- विद्यालयहरू केवल शिक्षण संस्थान मात्र नभई समाजप्रति उत्तरदायी निकाय पनि हुनुपर्छ भन्ने सन्देश पनि दिएको छ ।
- विद्यालयमै प्राथमिक उपचार कक्ष स्थापना गर्ने अभ्यास सुरुवात ।
- विद्यालयहरूमै थर्मोमिटर, रक्तचाप नाप्ने यन्त्र, पट्टि, आवश्यक औषधि र स्यानिटाइजरसहितको उपचार सामग्री उपलब्ध ।
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोमा अवस्थित सगरमाथा इङ्लिस बोर्डिङ माध्यमिक स्कुलले विद्यार्थी तथा शिक्षकशिक्षिकालाई लक्षित गर्दै एक महत्ववपूर्ण सामाजिक सुरक्षात्मक कदम चालेको छ । विद्यालयले झन्डै आठ सयभन्दा बढी विद्यार्थी र सम्पूर्ण शिक्षक स्टाफको लागि दुर्घटना बीमा योजना सुरु गरेको हो । जसअनुसार दुर्घटनामा परेमा एक लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ । विद्यालय प्रशासनका अनुसार यो योजना लागु भइसकेको छ ।
विद्यालयका संस्थापक कृष्ण जिसीले भने, ‘हाम्रो उद्देश्य मात्र पठनपाठनमा सीमित होइन, विद्यार्थी र शिक्षकहरूको समग्र सुरक्षामा पनि केन्द्रित छौं । आकस्मिक दुर्घटनामा स्वास्थ्य उपचारको खर्च ठूलो हुन सक्छ भन्ने सोचेर हामीले बीमाको व्यवस्था गरेका हौं ।’ बीमा योजनाले अभिभावकहरूलाई समेत आश्वस्त बनाएको छ । अभिभावक भन्छन्, ‘अहिलेका दिनमा कुनै पनि दुर्घटना भयावह हुन सक्छ । यस्तो बीमा हुँदा मनमा ढुक्क हुन्छ कि उपचारमा ढिलो हुने छैन ।’
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पनि यसलाई सकारात्मकरूपमा लिएका छन् । कक्षा ८ की छात्रा स्वस्तिका गौतम भन्छिन्, ‘हामी खेलकुद, परेडजस्ता क्रियाकलापमा संलग्न हुन्छौं । चोटपटक लाग्न सक्छ, तर बीमा भएकाले अब हामी नडराई खुला रूपमा भाग लिन सक्छौं ।’ सामान्यतया निजी विद्यालयहरूले शिक्षण गतिविधिमा मात्र ध्यान दिने परिपाटीबीच सगरमाथा इङ्लिस बोर्डिङ माध्यमिक स्कुलको यस्तो कदम अनुकरणीय बन्न पुगेको छ ।
स्वास्थ्य सुरक्षालाई शिक्षासँग जोडेर अघि बढ्नु नेपालगन्जका अन्य विद्यालयहरूका लागि पनि उदाहरण हुनसक्ने स्थानीय शिक्षा अधिकृतको भनाइ छ । सगरमाथा इङ्लिस बोर्डिङ माध्यमिक स्कुलको यो सामाजिक उत्तरदायित्वयुक्त कदमले विद्यार्थी, शिक्षक र अभिभावक सबैमा विश्वास र सुरक्षाको भावना थप बलियो बनाएको छ । सँगसँगै, विद्यालयहरू केवल शिक्षण संस्थान मात्र नभई समाजप्रति उत्तरदायी निकाय पनि हुनुपर्छ भन्ने सन्देश पनि दिएको छ ।
विद्यालयमै प्राथमिक उपचार कक्ष :
विद्यार्थीको स्वास्थ्यमा गम्भीर बन्दै शिक्षालय विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील हुँदै बाँके जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यालयमै प्राथमिक उपचार कक्ष स्थापना गर्ने अभ्यास सुरु गरेका छन् । यस कार्यको अगुवा बनेको छ, नेपालगन्ज–१८, स्थित सगरमाथा इङ्लिस बोर्डिङ माध्यमिक स्कुल, जसले २०७४ सालमै बाँके जिल्लामा पहिलोपटक यस्तो कक्ष सञ्चालन गरेर नयाँ पहलकदमीको थालेको थियो ।
