नेपालगन्जः भेरी अस्पताल नेपालगन्जले आँखा उपचार सेवालाई थप व्यवस्थित र विस्तार गरेको छ । आँखा उपचारका लागि छुट्टै शल्यक्रिया कक्ष स्थापना गरिएको छ भने ६ दिन नै माइनर ओटी सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदी बताउँछन् ।
नयाँ ओटी कक्षबाट मंगलवार बैजनाथ र राप्तीसोनारीका दुई जना बिरामीको आँखाको टेरिजियम सर्जरी गरिएको आँखा विभागका प्रमुख समेत रहेका नेत्ररोग विशेषज्ञ डा.रमेश भण्डारीले जानकारी दिए । ‘अव माइनर ओटीका लागि पालो कुर्नु पर्दैन डा.भण्डारीले भने–‘हामी ६ दिन नै शल्यक्रिया सेवा दिन सक्छौं ।’
यसअघि ओपिडी सेवा ६ दिन भएपनि शल्यक्रिया कक्षको अभावमा समय कुर्नु पर्ने अवस्था थियो । नेत्र रोग विशेषज्ञ डा.भण्डारीको नेतृत्वमा नेत्ररोग विशेषज्ञहरु डा.कृष्णादेवी श्रेष्ठ र डा.दामोदर पुडासैनीको टिमले ओपिडी तथा शल्यक्रिया सेवा दिँदै आएको छ । त्यसमा दृष्टि विशेषज्ञ यादव पौडेल, पवित्रा चौधरी, शारदा चौधरी, नेत्र सहायक राम अग्रहरी, शेखर थापा र सहयोगी जमुना चदारा पनि टिममा रहेका छन् ।
भेरी अस्पतालको ओपिडीमा आँखा उपचारका लागि दैनिक ३०–३५ जना बिरामी आउने गरेका छन् । आँखाका विभिन्न समस्या लिएर आउनेहरु मध्ये शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई त्यसैदिन अव उक्त सेवा दिन सकिने डा.भण्डारी बताउँछन् ।