गरेका छन्् । कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला, घोराहीको राप्ती विज्ञान प्रतिष्ठान समेत अगाडि बढी सकेको अवस्था छ । भौगोलिक हिसावले पनि ती अस्पतालहरुले फड्को मारेको देखिन्छ । जस्तो त्यहाँका राजनीतिक नेतृत्वलाई ती अस्पतालहरु स्तरिय बनाउनै पर्ने दवाव देखिन्छ । तर भेरी अस्पताल भारतको लखनउसँग दूरीको हिसावले अत्यन्तै नजिक छ । त्यो हिसावले जस्को बोली केन्द्रीय राज्यसत्ताले सुन्दछ उहाँहरुलाई भेरी अस्पताल प्राथमिकतामा परेन की झै लाग्छ । जसका कारण भेरीले अपेक्षित उपलब्धी हासिल गर्न सकेन् । अन्य ठाउँ जस्तो दाङ, सुर्खेत, जुम्लाका लागि विकल्पै छैन । त्यहाँ जसको बोली केन्द्रीयतहमा सुनिन्छ । त्यहाँ राम्रोसँग कुरा राख्नुभयो । ती अस्पतालहरु अगाडि बढ्दै गए ।
भेरी अस्पतालमा एमडीएमएस कार्यक्रम पनि सुरु भयो नी हैन ?
हो, भेरी अस्पतालमा एमडीएमएस कार्यक्रम सुरु भएको छ । भेरी अस्पतालको नेतृत्व सम्हालेको भोलिपल्टै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग भेरी अस्पतालमा एमडीएमएस कार्यक्रम संचालनका लागि सम्झौता गरियो । त्यहाँको एकेडेमिक काउन्सिलबाट उक्त सम्झौतालाई पारित गरियो र सिनेटबाट भेरी अस्पतालका कन्सल्टेन्ट डाक्टरहरुलागि ५४ वटा प्राज्ञिक पद सिर्जना भयो । भेरी अस्पतालका ११ जना कन्सल्टेन्ट डाक्टरहरुले प्राज्ञिक पद प्राप्त गर्नुभएको छ । त्यही प्राज्ञिक पदका कारण भेरी अस्पतालमा अहिले मेडिसिनका दुई, अर्थोपेडिकमा दुई र सर्जरीमा दुई जना रेजिडेन्ट डाक्टरसाव आउनुभएको छ । गाइनेमा मंसिरदेखि पढाइ सुरु हुन्छ । यो हिसावले यो वर्षमा चार वटा विषयमा एमडीएमएस कार्यक्रम सञ्चालन गर्न सकिएको छ यो ठूलो कुरा हो ।
एमडीएमएस कार्यक्रमपछिको फाइदा के हो ?
यसमा चिकित्सकको आँखाबाट हेरौं । प्रत्येक वर्ष एमडीएमएस अध्ययनका लागि ७–८ हजार जनाले जाँच दिनुहुन्थ्यो । तर अध्ययन गर्न पाउने भनेको ६–७ सय जनाले मात्रै हो । बाँकी कि अर्को वर्ष प्रतिक्षा गर्नुपथ्र्यो कि अध्ययनका लागि बाहिर जानु पथ्र्यो । कन्सल्टेन्ट डाक्टर भएका र बिरामी पनि भएका अस्पतालहरुमा एमडीएमएस गर्दा सिक्ने भनेको आफ्नो सिनियर डाक्टर र बिरामीबाटै हो । स्वास्थ्यमन्त्री ज्यूले यही कारणले पनि संघीय अस्पतालहरुमा एमडीएमएस कार्यक्रम संचालनमा तदारुपता देखाउनुभएको हो । भेरी अस्पतालमा एमडीएमएस कार्यक्रम नभएको भए ७–८ जना चिकित्सकहरुले एमडीएमएस गर्नै पाउनुहुन्थेन । त्यस्तै अन्य संघीय अस्पतालहरुमा जहाँ एमडीएमएस कार्यक्रम सुरु भएको छ त्यहाँ पनि थुप्रै डाक्टरसावहरुले अध्ययन गरिरहनुभएको छ । हो हिसावले चिकित्सकका लागि धेरै फाइदा पुगेको छ । अस्पताल र बिरामीलाई पनि फाइदा छ । केही वर्ष अघिसम्म भेरी अस्पतालमा अनड्युटीमा हुने एक जना मात्रै डाक्टर हुनुहुन्थ्यो । तर अहिले भने ६ जना डाक्टरसावहरु हुनुहुन्छ । तीन जना एमविविएस र तीन जना रेजिडेन्ट । राती १२ बजे बिरामी आएपनि इमरजेन्सीमा, अर्थोमा, सर्जरी, मेडिसिन, आइसीयू र वार्डमा बिरामीले दुःख पाउने अवस्था रहेन् । कन्सल्टेन्ट डाक्टरसाव राती आउन गाह्रो भएपनि रेजिडेन्ट डाक्टर त तत्काल आइहाल्नु हुन्छ । यसले गर्दा अस्पतालको सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको छ ।
भेरी अस्पतालमा तपाईको पहिलो प्रशासकीय अनुभव हो, तपाईको विज्ञता एउटा सर्जनका रुपमा हामी बुझ्दछौं । खास तपाईलाई शल्यक्रिया गर्दा आनन्द लाग्थ्यो की अव प्रशासकीय भूमिका नै ठिक लागि रहेको छ ?
यहाँसम्म आइपुगेको भनेको म सर्जन कै कारण हो । आफुलाई आनन्द आउने भनेको शल्यक्रिया गर्दा नै हो । जव बिरामीको शल्यक्रिया गर्यो उसले दिने माया तुलनानै हुदैन । सर्जनका रुपमा काम गर्दा एउटा विरामीलाई मात्रै सेवा दिन सक्थे भने अहिले म जुन कुर्चीमा बसिरहेको छु त्यहाँबाट धेरै बिरामीलाई सहजता हुने काम गरिरहेको छु । किनभने नीतिगत सुुधारको जिम्मेवारीमा पनि भएकाले बिरामीमैत्री सेवा प्रवाहको निमित्त काम गरिरहेको छु । व्यक्तिगत रुपमा भन्नुहुन्छ भने आनन्द मिल्ने भनेको त शल्यक्रिया गर्दा नै लाग्थ्यो ।