अहिले यस्तो अभ्यास सगरमाथामा मात्र सीमित छैन । अन्य सामुदायिक तथा संस्थागत विद्यालयसम्म पुगेको छ । सगरमाथा इङ्लिस बोर्डिङ माध्यमिक स्कुलका संस्थापक कृष्ण जिसीका अनुसार, विद्यालयमा अध्ययनरत बालबालिकालाई स–साना चोटपटक, चक्कर, टाउको दुखाइजस्ता सामान्य स्वास्थ्य समस्या परेमा तत्काल राहत दिन सकियोस् भन्ने उद्देश्यले प्राथमिक उपचार कक्ष स्थापना गरिएको हो । ‘शिक्षा मात्र होइन, विद्यार्थीको स्वास्थ्य पनि हाम्रो प्राथमिकताको विषय हो,’ जिसीले भने, ‘२०७४ सालमा जब हामीले यो सुरु गर्यौं, धेरैले यसलाई विशेष आवश्यकता नै मानेनन् । तर अहिले धेरै विद्यालयले त्यसको आवश्यकता महसुस गर्न थालेका छन् ।’
विद्यालयहरूमा अब ‘फस्ट एड बक्स’ मात्र होइन, थर्मोमिटर, रक्तचाप नाप्ने यन्त्र, पट्टि, आवश्यक औषधि र स्यानिटाइजरसहितको उपचार सामग्री उपलब्ध हुन थालेको छ । नेपालगन्जस्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापक बताउँछन्, ‘सगरमाथा स्कुलको अभ्यास देखेर हामीले पनि बालमैत्री र स्वास्थ्यमैत्री विद्यालयको अवधारणा अनुसार कक्ष स्थापना गरेका छौं । अब स्वास्थ्य समस्या परे तत्काल सहयोग दिन सकिन्छ ।’ प्राथमिक उपचार कक्षले अभिभावकहरूमा समेत विश्वास र ढुक्कको वातावरण बनाएको छ । अभिभावक प्रेमा गौतम भन्छिन्, ‘पहिले बच्चा बिरामी भयो भने तुरुन्त काम छोडेर जानुपर्थ्यो, अब सामान्य अवस्था विद्यालयमै सम्हालिने भएको छ ।
विद्यालयका अनुसार अब विद्यालयले स्वास्थ्य, पोषण र सरसफाइसम्बन्धी सचेतनामूलक गतिविधिहरूलाई समेत प्राथमिकतामा राखिएको छ । स्वास्थ्यसम्बन्धीको मापदण्ड र नगरले दिएको अधिकार र नर्सिङको क्षेत्राधिकारअनुसार विद्यार्थी र शिक्षक, शिक्षिका, विद्यालय कर्मचारीहरुको उपचार सेवा सञ्चालन हुँदै आएको विद्यालयकी नर्स आस्था जिसीले जानकारी दिइन् । उनका अनुसार आफूले उपचार गर्न पाउने जति प्राथमिक उपचार विद्यालयमा गर्ने र त्यसभन्दा थप उपचारका लागि अन्य अस्पतालहरुमा लिने गरिएको छ ।
विद्यालयमै प्राथमिक उपचार भएपछि विद्यार्थीहरुको स्वास्थ्यमा विद्यालय गम्भीर भएको देखिन्छ । मौसमी रुघाखोकी, ज्वरोलगायतका समस्या र लु लाग्ने बेला उक्त प्राथमिक उपचार कक्षको महत्व अझ बढी देखिन्छ । स्वस्थ्यसँग सम्बन्धित संरचना र कार्यक्रम हुँदा विद्यालयमा सरसफाइ, व्यक्तिगत स्वच्छता र समग्र अनुशासनमा सुधार देखिने संस्थापक डिसीको विश्वास छ ।
‘स्वस्थ्यसँग सम्बन्धित संरचना र कार्यक्रम हुँदा विद्यालयमा सरसफाइ, व्यक्तिगत स्वच्छता र समग्र अनुशासनमा सुधार देखिन्छ,’ उनी भन्छन्, ‘विद्यालयमा उपचार कक्ष हुनु मात्र होइन, त्यससँगै स्वास्थ्य, सरसफाइ र पोषणसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन हुने भएकाले विद्यार्थी स्वास्थ्यप्रति जिम्मेवार बन्छन् ।’ विद्यार्थी बिरामी भएमा अभिभावकले तत्काल स्कूलमा आएर लिनुपर्ने बाध्यता हट्ने हुँदा उनीहरू पनि ढुक्क हुन्छन् र यसले विद्यालयप्रतिको विश्वास बढाउने उनको भनाइ छ ।
सामान्य स्वास्थ्य समस्या हुँदा उपचारको लागि घर वा अस्पताल जानु नपर्ने हुँदा विद्यार्थीको सिकाइमा अवरोध नहुने र कक्षा छुट्ने सम्भावना घट्ने विद्यालयको भनाइ छ । विद्यालयमा नै स–साना चोटपटक, टाउको दुखाइ, चक्कर, लु लाग्ने, रुघाखोकी, सामान्य ज्वरोजस्ता समस्या भएमा तुरुन्तै उपचार पाउने व्यवस्था हुँदा विद्यार्थीको अवस्था जटिल बन्ने सम्भावना कम हुने अभिभावकहरु बताउँछन् ।