किशोरीको डिम्ब बेचबिखन प्रकरणः डा स्वस्ति शर्मासहित ४ जनामाथि मुद्दा दर्ता

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०८२, आईतवार

काठमाडौंः एजेन्ट मार्फत किशोरीको डिम्ब बेचबिखन, डा स्वस्ति शर्मासहित ४ जनामाथि मुद्दा दर्ता भएको छ । अवैध रूपमा किशोरीको डिम्ब बिक्रीमा संलग्न होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालक तथा कर्मचारीमाथि बालबालिका ऐन २०७५ अनुसार मुद्दा दर्ता गरिएको छ ।

सीआईबीले डा शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र बिचौलिया जस्टिना प्रधानलाई बाल संरक्षण ऐन अन्तर्गत कारबाही अघि बढाएको हो । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार उनीहरुलाई बालबालिका ऐन २०७५ को दफा ६६ बमोजिम मुद्दा दर्ता गरिएको हो ।

१८ वर्ष नपुगेका किशोरीलाई आर्थिक प्रलोभन देखाएर कारोबार गरेको भन्दै सूचना आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । प्रवक्ता खड्का अनुसार डिम्ब निकालिएका दुई किशोरीमा स्वास्थ्य समस्या आएपछि उनीहरूले नै उजुरी दिएका थिए ।

ती किशोरीकै बयानमा क्रममा आफूहरूलाई १० हजार दिएर डिम्ब निकाल्ने गरेको बताएका थिए । ती किशारीहरू ‘प्लस टु’ मा अध्ययन गरिरहेका विद्यार्थी हुन् । सीआईबीको प्रारम्भिक अध्ययनले जस्टिना प्रधान किशोरी उपलब्ध गराइदिने बिचौलिया काम गर्दै आएको खुलेको छ । दुवै किशोरीलाई क्लिनिकसम्म पुर्‍याइदिने काम भने जस्टिनाले गरेकी थिइन् । यसबापत कमिसन लिने गरेकी थिइन् ।

स्त्रीरोग विशेषज्ञका अनुसार, डिम्ब निकाल्ने औषधिले महिलाको अन्डा सञ्चिति (ओभरियन रिजर्भ) छिटै सकिने, महिनावारी असामान्य हुने र भविष्यमा गर्भधारण कठिन हुने जोखिम रहन्छ । अन्डाको गुणस्तर उमेरसँग घट्दै जाने भएकाले क्लिनिकहरू २० देखि २५ वर्षमुनिका युवतीलाई लक्षित गर्छन् । तर नेपालमा यस्तो कार्यमा सहभागी हुनका लागि विवाह भइसकेको वा सन्तान भएको हुनु पर्ने व्यवस्था छैन ।

जसले गर्दा किशोरीमाथि शोषण भइरहेको छ । पीडितहरूले किशोरीले आफूहरूलाई ९ देखि १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको बताएका छन् । पछि डिम्ब विकास भइसकेपछि सानो शल्यक्रियामार्फत निकाल्ने र त्यसलाई प्रिजर्भ गरेर राख्ने गरेको पाइएको छ ।

किशोरीलाई प्रलोभनमा पारेर अवैध डिम्ब कारोबार, कारबाही गर्न कानुनी जटिलता नेपालमा डिम्बदानबारेमा स्पष्ट नियमावली र गाइडलाइन बनिसकेको छैन । नेपालमा बाँझोपन एउटा ठूलो समस्या बन्दै गएको छ । वीर्यदान र डिम्बदानसम्बन्धी उपयुक्त कानुनी नियमन नहुँदा यस्ता घटना भइरहेको विज्ञ बताउँछन् ।

सीआईबीले पक्राउ परेका सबैविरुद्ध अनुसन्धानका लागि म्याद थप्न सोमबार जिल्ला अदालत काठमाडौं लगेको थियो । तर, अदालतले सबैलाई हाजिरी जमानीमा छाडिदिएको छ । डिम्ब दानसम्बन्धी स्पष्ट कानुन नहुँदा अदालतले पक्राउ परेका सबैलाई हाजिरी जमानीमा छाडेको हो ।

स्वास्थ्य मन्त्रालयले बनायो छानबिन समिति

किशोरीको डिम्बको कारोबार गरेको घटना बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले छानबिन सुरु गरेको छ । मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनेर काम सुरु भइसकेको छ ।

समितिमा मन्त्रालयमा कार्यरत डा. सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईं सदस्य छन् । स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार समिति शुक्रबार गठन भएको हो । समितिलाई अनुगमन गरेर प्रतिबेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।

नेपालमा ‘फर्टिलिटी’ अथवा ’आईभीएफ’ क्लिनिकहरूले गरिरहेको कामको अनुगमन स्वास्थ्य मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले गर्ने गर्छ ।

  • ४ श्रावण २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech