नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करुपमा प्रदान गरिने ‘एन्टी रेबिज भ्याक्सिन’ दुई महिनादेखि अभाव रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले बताए ।
‘अस्पतालमा जेठ महिनादेखि खोपको मौज्दात सकिएकाले सेवा दिन सकिएको छैन’–डा.सुवेदीले स्वास्थ्य पेजलाई भने ।
कुकरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई भेरी अस्पतालले आफैं उपलब्ध गराउनेभन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा) आवश्यकताअनुसार वितरण मात्र गर्दै आएको थियो ।
हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात मागअनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिएको डा.सुवेदी बताउँछन् । अस्पतालमा दैनिक ४०–५० डोज खोप खपत हुने गरेको छ ।
अहिले बिरामीले आफैं उक्त खोप खरिद गरी लिई आएमा सो खोप लगाउने कार्य गरिएको छ । उक्त खोप निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा भेरी अस्पतालमा खोप तत्काल पठाउनुपर्ने स्थानीयको माग छ । तत्काल अस्पताललाई रेबिजविरुद्धको खोप उपलब्ध गराउन स्थानीय सरकारले पनि आग्रह गर्दै आएको छ ।
खोपको अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाकाले आफैं खोप खरिद गरेर समस्या टार्ने तयारी समेत गरेको थियो ।
तर निःशुल्क पाइने खोप स्थानीय सरकारले खरिद गरेर अस्पताललाई दिँदा नीतिगत तथा कानूनी लफडा खेप्नु पर्ने अवस्था आउन सक्ने देखिएपछि उपमहानगरपालिका पनि खोप खरिद गर्नबाट पछि हटेको छ ।
स्वास्थ्य सेवा विभागमा समेत नभएकाले भ्याक्सिनबारे अझै निश्चित नभएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुवेदी बताउँछन् । ‘खरिद भएपछि मात्र पठाउन सकिने जवाफ स्वास्थ्य विभागले दिएको छ । आउने–नआउने अझै निश्चित छैन’–डा.सुवेदीले भने ।