पोषणमैत्री स्थानीय शासनतर्फ राप्तीसोनारीको अग्रसरता

    • स्वास्थ्य पेज

  • १० श्रावण २०८२, शनिबार

नेपालगन्जः पोषणमैत्री स्थानीय शासनका लागि नीति तथा प्रक्रियागत कार्यान्वयनलाई सुदृढ बनाउने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकामा ‘गाउँपालिकास्तरीय नीतिगत अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । स्थानीय शासन प्रणालीले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने कुरालाई स्पष्ट उल्लेख गरेपछि गाउँपालिकाले यसलाई संस्थागत बनाउन कदम चालेको हो ।

शनिबार, आइतबार र सोमबारसम्म आयोजित उक्त कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता छ । कार्यक्रम उद्घाटन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पोषणका सवालमा पालिकाले स्पष्ट नीतिगत संरचना निर्माण गर्ने बताए ।

उनले भने, ‘हामीले अब भावनात्मक र आकस्मिक कार्यक्रम होइन, दीर्घकालीन प्रभाव पार्ने नीति निर्माण गर्नुपर्छ । पोषण सुदृढीकरणको विषयमा हामीलाई निर्देशित गर्ने योजना तथा कार्यक्रमलाई कार्यान्वयनमै ल्याउन यो अभिमुखीकरण सहयोगी हुनेछ ।’

उनका अनुसार पालिकाले विगतमा पोषणसँग सम्बन्धित केही गतिविधिहरू गरे पनि त्यसलाई संस्थागत नीतिअन्तर्गत सञ्चालन गर्ने प्रयास भएको छ । अब भने नीति निर्माण, बजेट विनियोजन र अनुगमन प्रणालीलाई सुदृढ बनाइने पौडेलको भनाइ थियो । उपाध्यक्ष मनिषा सिंह थारुले पोषणको अवस्था सुधार्न नीति मात्र होइन, महिला तथा बालबालिकामाथि केन्द्रित कार्यक्रमहरूको आवश्यकता रहेको बताइन् ।

‘पोषणको विषय महिलासँग जोडिएको छ । जबसम्म महिलाको अवस्था सशक्त हुँदैन, तबसम्म घरघरमा पोषणको पहुँच सुनिश्चित गर्न सकिँदैन,’ थारुले भनिन्, ‘गर्भवती र सुत्केरी महिलालाई लक्षित कार्यक्रम, किशोरीमैत्री स्वास्थ्य सेवा, आङनबारीको सुदृढीकरण, यस्ता क्षेत्र अब हाम्रा प्राथमिकतामा छन् ।’

कार्यक्रममा सहभागी कर्मचारी र सरोकारवालाहरूले नीति निर्माण प्रक्रिया र त्यसको प्रभावकारी कार्यान्वयनका पक्षमा विभिन्न सुझावसमेत दिएका थिए । सहभागीहरूले नीतिगत अभ्यासमा समुदायको सहभागिता, पारदर्शिता र नियमित अनुगमन व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

पोषणमैत्री शासन नीति कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता
राप्तीसोनारी गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन नीतिको प्रभावकारी कार्यान्वयन तथा घोषणाका लागि सामूहिक प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका विभिन्न सरोकारवालाहरू जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बालबालिका समूह, स्वास्थ्यकर्मी, शिक्षक, किसान, सञ्चारकर्मीलगायतको उपस्थितिमा पोषण नीति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

पोषण नीति र रणनीतिको स्थानीयकरण र कार्यान्वयनमा सहयोग गर्ने, पोषणसँग सम्बन्धित सेवा प्रवाहमा सुधार ल्याउने, महिला, बालबालिका, किशोरी तथा दुर्गम क्षेत्रका समुदायको पोषणस्तर सुधारका लागि एकीकृत पहल गर्ने र पोषणका क्षेत्रमा कार्यरत सबै पक्षबीच सहकार्य र समन्वय गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागी सबै निकायका प्रतिनिधिहरूले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी पोषणमैत्री स्थानीय शासन नीतिलाई व्यवहारमा उतार्न सहकार्य गर्ने प्रण गरे । कार्यक्रममा पोषण सुधारका लागि पालिकाले चालु वर्षदेखि बालमैत्री योजना, सुरक्षित मातृत्व सेवा, विद्यालय स्वास्थ्य कार्यक्रम, सुरक्षित खानेपानी तथा सरसफाइलगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्ने घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख देवेन्द्रकुमार केसीले जानकारी दिए ।

  • १० श्रावण २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech