बेलायतबाट प्रत्यारोपण सम्बन्धी तालिम लिएर सन् २००८ मा फर्किँदै गर्दा हाम्रो देशमा प्रत्यारोपण सम्बन्धी कुनै अवधारणा, नियम-कानुन बनेको थिएन। सबभन्दा पहिला त चिकित्सककर्मीदेखि राजनीतिज्ञसम्मलाई यो सम्बन्धी जानकारी दिनुपर्ने थियो।
समाजका सबै वर्गलाई यो सम्बन्धी जानकारी गराउनु नै ठूलो कुरा थियो। जनचेतनाको पाटो एउटा थियो भने ऐन नियम नबनाएसम्म जनचेतना जगाएर मात्र पनि कुनै काम थिएन।
मस्तिष्क मृत्य भएका व्यक्तिको अंग अरू व्यक्तिमा प्रत्यारोपण गर्नलाई पहिलो खुट्किलो नै पार गर्नुपर्ने अवस्था थियो। त्यसैले नीति निर्माता, स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू, कानुन मन्त्रालय, मन्त्रिपरिषद, संसद, न्यायलय सबैलाई यसबारे बुझाउनु पर्ने थियो।
उहाँहरूलाई बुझाउने एउटा कुरा थियो भने सर्वसाधारणलाई बुझाउने अर्को कुरा थियो। त्यति मात्र होइन मेरै क्षेत्रका साथीभाइलाई समेत बुझाउनु पर्ने चुनौती थियो।
प्रत्यारोपण नै भर्खर सुरू भएको बेलामा यो मस्तिष्क मृत्युको प्रत्यारोपण किन चाहियो, कसले गर्छ नेपालमा भन्ने पनि थियो। यति चाँडै यो आवश्यक छ कि छैन अथवा हामी सक्षम छौं कि छैनौं भनेर धेरै प्रश्न उठेको थियो।
दुर्घटनाको कारण कुनै पनि व्यक्तिलाई टाउकोमा गम्भीर चोट लाग्यो अथवा स्ट्रोक भयो। जसले गर्दा मस्तिष्क पूर्ण रूपमा बन्द भयो भने त्यसलाई मस्तिष्क मृत्यु भनिन्छ। अर्थात् मस्तिष्कले कहिल्यै काम गर्न नसक्ने अवस्था आउनुलाई मस्तिष्क मृत्यु भनिन्छ।
त्यस्ता व्यक्तिलाई कृत्रिम रूपले अक्सिजन सप्लाई गरिराखियो भने विभिन्न अंगहरू एक घण्टासम्म चलिराख्न सक्छ। सबै अंगहरू कृत्रिम श्वासप्रश्वास प्रक्रियाबाट चलिरहेको बेला अंग निकाल्न पर्छ।
तर त्यस्ता व्यक्तिको अंग निकाल्न परिवारले मान्ने कि नमान्ने भन्ने हुन्छ। अंगदान गर्न परिवारका व्यक्ति इच्छुक छन् कि छैनन् भन्ने कुरा सबभन्दा महत्वपूर्ण हुन्छ।
विभिन्न खुड्किला पार गर्दै बुझाउँदै अंग निकाल्ने काममा अति नै चुनौतीपूर्ण थियो। यो काम नेपालमा ५० वर्ष अगाडि हुँदैन भन्थे तर हामी निरन्तर लाग्यौं। कानुन बनाउन मात्र ८ वर्ष लाग्यो। संसारका उत्कृष्ट कानुनहरू अध्ययन गरेर कानुन र त्यही अनुसारको नियमावली बनाउन हामी सफल भयौं। भौतिक पूर्वाधारदेखि जनशक्ति तयार पार्ने, जनचेतना अभिवृद्धि र ऐन नियम कानुनको व्यवस्था गर्न ८ वर्ष लाग्यो।
मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने प्रक्रिया
विभिन्न अंग फेल भएका व्यक्तिहरू प्रतीक्षा सूचीमा बस्नुपर्छ। म मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गराउन चाहन्छु भनेर राष्ट्रिय अभिलेखमा नाम लेखाउनु पर्छ। यसको लागि शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा समन्वय इकाई राखिएको छ। त्यसले बिरामीको अभिलेख राख्ने, मस्तिष्क मृत्यु भएको अंगदाताको सूचना प्राप्त भयो भने त्यसको लागि विशेषज्ञ टोली परिचालन गर्ने, अंग निकाल्ने र राख्ने प्रक्रियाको संयोजन गर्छ।समन्वय इकाईले सबै पक्षसँग समन्वय गरेर काम गर्छ।
सडक दुर्घटनाका कारण कान्तिपुर अस्पतालमा मस्तिष्क मृत्यु भएका २४ वर्षीय युवकको दुई मिर्गौला १५ र ३२ वर्षका व्यक्तिलाई प्रत्यारोपण गरेका थियौं। ७ वर्षअघि पहिलो प्रत्यारोपण गरेको भए पनि यसले सोचेजस्तो गति लिन सकेको छैन।
२ महिना अगाडि हामीले अर्को दुर्लभ प्रत्यारोपण गरेका थियौं। मोटरसाइकल दुर्घटनामा परेर काठमाडौं शिक्षण अस्पतालमा मस्तिष्क मृत्यु भएका १८ वर्षे युवाको २ वटा मिर्गौला र १ कलेजो दान भएको थियो। एउटै व्यक्तिमा मिर्गौला र कलेजो अनि अर्को व्यक्तिमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। यस्तो प्रत्यारोपण विश्वमै दुर्लभ मानिन्छ। हामीले ७२ घण्टा लगातार खटेर यो काम सम्पन्न गरेका थियौं।
मस्तिष्क मृत्यु भएका व्यक्तिको कुन कुन अंग काम लाग्छ?
मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगले अरू ८ जनाको ज्यान बचाउन सकिन्छ। २ वटा मिर्गौला, २ वटा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्यानक्रियाज अनि एउटा सानो आन्द्रा प्रत्यारोपण गर्न मिल्छ। कलेजो २ जनालाई राख्न मिल्छ तर २ जनालाई कलेजो राख्न अलि अप्ठेरो हुन्छ।किनकि कलेजो १० घण्टाभित्र प्रत्यारोपण गर्नैपर्ने भएकाले २ जनालाई प्रत्यारोपण गर्न अलि गाह्रो हुन्छ। अरू अंग पनि निकाल्न मिल्छ।
जस्तो: आँखाको नानी, छाला, हड्डी निकालेर प्रत्यारोपण गर्न सकिन्छ। विकसित देशमा पाठेघर प्रत्यारोपण गरेर बच्चा समेत जन्माएका छन्। त्यस्तै विभिन्न कारणले बिग्रिएको अनुहार प्रत्यारोपण गर्न सकिने भएको छ।
अहिलेको अवस्थामा नेपालमा २ मिर्गौला र १ कलेजो दान गर्न मिल्छ। अब क्रमश: मुटु र फोक्सो पनि प्रत्यारोपणका लागि प्रयास गरिरहेका छौं।
कुनै व्यक्तिले मृत्युपछि अंग दान गर्ने भनेर मन्जुरीनामा दिन पाउँछ। त्यस्तो भयो भने उसका परिवारले पनि मृतकको इच्छा अंगदान थियो भन्ने हुन्छ।
यदि मृतकले मञ्जुरीनामा दिएको रहेनछ तर भवित्वय परेर व्यक्तिको मृत्यु भयो भने पनि परिवारले अंगदानको लागि अनुमति दिन सक्छ।
मृतकको अंगदानको अधिकार उसको सबभन्दा नजिकको सदस्यबाट हुन्छ। यदि अंग दानको लागि मन्जुरीनामा दिएको रहेछ भने पनि उसका आफन्तले अनुमति दिनै पर्छ।
मस्तिष्क मृत्यु भएको यति घण्टाभित्रै अंग दान गर्नुपर्छ भन्ने केही छैन। मस्तिष्क मृत्यु भएको व्यक्तिलाई कृत्रिम श्वासप्रश्वास दिएर त्यो व्यक्तिको अंग केही घण्टा चल्छ। त्यस्तो बेला एकछिन ढिलो गर्यो भने मुटुको चाल बन्द हुनसक्छ। त्यस्तो अवस्थामा अंग काम लाग्दैन। जस्तो: मिर्गौला २४ घण्टासम्म भण्डार गरेर राख्न सकिन्छ। कलेजो १० देखि १२ घण्टाभित्र प्रत्यारोपण गर्नुपर्छ।
फोक्सो र मुटु ४ देखि ६ घण्टाभित्र प्रत्यारोपण गर्न मिल्छ। यसको मतलब अंग निकाल्नलाई समय लगाउन हुँदैन भने प्रत्यारोपणका लागि केही समय लगाउन सकिन्छ। काठमाडौं लगायतका ठूला सहरमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग निकाल्न सकिन्छ। काठमाडौंमा अझै सजिलो छ अनि ठूला सहरमा काठमाडौंबाट विज्ञ टोली जान सकिन्छ।
(मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक हुन)